साप्ताहिक संवाददाता
दुबई : ४ रात, ५ दिनको सामान्य प्याकेज खर्च ६२ हजार रुपैंयाँ टिकट सहित
इन्डोनेसिया : ४ रात, ५ दिनको सामान्य प्याकेज खर्च ५७ हजार रुपैंयाँ
थाइल्यान्ड : ४ रात, ५ दिनको सामान्य प्याकेज ५७ रुपैंयाँ
सिंगापुर : ४ रात, ५ दिनको सामान्य प्याकेज ६२ हजार रुपैंयाँ
दुबई
सपिङ र घुमघामका लागि संयुक्त अरब इमिरेट्सको सहर दुबई निकै चर्चित छ । दुबई आधुनिक गगनचुम्बी भवन तथा जीवन्त नाइट लाइफका लागि प्रख्यात छ । त्यहाँ पुग्नेहरूले संसारकै सबैभन्दा अग्लो बुर्ज खलिफा टावर चढ्ने रहर पालेकै हुन्छन् । ८ सय ३० मिटर अग्लो यो टावरको १ सय २४ औं तलामा रहेको ‘अब्जरभेसन डेस्क’ बाट दुबई सहर नियाल्दाको खुसी शब्दमा व्यक्त गर्न कठिन हुन्छ । त्यहाँका गगनचुम्बी महल, द्रुत गतिमा अघि बढिरहेका विकासका संरचनाहरू देख्दा आकाश पनि सानो भएको हो कि जस्तो भान पर्छ ।
बुर्ज खलिफा टावरमा विलासी होटल, सपिङ सेन्टर, अपार्टमेन्ट तथा कार्यालयहरू छन् । यहाँ ३ दशमलव २ किलोमिटर लामो दुबई वाटर क्यानलले पनि धेरैको मन तान्दै आएको छ । यो वाटर क्यानल तीन वर्षमै पर्यटकहरूको सबैभन्दा बढी भीड लाग्ने ठाउँ बनिसकेको छ । बुर्ज अल अरब, गुरु नानक दरबार सिख टेम्पल, दुबई क्रिक, मरीनाबीच, फेसनको राजधानी मानिने मीना बजार, दुबई बटरफ्लाई गार्डेन, जुमेरा आक्रियोलोजिकल साइट, पाम आइल्यान्ड, द दुबई फाउन्टेन, म्युजियमजस्ता ठाउँ दुबईका घुम्नलायक ठाउँ हुन् । दुबई घुम्नेहरू त्यहाँ युरोपको झझल्को पाइने बताउँछन् । दुबईमा डेजर्ट सफारी, हट एयर बेलुन फ्लाइट, पानीजहाज, बालुवामा चिप्लेटी आदिको समेत मजा लिन सकिन्छ । दुबई घुम्न विभिन्न एयरलायन्स तथा ट्राभल एजेन्सीहरूले प्याकेज तयार पारेका छन् ।
यी सबै प्याकेज लिन ९ हजार रुपैयाँ तिरे पुग्छ । तीन रात, चार दिनको दुबईको भ्रमण सामान्य हुन्छ । ७० हजार रुपैयाँभन्दा बढी खर्च गरेर यो प्याकेज लिन सकिन्छ ।
मलेसिया
दक्षिण एसियाको पूर्वी देश मलेसिया समुद्री किनारका कारण बढी चर्चित छ । यहाँ मलाया, चाइनिज, भारतीय तथा युरोपियनहरूको बसोबास छ । द क्वालालम्पुर टावर, पेट्रोनास ट्वीन टावर्स, जर्ज टाउन, पेनाङ टापु, पेङकर टापु, क्यामरुन हाइल्यान्ड्स, क्वालालम्पुर बर्ड पार्क, नेसनल म्युजियम, नेसनल मोनुमेन्ट आदि क्वालालम्पुरका घुम्नलायक ठाउँ हुन् । यहाँ गुफा, मन्दिर, पार्कजस्ता विविध धार्मिक तथा ऐतिहासिक आकर्षणहरू पनि छन् । केबलकारको मज्जा लिन होस् वा समुद्री किनारमा रमाउन मलेसिया उपयुक्त गन्तव्य हुन सक्छ । नेपालका विभिन्न ट्राभल एजेन्सीले मलेसिया घुमफिरको प्याकेज तयार पारेका छन् । यस्ता प्याकेज आफ्नो बजेटअनुसार छनोट गर्न सकिन्छ ।
इन्डोनेसिया
१७ हजार ५ सय टापु भएको इन्डोनेसिया सुन्दर देश हो । इन्डोनेसियाको बाली हनिमुनका लागि प्रख्यात छ । हनिमुन मनाउन युरोप, अमेरिका तथा एसियाबाट ठूलो संख्यामा पर्यटकहरू इन्डोनेसिया पुग्छन् । सफा वातावरण, द्रुत रूपमा भैरहेको विकास, मन्दिर एवं टापुहरू इन्डोनेसियाका विशेष आकर्षण हुन् ।
इन्डोनेसियाको मुख्य आयस्रोत पर्यटन नै हो । इन्डोनेसिया घुम्न त्यति महँगो पनि छैन । एक रात बिताउन ३ हजार रुपैयाँ भए पुग्छ । यहाँ सस्ता होटलहरू पनि उपलब्ध हुन्छन् । नेपालबाट इन्डोनेसिया पुग्न मलिन्दो तथा एयर एसियाले सस्तोमा टिकट उपलब्ध गराइरहेका छन् । यस बाहेक हिमालयन एयरलायन्स, नेपाल एयरलायन्स, मलेसियन तथा थाई एयरलायन्सले पनि सेवा प्रदान गरिरहेका छन् । इन्डोनेसियामा अनएराईभल भिसा दिइन्छ र त्यो पनि नि:शुल्क उपलब्ध हुन्छ ।
इन्डोनेसियाको जकार्तामा तमन सफारी छ । त्यहाँ खुल्ला जंगलमा हात्ती, बाघ, भालुजस्ता वन्यजन्तुहरू हेर्न सकिन्छ । यसबाहेक त्यहाँ स्वीमिङ पुल तथा पोखरीहरू पनि छन्, जहाँ डल्फिनसमेत पाइन्छ । इन्डोनेसियामा ३ सयभन्दा बढी एथेनिक गु्रप छन् । बालीमा ठूला–ठूला गुम्बाहरू छन् । त्यहाँ पानीमुनि ड्राइभ गरेर समुद्री वनस्पति हेर्न सकिन्छ, जसलाई स्कोभा ड्राइभिङ भनिन्छ । त्यहाँ सुन्दर समुद्री तटहरू छन् । इन्डोनेसियामा महत्वपूर्ण हिन्दू मन्दिरहरू पनि छन् जसमा तनाहा, उलुवातो, वैशाखी मुख्य मन्दिर मानिन्छन् । त्यहाँ हिन्दू संस्कारअनुसार पर्यटकहरूलाई स्वागत गरिन्छ ।
उबुद्ध आर्ट मार्केट, बाली सफारी, मरिन पार्क, बिभिन्न समुद्री तट इन्डोनेसियाका थप आकर्षण हुन् । त्यहाँ नसदुवा वाटर स्पोट्र्स, बोटिङलगायतका सुविधा उपलब्ध छन् । चार वर्षअघि बालीको देम्पासार एयरपोर्ट र नसदुवा समुद्री किनार जोड्न समुद्रमाथि चार लेनको सडक बनाइएको छ । यसले पर्यटकहरूलाई थप सहज बनाएको छ । एक हप्ता इन्डोनेसिया घुम्न एयर टिकटसहित १ लाख रुपैयाँजति लाग्छ ।
थाइल्यान्ड
थाइल्यान्ड सेक्स टुरिज्मका लागि संसारभर चर्चित छ । संसारको दोस्रो ठूलो टापु पनि थाइल्यान्डमै छ । नेपालको जस्तै हावापानी पाइने थाइल्यान्डमा मेडिकल टुरिज्म पनि फस्टाएको छ । त्यहाँ बस्न, खान पनि त्यति महँगो छैन । थाइल्यान्ड ९५ प्रतिशत साक्षरता भएको देश हो । थाइल्यान्डको प्रतिव्यक्ति वार्षिक आय ३० हजार डलर छ । घुम्नका लागि बैंकक, पताया, फुकेट, चाङमाइ आदि लोकप्रिय छन् । थाइल्यान्डमा एयरपोर्ट पुगेदेखि नै धेरै कुरा सिकिन्छ । थाई खानेकुराको स्वाद धेरैको जिब्रोमा झुन्डिन्छ । वार्षिक १ करोड ९७ लाखभन्दा बढी पर्यटकले थाइल्यान्डको भ्रमण गर्छन् । समुद्रको ह्याङग्लाइडिङ, समुद्रमुनिका माछा हेर्ने, समुद्रको छेउमा बसेर खाने–पिउने, टापुहरूको भ्रमण, रात्रिजीवन आदि थाइल्यान्डका केही आकर्षण हुन् ।
श्रीलंका
हिन्द महासागरको उत्तरी भागमा अवस्थित श्रीलंका भारतको सीमाबाट ३१ किलोमिटरको दूरीमा छ । १९७२ सम्म श्रीलंकाको नाम ‘सिलोन’ थियो । सन् १९७२ मा ‘लंका’ बन्यो । त्यसको ६ वर्षपछि ‘लंका’ को अगाडि सम्मानजनक शब्द श्री थपेर श्रीलंका बनाइयो । श्रीलंका सफा र सुन्दर देश हो । श्रीलंकनहरूले स्थानीय पहिरन तथा खानपानमा जोड दिँदै आएका छन् । श्रीलंका परम्परागत संस्कारका लागि पनि उत्तिकै चर्चित छ । श्रीलंकाको समुद्री किनारमा राम्रा–राम्रा होटलहरू छन् । बाटाहरू पनि उत्तिकै राम्रा छन् । श्रीलंकाको कोलम्बो महत्वपूर्ण बन्दरगाह मानिन्छ । पार्क, मन्दिर तथा समुद्री तट यहाँका प्रमुख आकर्षण हुन् । श्रीलंका घुम्न खासै महँगो छैन अर्थात् नेपालीहरू भारत गएजस्तै छ ।
गोवा
समुद्री किनारमा रमाउन चाहनेहरूका लागि भारतको गोवा उपयुक्त गन्तव्य हुन सक्छ । दूरीका हिसाबले नजिक र अन्य देशभन्दा कम खर्चिलो भएकाले गोवा धेरै नेपालीको गन्तव्य बन्ने गरेको छ । गर्मी महिनामा यहाँ पर्यटकहरूको ओइरो नै लाग्छ । गोवामा झन्डै ४० वटा समुद्री तट छन् । यस्तै कामाक्षी, सप्तकेटेश्वर, शांतादुर्गा, महालसा नाराईणी, भगवती, महालक्ष्मी मन्दिरहरूमा दर्शनार्थीहरूको भीड लागिरहन्छ । कुनै समय पोर्तुगलको उपनिवेश रहेको गोवामा सन् १९६१ पछि मात्र भारत सरकारको प्रशासन कायम भएको हो । क्षेत्रफलका हिसाबले ३ हजार ७ सय दुई वर्ग किलोमिटर फैलिएको गोवाको मुख्य आयस्रोत पर्यटन हो । यहाँको खनिज पदार्थ जापान तथा चीन निर्यात हुन्छ । त्यस्तै गोवा काजुका लागि पनि प्रसिद्ध छ । गोवाको काजु साउदी अरब, बेलायत तथा अन्य युरोपियन मुलुकहरूमा निर्यात हुन्छ ।
सिंगापुर
सानो तर सुन्दर देश हो— सिंगापुर । स्यान्तोषा टापु, फ्लाईएयर, युनिभर्सल स्टुडियो तथा बगैंचाहरू यहाँका प्रमुख आकर्षण हुन् । स्यान्तोषा टापु घुम्न दिनभर लाग्छ । त्यहाँ डल्फिन डान्स तथा पानीको फोहोराले मन्त्रमुग्ध तुल्याउँछ । सिंगापुरमा एक्वेरियममा राखिएका विभिन्न देशका माछा हेर्न सकिन्छ । सपिङ गर्न इच्छा हुनेहरू अरचर्ड पुग्न सक्छन् । सिंगापुर जु एसियाकै सबैभन्दा ठूलो चिडियाखाना मानिन्छ । जुरुङ बर्ड पार्कमा थरीथरीका चराचुरुङ्गी छन् । त्यहाँ चराको शोसमेत हेर्न पाइन्छ ।
विश्वकै सुरक्षित देश मानिन्छ— सिंगापुर । यहाँको नाइट लाइफ अझ रमाइलो हुन्छ । मरीना वे स्यान्ड्स अर्को चर्चित ठाउँ हो जहाँ ब्रान्डेड सामानहरू पाइन्छन् । वाटर शो यहाँको अर्को प्रमुख आकर्षण हो । विश्वमा सबैभन्दा छिटो प्रगति गरेको देश हो— सिंगापुर, जहाँ कानुन बलियो छ ।
नेपालबाट घुम्न जानेहरू मलेसिया हँुदै सिंगापुर पुग्छन् । नेपालबाट मलेसिया प्लेनमा तथा मलेसियाको क्वालालम्पुरबाट ५/६ घण्टा बस यात्रा गरेपछि सिंगापुर पुग्न सकिन्छ । सिंगापुरको बसाइ एवं खानपान केही महँगो छ । होटलमा एक रात बसेको ८ हजार रुपैयाँ तथा सस्तो होटलमा एक छाक खाएको १ हजार रुपैयाँ पर्छ । तीन दिन बिताउँदा लगभग सबै सिंगापुर घुम्न सकिन्छ, जसका लागि टिकट खर्चबाहेक ५० हजार रुपैयाँ भए पुग्छ ।
कम्बोडिया
पछिल्ला दिनमा दक्षिण पूर्वी एसियाको प्रमुख देश कम्बोडिया घुम्नेहरूको संख्या निरन्तर बढिरहेको छ । राजधानी नोमपेन्हमा नेपालीहरूको पनि बसोबास छ । यो एसियाको एक मात्र देश हो, जहाँ खुला रूपमा अमेरिकन डलर चल्छ । थाइल्यान्डबाट एक घण्टाको उडानमा कम्बोडिया पुग्न सकिन्छ । म्युजियम, रोयल प्यालेस, तालतलैया, मन्दिर, सिल्भर प्यागोडा, बोकोर हिल स्टेसन यहाँका प्रमुख आकर्षण हुन् । लगानीको वातावरण बनेपछि कम्बोडियामा विदेशी लगानी गर्नेहरूको संख्या ह्वात्तै बढेको छ । कम्बोडिया नेपालबाट थाइल्यान्ड हुँदै जाँदा नजिक पर्छ । थाइल्यान्डबाट १ घण्टाको फ्लाइटमै कम्बोडिया पुग्न सकिन्छ । यस्तै मलेसिया वा सिंगापुर हुँदै पनि कम्बोडिया जान सकिन्छ ।
भुटान
दक्षिण एसियाको सानो देश भुटान सुन्दर देश हो । यसको सिमाना भारत तथा चीनसँग जोडिएको छ । भुटानको उत्तरमा पहाड र दक्षिण केही भाग समतल छ ।
भुटानले आफूसँग भएका स्रोत–साधनहरूको पर्याप्त उपयोग गरेको छ । पारो भ्याली, टाइगर नेस्ट, राजधानी थिम्पु, पुनखा भ्याली, बुमथाङ भ्याली, बुद्ध प्वाइन्ट तथा गुम्बाहरू भुटानका घुम्नलायक ठाउँ हुन् । दि तासीछोदाङ (किल्ला) सरकारी कार्यालय रहेको भवन पनि आकर्षक छ । त्यस्तै दोचुला स्तूपा, पुनखा जङ, छिमिलाखाङ गुम्बा पर्यटकहरूले रमाइलो गर्ने ठाउँ हुन् । विश्वको सबैभन्दा ठूलो बुद्ध मूर्ति भुटानमै छ । भुटान हाइड्रोपावर प्रोजेक्टका लागि नमुना देश हो । भुटानको अर्थतन्त्रको मूल स्रोत पनि जल विद्युत् नै हो ।