साप्ताहिक संवाददाता
स्वजातीय विवाह तथा अन्तरजातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वमा आधारित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ यसै साता प्रदर्शनमा आउँदैछ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्रमा दयाहाङ राई, रिश्मा गुरुङ, उपासना सिंह ठकुरी, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सनविक्रम राई, बुद्धि तामाङ, लुनिभा तुलाधर आदि कलाकारले अभिनय गरेका छन् । यो चलचित्र अघिल्ला दुई चलचित्र ‘कबड्डी’, ‘कबड्डी कबड्डी’को सिक्वेल हो ।
निर्देशक गुरुङका अनुसार चलचित्रमा अघिल्ला सिक्वेलका कलाकारसँगै केही नयाँ कलाकार पनि थपिएका छन् । ‘चलचित्रले काजी र मैयाँको प्रेमकथालाई नै निरन्तरता दिएको छ । चलचित्रका प्रमुख पात्र काजी बिना यसको कथा अघि बढ्दैन । अघिल्ला चलचित्रमा काजी आफ्नो समाजबाट बाहिर निस्किएका थिएनन्, तर यो चलचित्रमा काजीले प्रेम प्राप्त गर्नकै लागि लामो यात्रा पनि गर्छन्’, चलचित्रमा आएका नयाँ पात्रले दर्शकहरूलाई थप मनोरञ्जन प्रदान गर्नेछन् भन्नेमा हामी आशावादी छौं । यो चलचित्रमा काजी र मैयाँको विवाह हुन्छ कि हुँदैन भन्ने कुरा थाहा पाउन दर्शकले हलसम्म पुग्नै पर्ने पर्छ । सायदै अब यसको अन्तिम सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी कबड्डी’मा कथाले बिट मार्नेछ ।’
चलचित्रका अभिनेता विल्सनविक्रम राईले यही चलचित्रमार्फत रामबाबुको समूहसँग पहिलोपटक सहकार्य गर्दैछन् । त्यसकारण पनि उनी यो चलचित्रप्रति उत्साहित छन् । ‘गीत तथा ट्रेलर सार्वजनिक भएपछि दर्शकले मलाई गीतमा हिरो जस्तो र ट्रेलरमा चाहिँ भिलेन जस्तो भनेर टिप्पणी गर्नुभएको छ । यद्यपि म भन्छु, चलचित्रमा अब अर्को काजी थपिएको छ । त्यो काजी कस्तो छ भन्ने कुरा थाहा पाउन दर्शकले चलचित्र नै हेर्नुपर्ने हुन्छ’, विल्सन भन्छन्, ‘म सानोतिनो चरित्रमा देखिँदै आएको कलाकार एउटा ब्रान्ड बनिसकेको चलचित्रसँग जोडिन पाउँदा डर र उत्साह दुवै हुँदो रहेछ । कमेडी चरित्रमा देखिरहेका दर्शकले मलाई यो चलचित्रमा धनकाजीको चरित्रमा हेर्न पाउनुहुनेछ । जुन चरित्र अलिक गम्भीर किसिमको पनि छ । अहिलेसम्म काम गरेका चलचित्रमा म एकपटक कथा पढेर चित्त बुझाउँथें, तर यो चलचित्रमा काम गर्दा चलचित्रको कथा दिनहुँ पढ्नुपर्ने रहेछ भन्ने कुरा सिकें ।’
चलचित्र ‘क्याप्टेन’मा अभिनेता अनमोल केसीसँग रोमान्स गरेकी अभिनेत्री उपासनासिंह ठकुरी यो चलचित्रमा अभिनेता दयाहाङ राईको जोडीको भूमिकामा छिन् । ‘अघिल्लो चलचित्रको तुलनामा मेरो भूमिका अलिक फरक छ । मलाई यो चलचित्रमा काम गर्न प्रस्ताव आउँदा ‘होइन होला’ जस्तो लागेको थियो’, उपासना भन्छिन्, ‘मैले सोच्दै नसोचेको चलचित्रमा काम गर्ने मौका पाएँ । मैले यो चलचित्रको अघिल्ला दुई सिक्वेल पनि हेरेकी थिएँ । मलाई यो चलचित्रको काजी चरित्र एकदमै मनपथ्र्यो । म पुरुष भएको भए सम्भवत: यही चरित्रमा अभिनय गर्ने थिएँ ।’