समुद्रको छालमा छलाङ मार्दै डुबुल्कीको मज्जा लिन चाहनेहरूका लागि समुद्रको किनारमै पुग्नुपर्ने बाध्यता छैन अब । यो इच्छा पूरा गर्न हजारौं रुपैयाँ खर्चेर विदेश नै पुग्नुभन्दा भैरहवा पुगे हुन्छ ।
धेरैलाई लाग्न सक्छ, समुद्र नै नभएको स्थानमा यो सब कसरी सम्भव हुन सक्छ ? भैरहवाको पर्यटकीय होटल बोधी रेडसनको परिसरमा निर्मित रेडसन वाटर फनपार्कले त्यस्तो इच्छा पूरा गरिदिनेछ । अघिल्लो सातादेखि व्यवसायिक रूपमा सञ्चालनमा आएको यो फनपार्कमा सामुद्रिक छालको मज्जा लिन दिनहुँ घुइँचो लाग्दै आएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्दै उनीहरूको बसाइ लम्ब्याउन समुद्रको झझल्को दिने गरी अत्याधुनिक वाटर फनपार्क निर्माण गरिएको रेडसन वाटर पार्कका अध्यक्ष तथा पर्यटन व्यवसायी प्रमोद यादवले बताए । ‘स्वदेशी तथा विदेशी पर्यटकहरूबीच नयाँ पर्यटकीय गन्तव्य प्रस्तुत गर्न यो फनपार्कको निर्माण गरिएको हो,’ यादवले भने ।
फनपार्क निर्माणअन्तर्गत पहिलो चरणमा १५ करोड रुपैयाँ लगानी भैसकेको छ, जसमा समुद्रको झझल्को दिने गरी निर्माण गरिएको संरचनामा सामुद्रिक छालको अनुभूति दिने किसिमको वेभपुल निर्माण गरिएको छ । यस खालको वेभपुल नेपालमै पहिलो भएको दाबी लगानीकर्ता यादवको छ ।
३५ तथा १५ फिटको स्लाइडिङ, रेन डान्स, लेजि रिभर, बालबालिकाहरूका लागि वेवी स्लाइडिङ, जेट स्प्रे, अम्ब्रेला सावर आदि उक्त फनपार्कमा समावेश छन् भने २ किलोमिटर लामो कृत्रिम नदीमा पाइडल बोटिङको व्यवस्थासमेत उपलब्ध छ । एकपटक टिकट काटेपछि बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म वाटर फनमा समय बिताउन पाइन्छ । यहाँ पर्यटकहरूका लागि रेस्टुराँसहित चारैतिरको दृश्यावलोकन गर्न मिल्ने संरचना तयार पारिएको छ ।
साढे ४ बिघा क्षेत्रफलमा फैलिएको यो फनपार्कलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य स्थल बनाउन अन्य पूर्वाधार तयार गर्दै लगिने र फनपार्क पूर्ण रूपमा सम्पन्न हुँदासम्म कुल लगानी ३० करोड पुग्ने व्यवसायी यादवले बताए ।
पार्क निर्माणको दोस्रो चरणअन्तर्गत हिमालको आनन्द आउने गरी संरचना निर्माण गरिने बताइएको छ । यो पार्कभित्र पर्यटकहरूले हिमपात (स्नोफल) को मज्जासमेत लिन सक्नेछन् । ‘बाहिर ४४–४५ डिग्रीको तापक्रम हुँदा पार्कभित्र ज्याकेट लगाएर घुम्नुपर्ने स्थिति सिर्जना गर्ने योजनामा हामी लागेका छौं,’ यादवले भने, ‘कृत्रिम नदी किनारमा रेल सञ्चालन गरेर पर्यटकहरूलाई रेलयात्राको मनोरञ्जनसमेत प्रदान गरिनेछ ।’