क्यानोइङ क्रेज

- विष्णु तारुके

आश्विन ७, २०७६

नेपाल आफैंमा छाँगा नै छाँगाले भरिपूर्ण देश हो । एउटा डोरीमा तुन्द्रुङ्ग झुन्डिएर पानीको छाँगामा रुझ्दै ढुङ्गामा चिप्लिँदै तल दहमा झर्ने साहसिक खेल हो— क्यानोइङ । क्यानोइङ गर्न आँट, बुद्धि, विवेक तथा धैर्यता चाहिन्छ भनिन्छ । 

छाँगाको टुप्पाबाट हार्नोस लगाएर फिगरएट, क्याराभेनर र जुमरको सहायताले डोरीबाट ओर्लनुपर्छ । यसमा खेलाडी आफैंले तल झर्ने गति निर्धारण गर्न सक्छन् । उनीहरू छाँगामै मन लागेजति रमाउन पनि सक्छन् । 

यद्यपि विश्वभर फैलँदै गएको साहसिक क्यानोइङका सम्बन्धमा नेपालमा खासै चासो र चर्चा छैन । नेपाल आफैंमा डाँडा–काँडा तथा छाँगा–छहराले युक्त देश हो । यहाँका छाँगामा डोरीको सहाराले आरोहण गर्नु नै क्यानोइङ हो । साहसिक खेलका रूपमा परिभाषित यो खेल विश्वभर व्यवसायिक रूपमा सञ्चालन हुँदै आएको छ । 

नेपालमा भने क्यानोइङको इतिहास त्यति लामो छैन । नेपालमा विदेशी पर्यटकहरूको आगमनसँगै सन १९९७ मा क्यानोइङको सुरुवात भएको नेपाल क्यानोइङ एसोसिएसनका अध्यक्ष राजेन्द्र लामा बताउँछन् । नेपालमा भने व्यवसायिक रूपमा क्यानोइङ सुरु भएको १५ वर्ष मात्र भएको छ । यसबीच नेपालको कास्की, स्याङ्जा, लमजुङ, सिन्धुपाल्चोक, काभ्रे नुवाकोट तथा धादिङका छाँगामा व्यवसायिक क्यानोइङ हुँदै आएको छ । 

हाल नेपालमा ४०/५० जना क्यानोइङ गराउने दक्ष जनशक्ति (गाइड) छन् । क्यानोनरले लगाउने उच्चस्तरको ज्याकेट हेल्मेट आदिको मूल्यका कारण यो खेल केही महँगो पनि हुन्छ । 

के–के बोक्ने 

क्यानोइङ सामान्यत: १ दिनको कार्यक्रम भएकाले धेरै सामग्री आवश्यक पर्दैन, तर कपडाको स्पोर्ट्स जुत्ता, टावेल, पेन्ट, क्याप तथा रेनकोट छुटाउनै नहुने चिज हुन् । 

कति लाग्छ खर्च 

क्यानोइङका लागि प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँभन्दा बढी शुल्क तिर्नुपर्छ । खाना, अन्य शुल्क, यातायात सबै स्थान आदि हेरेर यसको शुल्कको टुङ्गो लाग्ने भए पनि नेपालमा सस्तैमा यो साहसिक खेल खेल्न सकिन्छ । 

के–कस्ता छन् चुनौती 

नेपालमा रहेका अधिकांश छाँगा–झरना राष्ट्रिय निकुञ्जभित्र रहेकाले निकुञ्जले महँगो शुल्क लिने गरेको छाँगा आरोहण संघका अध्यक्ष राजेन्द्र बहादुर लामा बताउँछन् । क्यानोइङ विदेशीलाई आकर्षित गर्ने मुख्य साहसिक खेल भए पनि यो राज्यको प्राथमिकतामा पर्न सकेको छैन । पर्यटन बोर्डले वार्षिक कार्यक्रमबापत दिने न्यून शुल्कले यो खेल धानिँदै आएको भए पनि अन्य स्रोतको अभावमा विस्तारै यो पेसामा लाग्नेहरू पलायन हुँदै गएका छन् ।

प्रकाशित :आश्विन ७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्