करिब ८ वर्षअघि रामेछापकी लक्ष्मी घिमिरे घाँस काट्न जाँदा भीरबाट लडिन् । त्यसपछि उनी स्पाइल कर्ड इन्जुरीबाट ग्रसित भइन् । उनको कम्मरमुनिको भाग चल्न छोड्यो । बाँकी जीवन जिउन निकै कठिन हुन थाल्यो, तर पनि उनले हरेस खाइनन् । उनी अहिले खेलकुदमा सक्रिय छिन् । विकलाङ्ग लक्ष्मी ह्विलचेयरमै बसेर बास्केटबल, पौडी खेल्दै अहिले पावरलिफ्टिङतर्फ आकर्षित भएकी छिन् । घिमिरे विभिन्न जिम सेन्टरमा गएर पावरलिफ्टिङको प्रशिक्षण लिन थालिन् । पावरलिफ्टिङमा ६५ केजीमुनि उनले प्रतिस्पर्धा गर्ने समूह हो ।
राष्ट्रिय स्तरमा थुप्रै उपाधि जितेकी लक्ष्मीले अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धामा समेत सहभागिता जनाइसकेकी छिन् । उनी दुई वर्षअघि दुबई पारा ओलम्पिकमा सहभागी भइन् । राम्रो प्रशिक्षण र तयारीको अभावका कारण उनले त्यहाँ कुनै उपलब्धि भने हासिल गर्न सकिनन् । लक्ष्मी भन्छिन्–‘हामीजस्ता खेलाडीका लागि खेल स्थानदेखि लिएर हरेक कुराको अभाव छ । यसले गर्दा हामी अन्तर्राष्ट्रिय स्तरमा कमजोर छौं ।’
घिमिरे जस्तै प्रतिभा भएका तथा अवसर नपाएका खेलाडीहरूलाई लक्षित गर्दै राष्ट्रिय पारा पावरलिफ्टिङ संघको आयोजनामा गत भदौ दोस्रो साता पारा महिला पावरलिफ्टिङको तीनदिने प्रशिक्षण सम्पन्न गरिएको छ । ठमेलस्थित होटल मस्र्याङ्दीमा अन्तर्राष्ट्रिय प्रशिक्षक मलेसियन नुर साहिदा माटले उक्त प्रशिक्षण प्रदान गरेकी थिइन् ।
प्रशिक्षणमा २५ जना विकलाङ्ग खेलाडी तथा प्रशिक्षक सहभागी थिए । नेपालमा पनि थुप्रै विकलाङ्ग महिला खेलाडीहरू रहेका र उनीहरूलाई पनि यो खेलमा सक्षम बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय पारा पावरलिफ्टिङ संघका अध्यक्ष टेकबहादुर गुरुङले बताए । गुरुङ भन्छन्–‘यो प्रशिक्षणको मुख्य उद्देश्य आगामी २०२० मा आयोजना हुने ओलम्पिक खेलका लागि खेलाडीहरूलाई सक्षम बनाउनु हो, ताकि नेपाली महिलाहरूले पनि अन्तर्राष्ट्रिय स्तरमा उपाधि जित्न सकून् ।’