साप्ताहिक संवाददाता
क्यानडाको टोरन्टोमा ‘सिने स्टार एवार्ड २०२०’ आयोजना गरिने भएको छ । एवार्डको आज काठमाण्डौमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर घोषणा गरियो ।
आयोजकले आगामी जनवरीको अन्तिम साता उक्त एवार्ड आयोजना गर्ने जनाएको छ । हिल्सा इन्टरटेनमेन्ट प्रा.लि. नेपालको मुख्य आयोजनामा हुने एवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा आयोजना हुनेछ ।
घोषणा कार्यक्रममा हिल्सा इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक प्रतिक बुढाथोकीले पर्यटन बर्ष २०२० लाई लक्षित गरेर एवार्ड आयोजना गर्न लागिएको जानकारी दिए । ‘नेपाली चलचित्रलाई अन्तराष्ट्रिय गर्नका लागी यो एवार्डले महत्वपुर्ण भुमिका खेल्ने छ,’ उनले भने, ‘यो एवार्डलाई नाफा–घाटा जे भएपनि निरन्तरता दिने प्रमुख लक्ष्य छ ।’
घोषणा सभामा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, बोर्ड पुर्व अध्यक्ष तथा बरिष्ठ कलाकार कृष्ण मल्ल, कलाकार संघ अध्यक्ष रविन्द्र खड्का, बरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, पवित्रा आचार्य, सलोन बस्नेत, आमेश भण्डारी, निराजन प्रधान लगायत कलाकारको उपस्थित थियो ।
ड्रिम हाइ नेपाल प्रा.लि. को इभेन्ट ब्यवस्थापन र नेपाल चलचित्र कलाकार संघको विशेष सहयोगमा आयोजना हुन लागेको यो एवार्डमा १२ प्रतिस्पर्धी विधा समावेश गरिएको छ । जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कुल १४ विधामा एवार्ड तथा सम्मान गर्न लागिएको छ ।
२०७५ सालभर प्रदर्शनमा आएका सबैविधाका उत्कृष्ट तीन प्रतिस्पर्धिलाई कार्यक्रममा सहभागी गराउने आयोजकको लक्ष्य छ । मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसीको निर्णायक टिमले सम्बन्धित विधामा उत्कृष्ट मनोनयन चयन गर्नेछ ।