साप्ताहिक संवाददाता
गत वर्ष विराटनगरमा भएको साफ च्याम्पियनसिपका क्रममा नेपाल फाइनलमा पराजित भएको थियो, त्यो पनि फेरि एकपटक भारतकै हातबाट । नेपालसामु महिला फुटबलमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने त्यो नै सबैभन्दा बलियो मौका थियो । एकातर्फ घरेलु मैदान, अर्को त्यसको ठीक अघि नेपालले भारतलाई हराएको थियो, पहिलो पटक । यस्तोमा एक प्रकारले भारत दबाबमा थियो, तर फाइनलमा भारतको प्रदर्शन वास्तविक च्याम्पियनको जस्तै रह्यो । भारत उपाधिको पूर्ण हकदार देखिएको थियो । जति बेला फाइनल सकियो, भारतीय खेलाडी तथा प्रशिक्षकहरूमा अपार खुसी देखियो जुन स्वभाविक पनि थियो ।
स्वभाविक के पनि रह्यो भने त्यो हारमा सबैभन्दा दु:खी अरू कोही होइन, नेपाली टिम नै थियो । पोस्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक हरि खड्काले आफ्ना खेलाडीहरूको प्रशंसा गर्दै भनेका थिए, ‘टिमको प्रदर्शनको सबै जिम्मा म आफैं लिन्छु ।’ त्यति बेला सबैले नदेखेको तथ्य के थियो भने उनी उक्त पोस्ट म्याच कन्फ्रेन्समै आउन अनिच्छुक थिए । खेलाडीसँगै उनी निकै स्तब्धपूर्ण स्थितिमा थिए । प्रश्न त्यतिबेला पनि उठेको थियो, फाइनलमा किन नेपाल भारतसँगै हार्छ ? अब यसमै प्रश्न थपिएको छ, फाइनल भनेपछि किन नेपाल सधैं पराजित हुन्छ ? हालै नेपाली महिला राष्ट्रिय टिम किर्गिस्तानमा भएको नादेझ्दा कपको फाइनलमा नेपाल उज्वेकिस्तानको हातबाट ३–२ ले पराजित भयो । नेपालले सुरुमै तीन गोल खायो, तैपनि दुई गोल फर्काउन सफल रह्यो ।
यद्यपि त्यो खेलको समीकरण फेर्न पर्याप्त थिएन । त्यससँगै नेपाल महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित हुने क्रमको संख्या पनि आठ पुगेको थियो । भारतविरुद्ध नेपाल विराटनगरमा पराजित भएको फाइनल सातौं थियो । त्यसमा नेपाल ३–१ ले हारेको थियो । नेपालले पहिलो फाइनल सन् २०१० को दक्षिण एसियाली खेलकुदमा खेलेको थियो । त्यसमा नेपाल भारतसँग ३–१ ले पराजित भएको थियो । लगतै सन् २०१० मै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा भारतसँगै १–० ले पराजित भएको थियो ।
सन् २०१२ को साफ च्याम्पियनसिपको फाइनलमा नेपाल फेरि भारतसँग ३–१ ले पराजित भयो । सन् २०१४ को साफ च्याम्पियनसिप फाइनलमा नेपाल भारतविरुद्ध पराजित हुँदा हारको अन्तर थियो— ६–० । सन् २०१६ मा भारतले दक्षिण एसियाली खेलकुदको आयोजना गर्दा नेपालले पुन: एकपटक घरेलु टिमसँग ४–० ले निराश हुनुपर्यो । सन् २०१९ मा नेपाल भारतमा भएको हिरो गोल्डकपमा पनि फाइनलसम्म पुग्यो । त्यति बेला फाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत होइन, म्यानमार थियो, तर नतिजा भने उही, हार । नेपाल ३–१ ले पराजित भयो । खेलकुदमा प्राय: अंग्रेजी शब्द ‘जिन्क’ प्रयोग गरिन्छ, जसको सिधा अर्थ लगातार एउटै मोडमा आएर जित्न नसक्नु हुन्छ । एकपटक यो जिन्क तोडिएन भने यसले दु:ख दिइरहन्छ । यसमा टिम र खेलाडी खेलअघि मानसिक रूपमा हारका लागि तयार भैसकेका हुन्छन् । नेपाल पनि अहिले यही जिन्कबाट ग्रसित भएको छ । आखिर यो जिन्क तोड्ने उपाय के हो ?
प्रशिक्षक खड्काले भने जस्तै यसको उत्तर कसैसँग पनि छैन, तर यसलाई तोड्ने बाटोसम्म पुग्ने उपाय भने छ । जस्तो, सबैभन्दा पहिले नेपाली महिला फुटबलको घरेलु स्वरूप बलियो बनाउनुपर्छ । खेलाडीले बढीभन्दा बढी मौका पाउनुपर्छ । घरेलु फुटबललाई सक्दो व्यवसायिक बनाउनुपर्छ । खेलाडीलाई उत्तिकै अन्तर्राष्ट्रिय एक्सपोजर पनि चाहिन्छ । धेरैभन्दा धेरै विदेशी टिमसँग खेल्ने अवसर पनि जुट्नैपर्छ, त्यो पनि आफूभन्दा बलियाहरूविरुद्ध । यति भयो भने त्यस्तो प्रश्नको उत्तर पनि आउनेछ अनि उपाधि समेत
हात पर्नेछ ।