साप्ताहिक संवाददाता
तक्मे बुढाको उपनामले लोकप्रिय अभिनेता विल्सन विक्रम राईले विवाह गरेको ६ महिनापछि मात्र आफ्नी श्रीमतीलाई सार्वजनिक गरेका छन् । गत फागुनमै विवाह गरे पनि विल्सनले भदौको तेस्रो सातामा आएर आफ्नो विवाह भएको औपचारिक घोषणा गरेका हुन् ।
विल्सनले विवाह गरेको कुरा लुकाउनुपर्ने कारण समेत स्पष्ट पारेका छन् । राईका अनुसार उनले आफ्नो विवाहको कुरा लुकाउन चाहेका थिएनन्, तर दुलही पक्षले विभिन्न कारणले विवाहको कुरा सार्वजनिक गर्न नचाहेपछि उनीहरूले विवाहलाई लुकाएजस्तै भएको हो ।
झापाकी सरिना लामासँग विल्सनले परम्परागत विवाह गरेका हुन् । विल्सनका अनुसार उनीहरू स्कुलदेखिकै सहपाठी हुन् । विल्सनले स्कुल पढ्दै सरिनालाई मन पराएका थिए । सायद सरिनाले पनि उनलाई मन पराएकी थिइन् । यद्यपि, दुवैले उक्त कुरा व्यक्त गर्न सकेका थिएनन् ।
अहिले आएर सरिनासँगै मागी विवाह जुरेको विल्सनको भनाइ छ । विल्सनका अनुसार सरिनाको लामा परम्पराअनुसार बिहे गर्नुपरेकाले तामझामसहित विवाह गर्न सम्भव भएन । झापामा सरिनाले भुटानी शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघको एउटा प्रोजेक्टमा काम गरेकी थिइन् । विवाहलगत्तै विल्सन र सरिना हनिमुन मनाउन अस्ट्ेरलिया पुगेका थिए ।