साप्ताहिक संवाददाता
बानेश्वरको आइप्लेक्स मलमा बिहिबारबाट ‘वान सिनेमाज’ मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले उक्त हलको उद्घाटन गरे । पछिल्लो समय काठमाण्डौं सँगै देशैभरी सुविधासम्पन्न हल संचालनमा आइरहेका बेला नयाँ बानेश्वरमा अर्को हल संचालनमा आएको हो ।
फोके प्रविधि अपनाइएको ‘वान सिनेमाज’ हलमा ४ सय १० दर्शक क्षमताका दुई अडिटोरियम छन् । यो हलमा आज शुक्रबारबाट ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शन भएको छ । बिहीबार हलको अवलोकन गर्न सिनेकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिती थियो । रेखा थापा, दीपाश्री निरौला, श्वेता खड्का, जसिता गुरुङ, धिरज मगरलगायतका कलाकारहरुको उपस्थितीमा हलको उद्घाटन गरिएको हो ।
बिहीबार सिनेकर्मी र पत्रकारलाई हलमा थ्रीडी र टुडीको भिजुअल डेमो पनि देखाइएको थियो । हलमा सुतेर सिनेमा हेर्न चाहने दर्शकका लागि त्यही अनुरुपको सिट निर्माण गरिएको छ । हलका सञ्चालक तथा चलचित्र निर्माता प्रभु समशेरका छोरा प्रज्वल समशेर राणा र निर्देशक रेनशाले हल संचालनमा ल्याएका हुन् ।
निर्माता प्रज्वल राणाले आइप्लेक्सले निकट भविष्यमा सिनेमा वितरण र ‘वान सिनेमाज’ को फ्रेन्चाइज विस्तार गर्ने पनि जानकारी दिए । उपस्थित अधिकांश पाहुनाले हलको निकै प्रशंसा गरेका थिए ।