साप्ताहिक संवाददाता
अमेरिकाको वेस्टक्लिफ युनिभर्सिटीले अल्ट्रा धाविका मीरा राईको साहसको सम्मान गर्दै मानार्थ विद्यावारिधि प्रदान गरेको छ । आइतबार काठमाडौंको होटल याक एन्ड यतिमा आयोजित उक्त युनिभर्सिटीको सम्बन्धनमा सञ्चालित प्रेसिडेन्सियल विजनेश स्कुलको दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन तथा युनिभर्सिटीका प्रा. डा. डेभिड मेकेनीले संयुक्त रूपमा राईलाई उक्त उपाधि हस्तान्तरण गरेका थिए । ३० वर्षीया राई उक्त उपाधि पाएपछि निकै भावुक तथा खुसी देखिएकी थिइन् ।
मानार्थ विद्यावारिधिको उपाधि लिनुभयो, कस्तो लागिरहेको छ ?
मैले डाक्टरको उपाधि लिने अवसर मिल्छ भनेर त कल्पनासम्म गरेकी थिइनँ । तर आज त्यो उपाधि पाएकी छु, यसका लागि वेस्टक्लिफ युनिभर्सिटी तथा प्रेसिडेन्सियल बिजनेस स्कुललाई धेरै–धेरै धन्यवाद । हाम्रो त एसएलसी पास गर्ने पनि ठूलो सपना हुन्छ । अहिलेका उपराष्ट्रपति नन्दबहादुर पुन, जो पहिले हाम्रो लिडर पनि हुनुहुन्थ्यो, उहाँबाट यस्तो उपाधि पाउने कुरा ? ओ माई गड मैले त सोचेकै थिइनँ, यति खुसी लाग्यो कि खुसीको सीमै रहेन ।
यो उपाधि किन दिइएजस्तो लाग्छ ?
मेरो काम, मेहनत र अचिभमेन्टका कारण यो उपाधि प्रदान गरिएजस्तो लाग्छ । यो युवा पुस्ताका लागि उत्साह र प्रेरणा पनि हो ।
३० वर्षकै उमेरमा मानार्थ पिएचडीको उपाधि पाउनुभयो । सफलता कसरी प्राप्त हुँदो रहेछ ?
आ–आफ्नो इच्छाअनुसार हामी जुन फिल्डमा जान्छौं त्यसमै सफलता प्राप्त गर्न सकिन्छ, जसरी मैले गरें । फिल्डअनुसार हार्ड वर्क फरक हुन्छ । नडराई निरन्तर आफ्नो लक्ष्य प्राप्तिमा लाग्न सकियो भने एकदिन अवश्य सफल भइन्छ । लक्ष्य लिएर हिँड्दा बाटोमा आइपर्ने समस्या तथा बाधाहरू दृढतापूर्वक हटाउँदै अघि बढ्न सकियो भने सफलता प्राप्त गर्न सकिन्छ ।
यो उपाधिले तपाईंलाई व्यक्तिगत रूपमा के दिन्छ ?
यो मेरो जीवनकै ऐतिहासिक क्षण हो । यस्तो उपाधि एकदमै थोरैले मात्र पाउँछन्, मलाई यो उमेरमै यस्तो सौभाग्य प्राप्त भयो । व्यक्तिगत रुपमा यसले ममा अथाहा उत्साह एवं प्रेरणा
भरेको छ ।
अरुलाई यो उपाधिले के सन्देश दिन्छ जस्तो लाग्छ ?
यो उपाधि मजस्तै संघर्ष गरिरहेकाहरूका लागि ठूलो प्रेरणा हुन्छ । यसले संघर्ष गरेर सफल हुन पनि उत्साह भर्ने काम गर्छ । ८ कक्षा पनि पास नगरी म आफ्नो घरको स्थिति एवं गाउँको वातावरणका कारण स्कुल छाडेर माओवादी युद्धमा गए । युद्धबाट फर्किएर पुन: पढ्न थाले र एसएलसी पास गरे । पढ्नु एकदमै महत्वपूर्ण छ ।
उपाधि पाएपछि कसलाई सम्झनुभयो ?
मलाई सहयोग गर्ने देशदेखि विदेशसम्मका सहयोगी मन एवं हातहरूलाई सम्झिए । पहिले बुवाआमाले मलाई बाहिर जान र फैलिन अनुमति दिनुभयो, उहाँहरूलाई सम्झिएँ । त्यसपछि मलाई अघि बढाउने कराँते गुरु ध्रुवविक्रम मल्ल तथा मलाई यो ठाउँमा पुग्न सहयोग गर्ने ट्रेल रनिङ नेपालका फाउन्डर रिचर्ड बुललाई सम्झिएँ । त्यसबाहेक मेरा सबै गुरु पनि मेरो स्मृतिमा आउनुभयो । अंग्रेजी सिक्दाका सर एवं गाउँको स्कुलका लोकसरलाई पनि मैले खुबै मिस गरें ।
एकपछि अर्को खुसीका खबर थपिँदैछन् । अब बिहेचाहिँ कहिले गर्नुहुन्छ ?
बिहेका बारेमा अहिले सोचेकी छैन । यो त मेरो सुरुवात हो, मैले ट्रेल रनिङमा अझ धेरै गर्न बाँकी नै छ । बहिनीहरूलाई सपोर्ट गर्नुछ, आफू पनि धेरै दौड्नुछ । च्यालेन्ज पनि छ, सर्जरीबाट रिकभरी भएर फेरि प्रतिस्पर्धामा भाग लिनुछ, जितेर नेपालको
नाम राख्नुछ ।
कुनै योजना पनि बनाउनुभएको छैन बिहेवारीको ?
अहिलेसम्म त्यस्तो प्लान बनाएकी छैन । परिवारलाई सपोर्ट गर्ने, बहिनीलाई पढाउने र मीरा राई इनिसियटिभबाट ट्रेल रनिङमा आउने बहिनीहरूलाई सपोर्ट गर्ने काम गरिरहेकी छु । मेरो सबै समय तिनै योजनामा केन्द्रित छ ।
हिजोआज के गर्दै हुनुहुन्छ ?
आउने अक्टोबरमा रेस छ, अन्नपूर्ण म्याराथनको तयारीमा छु । मीरा राई इनिसियटिभमार्फत पाँच जना बहिनीलाई सहयोग गरिरहेका छौं । उनीहरूलाई तालिम दिने कामका साथै नेपालमा ट्रेल रनिङको प्रमोसनमा व्यस्त छु । त्यसबाहेक फिजियो पनि गरिरहेकी छु, दोस्रो पटक सर्जरी गरेको नौ महिना भयो । अहिले पनि रिकभर हुन संघर्षरत छु ।