साप्ताहिक संवाददाता
नेपाली महिला फुटबलमा अहिलेसम्मकै सबैभन्दा ठूली स्टार हुन्— सावित्रा भण्डारी । सावित्रा अचेल आफ्नो वास्तविक नामले भन्दा साम्बा नामले चिनिन्छिन् । उनलाई गोल मेसिन पनि भन्न थालिएको छ । तय छ, अबका केही दिनमा उनको नामसँग धेरै कीर्तिमान जोडिनेछ र त्यो कीर्तिमानलाई छुन अरू खेलाडीलाई सजिलो पनि हुनेछैन । यिनै सावित्रा नादेझ्दा कपमा सर्वाधिक गोल गर्ने खेलाडी भइन् । फाइनलमा उनले उज्वेकिस्तानविरुद्ध २ गोल गरेकी थिइन् ।
समग्रमा उनले प्रतियोगितामा ७ गोल गरिन् । लिग चरणमा उनले आयोजक किर्गिस्तानविरुद्ध चार गोल गरेकी थिइन् । यस्तै ताजकिस्तानविरुद्ध पनि उनले एक गोल गरिन् । फाइनलमा गरेको गोलसँगै सावित्रा नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको सूचीमा संयुक्त रूपमा उभिएकी छिन् । अहिलेसम्म उनले ३५ गोल गरिसकेकी छिन् र यत्तिकै गोल यसअघि अनु लामाले गरेकी थिइन् । अब जति बेला नेपाल फेरि मैदानमा उत्रनेछ, सावित्राको पहिलो उद्देश्य हुनेछ— ३६ औं गोल गर्ने । अर्थात नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुने ।
सावित्राले अहिलेसम्म नेपालका लागि ३७ खेल खेलिसकिन् । उनले सन् २०१४ को साफ च्याम्पियनसिपमा भुटानविरुद्ध डेब्यु गर्दै गोलको खाता खोलेकी थिइन् । सावित्राका लागि गोलका आधारमा सबैभन्दा सुखद प्रतियोगिता हो, सिलिगुडीमा सम्पन्न साफ च्याम्पियनसिप । उनले त्यसमा चार खेलमा १२ गोल गरेकी थिइन् । हिरो गोल्डकपमा भारत विरुद्ध प्राप्त जितमा भण्डारीले गरेको गोल सम्भवत: उनलाई बढी
प्रिय हुनुपर्छ ।