साप्ताहिक संवाददाता
बलिउड अभिनेत्री सनी लियोनले आइटम नृत्य गरेर चर्चामा आएको नेपाली चलचित्र ‘पासवर्ड’ व्यवसायिक रूपमा भने असफल भएको छ । चलचित्रले शुक्रबार तथा शनिबारसमेत दर्शकलाई आकर्षित गर्न सकेन । सनी लियोनकै लागि झन्डै ३ करोड खर्च गरेको उक्त चलचित्रले नेपालबाट लगानी सुरक्षित गर्न असम्भव भएको वितरकहरू बताउँछन् । निर्माण पक्षले चलचित्रले हालसम्म गरेको व्यवसायको तथ्यांक उपलब्ध गराउन चाहेको छैन । चलचित्रमा बिक्की जोशी, अनुपविक्रम शाही, रवीन्द्र झा, बुद्धि तामाङ आदि कलाकारको अभिनय छ ।
शुक्रबार प्रदर्शनमा आए पनि यो चलचित्रले शुक्रबार र शनिबार औषत व्यापारसमेत गर्न नसकेको हल सञ्चालकहरूको दाबी छ । चलचित्रको प्रदर्शन राम्रो होस् भनेर सनी लियोनीलाई काठमाडौं झिकाई प्रिमियर गरिए पनि त्यसले सुखद नतिजा हासिल गर्न सकेन । अन्य चलचित्रमा आफ्नो एक्सनका कारण चर्चामा आउने द्वन्द्व निर्देशक सम्राट बस्नेतले ‘डेब्यु’ निर्देशन गरेको यो चलचित्रबाट भने प्रशंसा बटुल्न सकेनन् ।
त्यस्तै चलचित्र ‘पासवर्ड’सँगै प्रदर्शनमा आएको चलचित्र ‘हिरो नम्बर–१’ ले औसत व्यापार गरेको निर्माण पक्षको दाबी छ । बक्स अफिसको आधिकारिक रिपोर्ट आउन बाँकी रहे पनि चलचित्रका वितरकले बुधबारसम्म झन्डै ४० लाख ग्रस कलेक्सन गरेको बताएका छन् । यो चलचित्रमा अभिनेता जयकिशन बस्नेतको अभिनय, निर्माण तथा निर्देशन छ ।
वितरकका अनुसार यो चलचित्र युरोपका विभिन्न देशका साथै अमेरिका, क्यानाडा, मलेसिया तथा सिंगापुरमा समेत प्रदर्शन हुनेछ । चलचित्रमा जयकिशनका साथमा जाहान्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन आदिले अभिनय गरेका छन् ।