साप्ताहिक संवाददाता
अशोक शेरचन, सिइओ, प्रभु बैंक
सिइओ हुँदाको अनुभव कस्तो छ ?
जिम्मेवारी ठूलो छ । अर्थतन्त्रसँग जोडिएको क्षेत्र भएकाले उद्योग, व्यापार, जलविद्युत्, कृषि, पर्यटनलगायतका सबै क्षेत्रसँग बारम्बार भेटघाट, छलफल तथा भ्रमण आदि हुने भएकाले आर्थिक क्षेत्रका सम्पूर्ण कुरासँग जानकार हुन पाइएको छ, यद्यपि चुनौती धेरै छन् ।
सिइओ हुनुभएको कति भयो ?
फाइनान्समा १३ वर्ष सिइओ रहें, तर बैंकको सिइओ भएको चाहिँ साढे चार वर्ष भयो ।१२ वर्ष कर्मचारीका रूपमा पनि काम गरें ।
कर्मचारी र सिइओमा के फरक पाउनुहुन्छ ?
कर्मचारी हुँदा कम्पनीले दिएको जिम्मेवारी पूरा गरे पुग्छ, तर सिइओ नै भैसकेपछि भने सम्पूर्ण संगठनको योजना, रणनीति आदि बनाउनुपर्यो भने त्यसलाई कार्यान्वयनसमेत गराउनुपर्यो । त्यसैले कर्मचारी र सिइओको भूमिका ठ्याक्कै उल्टो हुन्छ ।
तनावलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?
सामान्यत: म काम गर्दा कुनै पनि तनाव लिन्नँ । काम गर्दै जाँदा समस्या उत्पन्न भयो भने त्यहाँ समाधानका उपाय पनि निस्कन्छन् । अर्को कुरा, म प्रतिस्पर्धामा विश्वास गर्दिनँ । प्रतिस्पर्धामा विश्वास नगरेपछि कुनै तनाव लिनु पर्दैन । यति हुँदाहुँदै पनि कतिपय अवस्थामा समस्या उत्पन्न भए उक्त समस्याको विश्लेषण गर्छु, समस्यासँग जोडिएका पक्षहरूसँग छलफल गरेर उनीहरूको कुरा बुझ्छु त्यसपछि आफूमा कुनै कमी–कमजोरी छ भने त्यसलाई सच्याएर अघि बढ्छु ।
फुर्सदको सदुपयोग कसरी गर्नुहुन्छ ?
लेखपढ तथा साथीभाइहरूसँगको भेटघाटमै बित्छ ।
घुमघाममा कत्तिको रुचि राख्नुहुन्छ ?
बेलाबखत घुमघामका लागि निस्किरहेको हुन्छु । कार्यालयको कामले पनि घुम्ने मौका मिलिरहेको हुन्छ ।
कस्तो खानपान मन पर्छ ?
कम कार्बोहाइड्रेड भएका खानेकुरा मन पराउन थालेको छु । भात, चिनी, माछा–मासु आदि खान छाडें ।
फिटनेसका लागि के गर्नुहुन्छ ?
बिहान एक घण्टा हिँड्छु ।
मद्यपान पनि गर्नुहुन्छ ?
कहिलेकाहीं ।
कुन ब्रान्डको मद्यपान मन पर्छ ?
जे भेटिन्छ त्यही ।
कस्तो पहिरन रुचाउनुहुन्छ ?
कार्यालयमा सर्ट–पाइन्ट नै लगाउँछु, त्यसबाहेक जिन्स र टिसर्ट ।
कुन सवारी साधन प्रयोग गर्नुहुन्छ ?
अहिले टोयोटाको र्याव फोर चढिरहेको छु ।