पश्चिम बंगालको डुअर्सबाट म्युजिक करियर थालेका गायक पुष्पन प्रधान केही समय काठमाडौं बसेर डुअर्स फर्किएका थिए, तर गत वर्षको नेपाल आइडलका एक प्रतिस्पर्धी अमित बरालले उनको जीवनमा ‘युटर्न’ ल्याइदिए । अमितले त्यही चर्चित गीत पन्छी गाए, जसका कारण उनको भाग्य चम्कियो ।
पूर्वाञ्चल टुर कस्तो भयो ?
बियर कम्पनीले मलाई विश्वास गरेर टुर आयोजनाको प्रस्ताव गरेको थियो । मैले मूलत: दर्शक–श्रोताहरूको मायालाई नै यो टुरको उपलब्धि मानें ।
तपाईंको व्यस्तता बढेको हो ?
हो, करिब एक वर्षदेखि मलाई यो क्षेत्रले धेरै व्यस्त बनाएको छ । भारत र नेपालसँगै अन्य विदेशी मुलुकबाट मलाई निरन्तर निम्तो आइरहेको छ । म यो एक वर्षभित्र अस्ट्रेलिया, सिंगापुर, हङकङ, युएई आदि देश पुगिसकेको छु । चाँडै दक्षिण कोरिया र अमेरिका टुरको तयारीमा छु ।
केही समयअघिसम्म तपाई फुर्सदिलो हुनुहुन्थ्यो, यो व्यस्तताको कारण के हो ?
खासमा नेपाल आइडलमा अमित बरालले मेरो पन्छी गीत गाएका थिए । त्यो गीत साह्रै रुचाइयो । त्यसको शब्द एवं भावले दर्शक–श्रोताहरूको मन जित्यो । त्यही गीतले मलाई व्यस्त बनाएको हो । यसको श्रेय म अमित बराललाई दिन्छु । उनले त्यो गीत गाएकै कारण आज पुष्पण प्रधानलाई विश्वभरका नेपालीले चिन्न थालेका हुन् ।
आफ्ना गीतमार्फत भुइँमान्छेका कथा सुनाउनुहुन्छ, यस्तो गीत गाउन के कुराले प्रेरित गर्छ ?
मलाई भुइँमान्छेहरूको दु:ख–पीडाले छुन्छ । म डुअर्सको चिलाउने चियाबारीमा जन्मिएँ–हुर्किएँ । उनीहरूको श्रम र पसिनाको सुगन्धले मलाई बारम्बार छोइरह्यो । खासमा गीत यस्तै पात्रहरूको गाउनुपर्छ भन्ने लाग्न थाल्यो । फेरि कवि–साहित्यकारहरूको संगतका कारण पनि मेरो झुकाव यस्तै मानिसहरूप्रति भयो ।
पन्छी गीत किन बढी मन पराइयो ?
खासमा यो वैदेशिक रोजगारीको व्यथा हो । नेपालका धेरै युवा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । त्यही भएर पनि नेपालतिर यो गीत बढी रुचाइयो ।
आगामी योजना के छ ?
तत्काल नयाँ गीतहरू सार्वजनिक गर्दैछु ।
गीतवाटै पहिचान बन्ला भन्ने लाग्थ्यो ?
त्यस्तो सोचेको थिइनँ । सानैदेखि गीत गुनगुनाउँथे । निरन्तर कर्म गरिरहनुपर्छ भन्ने मेरो मान्यता थियो । मानिसलाई निरन्तरको कर्मले नै परिचित गराउँछ भन्ने कुरा मेरो जीवनमा सार्थक भएको छ ।