साप्ताहिक संवाददाता
राष्ट्रिय एवार्ड विजेता अभिनेता विपिन कार्की लामो समयको अन्तरालपछि नयाँ चलचित्रमा अनुबन्ध भएका छन् । जेठमा प्रदर्शित चलचित्र ‘जात्रैजात्रा’ पछि विपिनले अन्य कुनै पनि चलचित्र साइन गरेका छैनन् । अहिले आएर उनले आफ्नै मुख्य भूमिकाको सफल चलचित्र ‘प्रसाद’ को टिमले निर्माण गर्न लागेको चलचित्र ‘सेल्फी किङ’ मा अभिनय गर्न लागेका हुन् ।
उक्त चलचित्रमा विपिनले सेल्फी किङकै शिर्ष भूमिका निर्वाह गर्नेछन् । रमाइलो कुरा के छ भने यो चलचित्रमा अभिनेता विपिन कार्कीलाई अभिनेत्री लक्ष्मी बर्देवाले जोडीका रूपमा साथ दिँदैछिन् । बर्देवाका लागि यो मुख्य अभिनेत्रीका रूपमा पहिलो चलचित्र हुनेछ । चलचित्रले हास्य कलाकारको कथा भन्ने बताइएको छ । यो चलचित्र कुनै हास्यकलाकारको बायोपिक हो कि ? भन्ने अनुमानसमेत गरिएको छ । यद्यपि, निर्देशक विशाल सापकोटाले यसलाई हरेक हास्यकलाकारको बायोपिक हुन सक्ने दाबी गरेका छन् ।