साप्ताहिक संवाददाता
साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र उद्योगकी नम्वर वान नायिका हुन् । ड्रिम्सपछि साम्राज्ञीले कहिल्यै पछि फर्किएर हेर्नुपरेन । नाम दाम मज्जाले कमाइरहेकी छिन् । फ्यान फलोइङ लोभलाग्दो छ ।
साम्राज्ञी सोहि कारण पनि खुसी छिन् । ‘हरेक बर्ष एउटा चलचित्र प्रदर्शन भैरहेका छन्, चलचित्रको अफर आइरहेको छ,’ उनले भनिन्, ‘म दुःखी हुनुपर्ने केहि कारण छ जस्तो लाग्दैन ।’ काम गरेका चलचित्रहरुमध्ये अधिकांश चलचित्र हिट छन् । दर्शकले खुबै मन पराएका छन् ।
तथापी, साम्राज्ञीका बारेमा विभिन्न गसिपहरु बेला–बेला मिडियामा प्रकाशन हुन्छन् । उनको व्यक्तीगत जिवनलाई लिएर सामाजिक सन्जालमा हाँसोको पात्र बनाइन्छ । उनले दिएका अभिव्यक्तीलाई कतिपयले युट्युबमा डलरको खेती गरेका छन् ।
सोहि कारण हो, साम्राज्ञीलाई कहिलेकाहिँ मन पोल्छ । दुख्छ । बहकिन्छ । उनले भनिन्, ‘मिडियाकर्मीहरुले अलिकति बुझेर सत्य र तथ्यसहित लेखिदिनुपर्छ । हल्लाको पछि जे पायो त्यो लेख्दा त्यसले प्रत्यक्ष कलाकारहरुलाई असर पर्छ ।’
मिडियाले लेखेका कुरालाई दर्शकले पनि सोहि किसिमले बुझ्ने भएकाले मिडियाकर्मीले सहि र गलत छुट्याएर मात्रै समाचार प्रकाशन गर्न उनले आग्रह गरिन् ।
यसको असर कहिलेकाहिँ आफुलाई पनि परेको साम्राज्ञीको गुनासो छ । चलचित्र ‘रातो टिका निधारमा’ को प्रचार–प्रसारका लागी व्यस्त साम्राज्ञीले साप्ताहिकसँगको छोटो भेटमा थपिन्, ‘अब त जे–जे हल्ला भएपनि कुनै प्रतिक्रिया दिने मुड छैन । बोल्नु सम्म बोलिसकेँ ।’
फरक प्रसंगमा उनले बिस्तारै राम्रा स्क्रिप्टमा काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् । भनिन्, ‘यसै बर्ष निकै भिन्न कथामा निर्माण भएको चलचित्र ‘मारुनी’ मा काम गर्ने अवसर पाएँ, अहिले त्यस्तै राम्रो चलचित्र ‘रातो टिका निधारमा’ मा काम गर्न पाएँ, अरु केहि प्रोजेक्टको पनि अफर आइरहेको छ ।’ आगामी समयमा छानेर मात्रै चलचित्रमा काम गर्ने साम्राज्ञीले बताइन् ।