साप्ताहिक संवाददाता
म ४/५ वर्षकी थिएँ होला । शनिबारको दिन नुहाइधुवाइ सकेपछि दाँत ब्रस गर्न मन लाग्यो । मलाई लाग्यो, साबुनले त सबै कुरा सफा गर्छ । त्यसपछि मैले लुगा धुने साबुनले दाँत ब्रस गरें, आखिर साबुनले ओठ काट्यो । त्यो कुरा सम्झँदा अहिले निकै हाँसो उठ्छ ।
टीका प्रसाईं, गायिका
एक जना साथीले भन्यो, हाम्रो शरीर त कुखुराको शुली, खरानी र बालुवाबाट बनेको हो, नपत्याए हर्थुङ्गोमा थुक लगाएर मिच अनि सुँघ । हामी त्यसै गर्थ्यौं । सुँघ्दा कुखुराको सूलीजस्तै गन्हाउँथ्यो पनि । हो जस्तै लाग्थ्यो । त्यसरी मिच्दा बालुवाका कारणले घाउ पनि हुन्थ्यो । त्यसको दाग हर्थुङ्गोमा अझै छ । कहिलेकाहीँ हर्थुङ्गोमा त्यो दाग देख्दा त्यो बेलाको समय सम्झेर हाँसो उठ्छ ।
अमर न्यौपाने, साहित्यकार
म बाल्यकालमा रेडियोभित्र मान्छे हुन्छ भन्ने सोच राख्थेँ । एक दिन मैले रेडियो फुटाएँ अनि भित्र तारहरू मात्र देखेर छक्क परें, तर अहिले त्यो कुरा सम्झिँदा हाँसो मात्र होइन, आफैसँग रिस पनि उठ्छ ।
राधिका हमाल, गायिका
सानैमा स्कुल जाने क्रममा बाटोमा ५ रुपैयाँ भेटें । उक्त पैसा देख्नेबित्तिकै म खुट्टाले च्यापेर बसें, साथीहरू गैसकेपछि मात्र त्यो पैसा टिपेर स्कुल गएको थिएँ म, यो कुरा सम्झिँदा अहिले एकदमै हाँसो उठ्छ ।
जेम्स बिसी, मोडल
त्यस्तै चार कक्षामा पढ्थें होला । गौरीघाटबाट कालोपुल ठूलो ममीको घर जाँदै थिएँ । बाटोमा एक सय रुपैयाँ भेटें । जाडो महिनाको छुट्टी भएकाले स्कुल जानुपर्ने थिएन । जुन समयमा जुन बाटोमा पैसा भेटेको थिएँ म ८–१० दिनसम्म फेरि पनि पैसा भेटिन्छ कि भनेर त्यति नै बजे त्यही बाटोमा पैसा खोज्दै हिँड्थें । त्यो बचपना सम्झिँदा अहिले पनि हाँसो उठ्छ ।
लक्ष्मी बर्देवा, अभिनेत्री
हाम्रो गाउँमा जेनरेटरबाट बिजुली बालेको देखेपछि केबाट बिजुली बल्छ भनेर अग्रजहरूसँग सोध्दा तेलबाट भन्ने उत्तर पाएँ अनि तोरीको तेलमा फलाम डुबाएर आगो बाली बिजुली निकाल्ने प्रयास गरेको सम्झिँदा अहिले एकदम हाँसो लाग्छ ।
बिनोद बाजुराली, संगीतकार
बेलुका खाना खाइसकेपछि घरको चोटामा जान डर लागेर, बा–आमालाई भर्याङमा कुरेर बसेको सम्झँदा म कति छेरभालु रै’छु भनेर अहिले पनि मज्जाले हाँस्छु ।
धिताल चिरिच्याट्ट, हास्यकलाकार
स्कुलबाट भागेर बाग्मती नदीमा पौडी खेल्न गएको कुरा सम्झँदा रमाइलो लाग्छ ।
सबिन श्रेष्ठ, अभिनेता
आफ्नै घरका लागि तरकारी किन्न जाँदा चार पाउ किनेर एक पाउको पैसाले म:म खाएको अनि घरमा चाहिँ एक किलो भनेर ढाँटेको कुरा सम्भँmदा हाँसो उठ्छ ।
निर्मल शर्मा, अभिनेता
सानोमा म सुन्तला खाँदा त्यसको बियाँ पनि खान्थें । बुबाममीले तिम्रो पेटमा अब सुन्तलाको बोट उम्रिने भयो जसले गर्दा तिमीले अब गीत पनि गाउन सक्दिनौ भन्नुभयो । त्यसपछि म निकै रोएँ । बुबाममीले जति सम्झाउँदा पनि नमानेपछि डाक्टरलाई बोलाएर डाक्टरले त्यस्तो हुँदैन भनेपछि मात्र मानेकी थिएँ । अहिले पनि सुन्तला खाँदा त्यो घटना सम्झेर निकै हाँसो उठ्छ ।
एन्जिला रेग्मी, गायिका
मैले नरिवलको रुखमा चढेर साथीलाई नरिवलले हानें अनि साथीकी आमाले घरमा आएर कराउँदा घरमा पिटाइ खाएकी थिएँ । कस्तो होला त्यो बालापन ?
दीपाश्री निरौला, अभिनेत्री तथा निर्देशक
मेरो स्कुल घर नजिकै थियो । स्कुलमा घन्टी बजेको घरमै सुनिन्थ्यो । स्कुलमा घन्टी बजेपछि म कहिले पेट त कहिले टाउको दुख्यो भन्थें अनि मलाई २/३ जनाले झ्यानाकुटी पार्दै स्कुल पुर्याउनुपथ्र्यो । त्यो कुरा सम्झँदा अहिले पनि निकै हाँसो उठ्छ ।
ऋचा शर्मा, अभिनेत्री
बाल्यकालमा ढिके नुन भुटेर खाएको कुरा सम्झँदा निकै हाँसो उठ्छ । यो कुरा हरिवंश आचार्यद्वारा लिखित पुस्तक चिना हराएको मान्छेमा पनि उल्लेख छ ।
किरण केसी, हास्यअभिनेता
हाम्रो घरमाथि मगर बडाबाको आरुबखडा चोरेको कुरा सम्झेर हाँसो उठ्छ । दिदी र म एकदम डराउँदै एकदम टेकनिक लगाएर चोरेको तर झरेका काँचा, अमिला, तिता आरुबखडा । त्यो बिजोगको चोरी सम्झेर अहिलेसम्म घरमा हाँसो हुन्छ ।
राजाराजेन्द्र पोखरेल, हास्यकलाकार
हाम्रो गाउँमा लाखे नाच हुन्थ्यो, लाखे आयो भन्ने थाहा पाएपछि म डराएर खाटमुनि लुक्थें अनि पसिनै पसिना भएर निस्कन्थें । त्यो कुरा सम्झँदा मलाई हाँसो उठ्छ ।
पुजन घिमिरे, मोडल
म सानैमा खेल्दाखेल्दै भुइँमा पछारिएछु, पछारिसकेपछि पनि झन्डै लडेको भनेछु जुन कुरा मेरी ममी तथा अन्टीहरूले भन्नुहुन्छ, सम्झँदा निकै हाँसो उठ्छ ।
दीपिका प्रसाईं, अभिनेत्री
कक्षा ४ मा पढ्दा एक जना सर मभन्दा पहिले ट्वाइलेटमा छिर्नुभयो । मलाई लास्टै पिसाब लागिरहेको थियो । मैले खोइ के सुरमा बाहिरबाट चुकुल लगाइदिएछु । त्यसपछि सरले मैले चुकुल लगाएको थाहा पाउनुभयो र मलाई तीन दिन उठ्न नसक्ने गरी पिट्नुभयो । त्यतिबेला साह्रै पीडा भएको थियो, तर अहिले सम्झँदा रमाइलो लाग्छ ।
विनोद न्यौपाने, अभिनेता
कालीगण्डकीमा पौडी खेल्दा साथीहरूको लुगा लुकाएर घर गएको कुरा सम्झँदा हाँसो उठ्छ ।
विमल अधिकारी, मोडल
सानोमा म नौनी घिउको रोटी चाहियो भनेर एकदम जिद्दी गर्थें । अहिले त्यो कुरा सम्झँदा हाँस उठ्छ कि नौनी त आगोमा राख्नासाथ पग्लिन्छ अनि कसरी त्यसको रोटी बन्नु !
सुशीला गौतम, गायिका
कक्षा ६ मा पढ्दा केटी साथीलाई लेखेको दुई पानाको प्रेमपत्र सरले भेट्नुभएको थियो । अहिले त्यो बालापन सम्झँदा हाँसो उठ्छ भने साथसाथै लाज पनि लाग्छ ।
महेश काफ्ले, गायक
चिरी गट्टी र उपहरी गट्टी खेलेको कुरा सम्झँदा हाँसो उठ्छ ।
बालिका थपलिया, लेखिका