साप्ताहिक संवाददाता
हामी सबैलाई थाहा छ, सन् १९७१ मा सार्वजनिक भएको सुपरहिट चलचित्र आनन्दमा अमिताभ बच्चन र राजेश खन्ना प्रमुख भूमिकामा थिए । गत साता द कपिल शर्मा शोमा धर्मेन्द्रले सार्वजनिक गरेको अनुभवअनुसार यो चलचित्र बन्नुअघि यसका निर्देशक ऋषिकेश मुखर्जीले कोलकाताबाट मुम्बइ आउने फ्लाइटमा भेटिएका धर्मेन्द्रसँग उक्त चलचित्रको विषयमा कुरा गर्दै उनलाई नै लिड रोलमा अनुबन्ध गर्ने कुरा बताएका थिए ।
त्यसको केही दिनपछि मुखर्जीले धर्मेन्द्रको ठाउँमा राजेश खन्नालाई लिएर चलचित्रको घोषणा गरे । त्यसपछि के थियो र ? धर्मेन्द्र निकै रिसाए, उनले सारा रात रक्सी पिएर मुखर्जीलाई तथानाम गाली गरे । मुखर्जीले थाहा पाए धर्मेन्द्रले निकै रक्सी पिएका छन्, त्यसैले भोलिपल्ट भेट्ने वाचा गरे ।
भोलिपल्ट बिहानै धर्मेन्द्र मुखर्जीकहाँ पुगे । उक्त भेटमा मुखर्जीले आफ्नो गल्ती स्वीकार गर्दै धर्मेन्द्रसँग माफी मागे । त्यतिबेला मुखर्जीले अर्को चलचित्रमा पक्कै धर्मेन्द्रलाई काम दिने वाचा गरे । त्यसपछि नै निर्माण गरिएको हो, सुपरहिट चलचित्र— चुपके चुपके ।