साप्ताहिक संवाददाता
चलचित्रमा अभिनय गर्ने अभिनेता तथा अभिनेत्री एक–अर्काप्रति आकर्षित हुनु स्वभाविक हो । हलिउडदेखि बलिउडसम्म पनि सँगै अभिनय गर्ने अभिनेता–अभिनेत्रीको नाम जोडिने चलन छ । चलचित्र प्रदर्शन भएर दुवै कलाकार अलग–अलग चलचित्रमा व्यस्त हुन थालेपछि उनीहरूको अफेयरको कुरा पनि त्यत्तिकै सेलाउँछ ।
यद्यपि नेपाली चलचित्रमा एउटा यस्तो रोमान्टिक जोडीको उदय भएको छ, जो पर्दा बाहिर त प्रेमी–प्रेमिकाका रूपमा चिनिन्छ नै, चलचित्रमा समेत जोडीका रूपमा मात्र अभिनय गर्न थालेका छन् । अभिनेता सौगात मल्ल तथा अभिनेत्री सृष्टि श्रेष्ठले एक–अर्का बिना चलचित्रमा अभिनय नगर्ने अडान लिएकै कारण कहिलेकाहीं उनीहरू समस्यामा समेत परेका छन् ।
यही अडानबीच उनीहरूले जोडीका रूपमा पहिलो चलचित्र ‘मासु भात’ मा अभिनय गरिसकेका छन् । उक्त चलचित्रमा अभिनय गरे लगत्तै दुवैले अभिनय गरेको चलचित्र ‘पोइ पर्यो काले’ प्रदर्शनका लागि तयार छ । रमाइलो कुरा के छ भने यी दुवै चलचित्रमा सौगातले नै अभिनेत्रीको भूमिकाका लागि सृष्टिको सिफारिस गरेको चर्चा छ । हालै आएर मधुसूदन भट्टराईले निर्देशन गर्ने शीर्षक राख्न बाँकी रहेको एउटा चलचित्रमा समेत सौगात र सृष्टि नै मुख्य भूमिकामा प्रस्तुत हुने बताइएको छ । यो चलचित्रको छायांकन तिहारपछि अस्ट्ेरलियामा हुने बताइन्छ ।