साप्ताहिक संवाददाता
पूर्व अभिनेता तथा वर्तमान निर्माता/वितरक गोविन्द शाही हिरासतमुक्त भएका छन् । शाही झन्डै दुई साता लामो प्रहरी हिरासतबाट अघिल्लो बुधबार साँझ नै बाहिर आएका हुन् । निर्माता शाहीले फेसबुकमा स्टाटस लेख्दै सर्वोच्च अदालतले बुधबारकै मितिमा जारी गरेको आदेशअनुसार हिरासत मुक्त भएको कुरा बताएका छन् ।
शाहीले आफ्नो स्टाटसमा लेखेका छन्— ‘योजनाबद्ध र नियतवश मेरा विरुद्ध जाहेरी दिई मलाई लगातार १४ दिनसम्म प्रहरी हिरासतमा राखिएको विषयलाई सम्मानित सर्वोच्च अदालतबाट आजैको मितिमा जारी भएको आदेशबाट म हिरासत मुक्त भएको छु र मेरा विरुद्धका सबै मुद्दा खारेज भएका छन् ।’ निर्माता शाहीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘अदालतले अन्तरिम आदेश दिएको अवस्थामा पनि शक्तिको दुरुपयोग गर्दै आफूलाई गैरकानुनी हिरासतमा राखिएको’ बताएका छन् । शाहीसमेत निर्माता रहेको फिल्म ‘लिलीबिली’ दुई वर्षअघि नै प्रदर्शनमा आएको थियो ।
निर्मातामध्येकै सुदीप खड्का र मिलन चाम्सले फिल्मको सेयर लुकाएको आरोप लगाउँदै एक वर्षअघि नै महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए । त्यसको एक वर्षपछि सोही उजुरीका आधारमा प्रहरीले हिरासतमा लिएको कुराप्रति आश्चर्य प्रकट गर्दै शाहीले व्यक्तिगत मनमुटावलाई ठूलो इबीका रूपमा लिई गृह प्रशासनको दुरुपयोग गरिएको आरोप लगाएका छन् ।
‘विदेशी चलचित्रको दबदबा बढ्दै गएका बेला यस्तो अस्वस्थ गतिविधिले नेपाली चलचित्र उद्योगमा सकारात्मक सन्देश जाँदैन,’ शाहीले आफ्नो विज्ञप्तिमा भनेका छन्— ‘तर, अदालतको आदेशले न्याय मरेको छैन भन्ने अनुभूति गराएको छ ।’