ध्रुव सिम्खडा ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) का अध्यक्ष हुन् । ग्रामीण पर्यटन प्रवद्र्धनमा सक्रिय सिम्खडाले नेपालका धेरैजसो गाउँ घुमेका छन् । उनले त्यहाँका स्थानीय कला–संस्कृतिलाई नजिकबाट नियालेका छन्, आतिथ्यता ग्रहण गरेका छन् । स्थानीय परिकारहरूको स्वाद उनको जिब्रोमा बसेको छ । साप्ताहिकले सिम्खडासँग नेपालका घुम्नैपर्ने १० गाउँको सूची मागेको थियो । उनले गाउँको खानपान, संस्कृति, सौन्दर्य, हावापानी आदिका आधारमा यो सूची उपलब्ध गराएका हुन् ।
काउलेपानी, लमजुङ
बेसीसहरबाट एक घण्टा उकालो लागेपछि काउलेपानी पुगिन्छ । गाउँको स्वच्छ हावापानी एवं सुन्दरताको दृश्यावलोकन मात्र होइन्, आँखै अगाडि हिमश्रृखलाको स्वाद लिन काउले रोजाइको गन्तब्य हो । काउलेपानी आतिथ्यताका हिसाबले पनि उत्कृष्ट गन्तब्य हो । एक पटक सबैले पुग्नैपर्ने यो ठाउँमा स्थानीय परिकारको स्वादसँगै होमस्टेको आनन्द उठाउन पाइन्छ ।
चित्लाङ, मकवानपुर
काठमाडौंको उकुसमुकुसबाट उन्मुक्तिका लागि नजिकैको सुन्दर गन्तव्यको खोजी गर्नेहरूको पहिलो रोजाइ हुन सक्छ— चित्लाङ । यो रमणीय भ्यालीमा स्वच्छ हावापानीमा रमाउन सकिन्छ । यहाँ कृषि फार्म तथा बाख्रा फार्म पनि छन् । चित्लाङमा होमस्टेसँगै बस्नका लागि होटल तथा रिसोर्टको व्यवस्था समेत छ ।
राइनासकोट, लमजुङ
लमजुङको राइनासकोट एकदम रमणीयस्थल हो । यहाँको हिमालको उत्कृष्ट भ्यू अनि उत्कृष्ट ल्यान्डस्केपले जो कसैलाई मोहित तुल्याउँछ । यो संस्कृतिका हिसाबले पनि एकदमै एकदमै धनी ठाउँ हो । यहाँबाट १ सय ८० डिग्रीमा बुद्ध, मनास्लु, अन्नपूर्ण, पिक ट्वान्टी नाइन, गणेश, माछापुच्छ्रे, लमजुङ आदि १८ वटा हिमशृंखला हेर्न सकिन्छ । पुरातात्विक महत्वको ऐतिहासिक राइनासकोट किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिर र अन्य कोट, किल्ला तथा गढी आदि इतिहास बोकेका स्थलहरू पनि यहाँ छन् । राइनासकोट घुम्न जानेहरूका लागि त्यहाँ होमस्टे उपलब्ध हुन्छ ।
ताङतिङ, कास्की
गुरुङ कला–संस्कृतिले भरिपूर्ण पर्यटकीय गाउँ हो, कास्कीको मादी गाउँपालिकामा पर्ने ताङतिङ गाउँ । यो होमस्टेको ट्रेकिङ ट्रेल सुरु भएको ठाउँ पनि हो । यहाँ एक होमस्टेबाट अर्को होमस्टेमा जान ट्ेरकिङ ट्ेरल बनाइएको छ । यो लोकल खानपिन तथा हिमाली दृश्यका लागि सुन्दर ठाउँ हो ।
अमलटारी, नवलपरासी
थारु संस्कृतिको अमूल्य निधी भएको ठाउँ हो नवलपरासीको—अमलटारी । यहाँ थारु संस्कृतिको जानकारी हासिल गर्न सकिन्छ । थारु नृत्यसहित थारु परिकारको स्वादले मन भुलाउँछ । यहाँ होमस्टेहरू सञ्चालनमा छन् ।
पितलेक, स्याङ्जा
स्याङ्जाको पितलेक गाउँको मुख्य आकर्षण कृषि हो । यहाँ ‘एक गाउँ, एक उत्पादन’ अन्तर्गत कफी खेती गरिएको छ भने ‘घर एक घार’ अन्तर्गत प्रत्येक घरमा मौरी पालन गरिएको छ । गुरुङ, मगर, ब्राह्मण तथा दलितहरूको बसोबास रहेको यो गाउँमा गुरुङ तथा मगरहरूको संस्कृति एवं रहनसहन अर्को आकर्षण हो । यहाँ अग्र्यानिक खानेकुरा पाइन्छ भने लोकल कुखुरा यहाँको विशेषत हो । पितलेकमा होमस्टेमा बस्न सकिन्छ भने होटलहरू पनि बनिरहेका छन् । यहाँ दृश्यावलोकन र वर्ड वाचिङ पनि गर्न पाइन्छ । भनिन्छ, यहाँबाट १२ वटा जिल्ला देखिन्छ ।
मार्मा, मुगु
स्वर्गकी अप्सरा नामले प्रख्यात मुगुको रारा तालको काखैमा अवस्थित गाउँ हो– मार्मा । कर्णालीको जीवनशैलीसँगै राराको सुन्दरता हेर्न जानेहरूका लागि यो गाउँ पहिलो रोजाइ हुनसक्छ । कर्णालीका मानिसहरूले पाहुनालाई उत्कृष्ट आतिथ्यता प्रदान गर्छन् ।
दोरम्बा, रामेछाप
रामेछापको दोरम्बा गाउँ घुमघामका दृष्टिले उत्कृष्ट गन्तव्य हो । यो युद्ध पर्यटनसँग जोडिएको घुम्नैपर्ने ठाउँ हो । दोरम्बा धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिले पनि धनी छ । सैलुङजस्तो मनोरम क्षेत्र पनि यही ठाउँमा पर्छ ।
तनहुँसुर, तनहुँ
तनहुँको तनहुँसुर मगर संस्कृतिका लागि प्रसिद्ध छ । यो दृश्यावलोकनका दृष्टिले पनि धेरै उपयुक्त गाउँ हो । व्यास नगरपालिकामा पर्ने तनहुँसुर चौबिसे राज्यकालमा तनहुँको केन्द्र भएको बताइन्छ । यहाँ दरबारको भग्नावशेष, टुँडिखेल, गढी, हात्ती बााध्ने ढुंगा, गद्दी चौतारो, ढुंगेसाँघु, जारकाटे ढुंगा आदि छन् । तीनवटा थुम्का रहेको यो गाउँबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु आदि हिमश्रृंखला अवलोकन गर्न सकिन्छ भने सूर्योदय र सूर्यास्तको आनन्द उठाउन पाइन्छ । यो गाउँका केही घरमा होमस्टेको व्यवस्था छ ।
गाभरभ्याली, बाँके
बाँकेको गाभरभ्याली स्वदेशी तथा विदेशी पर्यटकहरूको आकर्षकको केन्द्र हो । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित गाभरभ्यालीमा सामुदायिक होमस्टे सञ्चालित छ । जैविक विविधता, थारु संस्कृतिको अवलोकन तथा थारु परिकारको स्वाद लिन यो ठाउँ उपयुक्त हुन सक्छ । गाभरभ्यालीमा ढिक्री, कोदो, ढिडो, घोंघीजस्ता परिकारको स्वाद लिन पाइन्छ भने अनुपम प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिन्छ ।