साप्ताहिक संवाददाता
अन्तरिक्षमा उपग्रह पठाउन अहिले निजी कम्पनीहरूसमेत प्रतिस्पर्धामा उत्रिएका छन् । टेलिभिजन, ब्रोडब्यान्डजस्ता सबै प्रविधिका लागि उपग्रह आवश्यक हुने भएकाले यो क्षेत्रमा प्रतिस्पर्धा समेत बढेको छ ।
पहिले अन्तरिक्ष कार्यक्रममा अमेरिका र रूसजस्ता शक्तिशाली देश अगाडि थिए । हाल यसको क्षेत्र कति व्यापक भएको छ भने निजी क्षेत्रका करिब १ सय ३० कम्पनी प्रतिस्पर्धाको यो दौडमा सामेल भएका छन् । अन्तरिक्ष अभियानमा निजी कम्पनीहरूको हिस्सा ३७ प्रतिशत छ, जुन सन् २०१४ मा करिब ८ दशमलव ७९ प्रतिशत मात्र थियो ।
एसिया प्यासिफिक एरोस्पेस कन्सल्टेन्ट्सले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार विश्वस्तरमा व्यवसायिक अन्तरिक्ष अभियानमा निजी कम्पनी सरकारी कम्पनीभन्दा अगाडि छन् । ब्रिटिस भर्जिन ग्यालेक्टिकको सहायक कम्पनी, ब्ल्यू ओरिजिन, बोइङ, लकहिड मार्टिन जस्ता ठूला कम्पनी यसमा अगाडि बढिरहेका छन् ।
सन् २०१६ को स्याटेलाइट इन्डष्ट्री प्रतिवेदनअनुसार २०१४ देखि २०१६ सम्ममा उपग्रह सेवाको राजस्व ४ प्रतिशत बढेर १० खर्ब २७ अर्ब ४० करोड डलर पुगेको थियो । उक्त समयमा स्याटेलाइट अर्थात् उपग्रह निर्माणको राजस्व पनि ४ प्रतिशत बढेर १६ अर्ब ६० करोड डलर पुगेको थियो । बजार विश्लेषण एवं अनुसन्धान संस्था फ्रोस्ट एन्ड सुलिभानको प्रतिवेदनअनुसार २०३० सम्म ११ हजार ७ सय ४६ साना उपग्रह छोडिने अनुमान छ । उक्त संस्थाका अनुसार साना उपग्रहको प्रक्षेपणबाट ६९ अर्ब डलर सम्म कमाई हुनेछ ।
इलोन मस्कले सन् २००२ मा स्पेसएक्स कम्पनीको स्थापना गरेका थिए । त्यसको आठ वर्षभित्रै स्पेसएक्स अन्तरिक्ष यानलाई कक्षमा छोड्ने र पृथ्वीमा फिर्ता ल्याउने पहिलो निजी कम्पनी बन्यो । मस्कले हाल पनि फेरि प्रयोग गर्न सकिने र मंगलमा समेत लाने योजनाका साथ रकेटको विकास गरिरहेको बताएका छन् ।
लकहिड मार्टिन तथा बोइङको साझेदारीमा निर्माण गरिएको युनाइटेड लन्च एलायन्सले धेरैजसो अमेरिकी सैन्य उपग्रह लन्च गर्छ । स्पेसएक्सपश्चात् अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा यात्री पुर्याउने दोस्रो कम्पनी बोइङ थियो ।
यसका साथै अमेजनका जेफ बेजोस तथा ब्ल्यू ओरिजिन पनि यो व्यवसायिक दौडमा अगाडि छन् । ब्ल्यू ओरिजिनले सस्तो अन्तरिक्ष पर्यटनमा आफ्नो ध्यान केन्द्रीत गरेको बताएको छ ।