साप्ताहिक संवाददाता
अभिनेत्री आँचल शर्माले अघिल्लो बिहीबार आफ्नो फेसबुकको भेरिफाइड पेजमा एउटा स्ट्याटस लेखिन्— ‘सबैको साथ र यो मायाका लागि धेरै–धेरै धन्यवाद । सबैलाई माया । ट्रेन्डिङको ४ र ५ ।’ चलचित्रको साटो म्युजिक भिडियोमा अत्यधिक व्यस्त हुन थालेकी अभिनेत्री शर्माले अभिनय गरेका दुई नयाँ गीतका म्युजिक भिडियो अघिल्लो साता एक दिनको फरकमा युट्युबमा अपलोड भए ।
पहिले सार्वजनिक भएको गायक आशिष सचिन र गायिका मेलिना राईको ‘एक कान दुई कान मैदान’ तथा भोलिपल्ट अपलोड भएको गायक महेश काफ्ले र गायिका मेलिना राईको ‘माया बिरानी’ लाई दर्शकहरूले अत्यन्त मन पराए । गत आइतबार दुवै यूट्युब ट्रेन्डिङको दोस्रो तथा तेस्रो स्थानमा थिए । ठूला ब्यानरका राम्रा चलचित्रमा अभिनय गरे पनि अभिनेत्री शर्माको हातमा अहिले कुनै चलचित्र छैन ।
त्यसैले पनि उनी आफ्नो अधिकांश समय म्युजिक भिडियोलाई दिन बाध्य छिन् । आँचलको फेसबुक पेज नियाल्ने हो भने उनी हप्तैपिच्छेजसो आफूले अभिनय गरेका नयाँ–नयाँ भिडियोका लिंक सेयर गरिरहेकी हुन्छिन् । चलचित्रको ठूलो क्यानभासलाई छाडेर भिडियोको सानो क्यानभासमा रमाउनु अभिनेत्री शर्माको रहर हो कि बाध्यता, भन्ने कुरा चाहिँ बुझ्न सकिएको छैन ।