साप्ताहिक संवाददाता
अघिल्लो वर्ष प्रदर्शित चलचित्र ‘चंगा चेट’ मा अभिनय गरेपछि अभिनेत्री परमिता आरएल राणा अभिनयबाट करिब–करिब हराएकी थिइन् । कुनै पनि नयाँ नेपाली चलचित्रमा उनको आबद्धता देखिएको थिएन । झन्डै एक वर्षदेखि चलचित्रवृत्तबाट हराएकी यी अभिनेत्रीले अहिले दर्शकलाई सरप्राइज दिने शैलीको काम गरेकी छिन् ।
यसै साता आफ्नो सामाजिक सञ्जालमार्फत पारमिताले आफू दक्षिण भारतीय चलचित्रमा अनुबन्ध भएको जानकारी दिएकी छिन् । अभिनेत्री राणाका अनुसार उनी तेलुगु भाषाको एउटा चलचित्रमा मुख्य अभिनेत्रीका रूपमा अडिसनमार्फत छनोट भएकी हुन् । उक्त चलचित्रमा पारमिताले तेलुगु चलचित्रका सुपरस्टार गोपिचन्दसँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।
‘तेलुगु चलचित्रमा अभिनय गर्न पाउने कुरा सार्वजनिक गर्न पाउँदा अत्यन्त उत्साहित छु, पारमिताले लेखेकी छिन्— ‘मलाई थाहा छैन, म के लेखौं ? किनभने म साँच्चनै नै बोल्न नसक्ने भएकी छु ।’ यसै साता एउटा मन्दिरमा पूजा गर्दै शुभसाइत गरिएको उक्त चलचित्रको छायांकन आगामी वर्षको जुन महिनातिर प्रारम्भ हुने बताइन्छ ।