साप्ताहिक संवाददाता
नेपालीहरूको महान् चाड बडादसैँको अवसरमा पर्यटकीय नगरी कीर्तिपुरमा पाँचौ कीर्तिपुर महोत्सव–२०७६ सञ्चालन हुने भएको छ । महोत्सव कीर्तिपुरको नयाँ बजारस्थित खेलकुद मैदानमा आज भदौ २७ गते शुक्रबारदेखि असोज ८ गते बुधबारसम्म चल्ने कुरा बताइएको छ । महोत्सवमा देवी–देवताको नृत्यसहित परम्परागत नृत्यहरूसमेत प्रस्तुत गरिनेछ ।
त्यसका साथै महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम पनि समावेश हुनेछन् । महोत्सवमा कीर्तिपुरको संस्कृति एवं परम्परा झल्कने प्रस्तुतिहरू विशेष आकर्षणमा रहनेछन् भने मनोरञ्जक खेलहरूका साथ परम्परागत नेवारी परिकारहरू समाविष्ट फुड फेस्टिभलले पनि धेरैलाई लोभ्याउनेछ ।
मेलामा १ सय ५० भन्दा बढी स्टल रहनेछन् । त्यहाँ बिक्रीमा राखिएका सामानमा २५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुने जानकारी व्यवस्थापन समितिले गराएको छ । पाँचौं कीर्तिपुर महोत्सवमा ३ देखि ५ लाख उपभोक्ता सहभागी हुने अनुमान गरिएको छ । उक्त मेलामा ४ दर्जनभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारले कला प्रदर्शन गर्नेछन् भने बालबालिकाहरूका लागि छुट्टै बालउद्यान, रोटेपिङ, सर्कस, कोलम्बस जादु तथा अन्य खेलसमेत रहने मेला समितिले बताएको छ ।