साप्ताहिक संवाददाता
स्रष्टा–सर्जकको रोयल्टी संकलन र वितरण गर्ने उद्देश्यले करिब १२ वर्ष पहिले संगीत रोयल्टी संकलन समाज नेपालको स्थापना भयो । अहिलेसम्म ६ जना अध्यक्षले यो संस्थाको बागडोर सम्हालिसकेका छन् । यद्यपि स्रष्टा–सर्जकले अहिलेसम्म संकलित रोयल्टी प्राप्त गरेका छैनन् । गीत–संगीत सार्वजनिक रूपमा प्रयोग गर्ने प्रयोगकर्ताहरूसँग रोयल्टी संकलनका लागि करिब ४० वटा क्षेत्र पहिचान गरिएको छ । जसमध्ये अधिकांशले रोयल्टी बुझाउँदै आएका छन् । त्यसमा पनि सबैभन्दा धेरै रोयल्टी यातायातबाट उठ्ने गरेको छ । त्यसको ५० प्रतिशत संगीत रोयल्टी संकलन समाजले गीतकार/संगीतकारलाई रोयल्टी वितरण गर्छ भने बाँकी २५/२५ प्रतिशत संगीत तथा चलचित्र उत्पादक समाज नेपाल एवं प्रस्तोता समाज नेपालले वितरण गर्ने जिम्मा पाएका छन् । यद्यपि यी तीनवटै संस्थाले आजसम्म कलाकारलाई रोयल्टी वितरण गरेका छैनन् ।
आखिर किन बाँडिदैन त रोयल्टी ? भन्ने प्रश्नमा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष महेश खड्का भन्छन्, ‘विभिन्न संस्थाले सार्वजनिक रूपमा गीत–संगीत प्रयोग गरेबापतको रोयल्टी आए पनि कुन कलाकारको गीत–संगीत कहिले, कतिपटक, कहाँ बज्यो भन्ने यकिन डाटा प्राप्त नभएकाले कलाकारलाई रोयल्टी प्रदान गर्न नसकिएको हो ।’ समाजका केही पदाधिकारी भने एउटा मापदण्ड बनाएर रोयल्टी वितरण गर्न सकिने, तर यो विषयमा अध्यक्ष मौन बसेका कारण रोयल्टी वितरण हुन नसकेको आरोप लगाइरहेका छन् । संगीत रोयल्टी संकलन समाज नेपालका उपाध्यक्ष सुवास रेग्मी भन्छन्, ‘कलाकारलाई रोयल्टी वितरण गर्ने कुरामा अध्यक्षको इच्छाशक्ति छैन, रोयल्टी वितरण गरौं भनेर हामीले आवाज उठाउँदा रोयल्टी बाँड्यो भने रोयल्टीको समग्र आन्दोलन धरापमा पर्छ, विरोध हुन्छ, रोयल्टीका विरोधीहरू सलबलाउँछन्, स्रष्टाको रोयल्टी जोखिममा पर्छ त्यसैले पूर्ण रूपमा मापदण्ड बनाएर मात्र रोयल्टी वितरण गर्नुपर्छ भन्नुहुन्छ, यद्यपि मापदण्ड बनाउने कुनै तयारी भने गर्नुहुन्न ।’ साप्ताहिकसँगको कुराकानीमा रेग्मीले भने, ‘पूर्ण सदस्यको साधारण सभाले अरु मापदण्ड बनाऊ, त्यसपछि बाँड तर २० प्रतिशत रोयल्टी योगदानका आधारमा स्रष्टाको सूची बनाएर वितरण गर भनेर कार्यसमितिलाई अधिकार दिएको छ, तर त्यो पनि बाँडिएको छैन ।’ यही विषयमा अध्यक्ष खड्का भन्छन्, ‘योगदानका आधारमा बाँड्दा कसको योगदान कति छ भनेर मूल्याङ्कन गर्न अप्ठ्यारो पर्ने भएकाले त्यसरी नबाँडिएको हो । खड्का थप्छन्, ‘यो विषयमा मैले गीत–संगीत क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूसँग छलफल गरें, तर उहाँहरूले पनि विवाद आउने काम नगरौं भन्ने सल्लाह दिएकाले बीचमै अड्किएको हो ।’ अरूको सिर्जनाको आम्दानीबाट मोटाएर, सबैलाई भाँडेर, स्रष्टालाई मारेर रोयल्टी बाँड्नुपर्छ भनेर कतिपयले आवाज उठाइरहेका छन् तर आफू भने मापदण्ड नबनाइ रोयल्टी वितरण गर्ने पक्षमा नरहेको खड्का बताउँछन् ।
रोयल्टी संकलनको मूख्य संस्था संगीत रोयल्टी संकलन समाज नेपाल हो । यातायातको हकमा यसले रोयल्टी संकलन गरेर कार्यालयको खर्च, कर्मचारीको तलबदेखि सम्पूर्ण खर्च कट्टा गरेर बाँकी रहेको रकमबाट ५० प्रतिशत गीतकार संगीतकारका लागि राख्छ भने २५ प्रतिशत संगीत तथा चलचित्र उत्पादक समाज नेपाल तथा २५ प्रतिशत प्रस्तोता समाज नेपाललाई वितरणको जिम्मा दिएको छ, तर अरू दुई संस्थाले पनि रोयल्टी वितरण गरेका छैनन् । प्राप्त भएको रोयल्टी किन नबाँडेको ? भन्ने प्रश्नमा प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमालको जवाफ छ, ‘रोयल्टी संकलन भएको छ, तर डाटा नखुलेको रोयल्टी भएका कारण वितरण गर्न समस्या भैरहेको छ, यद्यपि डाटा खुलेका रोयल्टी हामीले बाँडेका छौं ।’ त्यसैले अब यकिन डाटा संकलन गरि स्रष्टाहरूको रोयल्टीलाई पारदर्शी बनाउन सफ्टवेयर तथा सर्भर निर्माणमा जोड दिइएको अध्यक्ष हमाल बताउँछन् । हमाल भन्छन्,‘रोयल्टी वितरण गर्ने कुरामा म सधैं सकारात्मक छु, संस्थाको रोयल्टी खातामा सुरक्षित छ, तर हामीले डाटाको अभावमा हचुवाको भरमा रोयल्टी वितरण गर्यौं भने त्यो वैज्ञानिक हुँदैन र हामी ठूलो दुर्घटनामा फस्छौं ।’
संगीत तथा चलचित्र उत्पादक समाज नेपाल पनि डाटा उपलब्ध भएको रोयल्टी वितरण गर्दै आएको बताउँछ । समाजका अध्यक्ष निर्मल ढकाल भन्छन्, ‘हामीले डाटा उपलब्ध भएको रोयल्टी वितरण गर्दै आएका छौं, तर हामीलाई यातायातबाट प्राप्त भएको रोयल्टी डाटाको अभावमा वितरण गर्न सकिरहेका छैनौं, उक्त रकम संगीत रोयल्टी संकलन समाजको खातामा सुरक्षित छ ।’ अब यसलाई पारदर्शी र वैज्ञानिक ढंगले वितरण गर्ने अन्तर्राष्ट्रिय अभ्यास के छ ? त्यसको सफ्टवेयर तथा सर्भर डेभलपका लागि प्राविधिकहरूसँग छलफल भैरहेको ढकाल बताउँछन् ।
यातायातबाट सबैभन्दा धेरै रोयल्टी, तर वितरणका लागि डाटा छैन
करिव दुई वर्ष यता सार्वजनिक सवारी साधन तथा पर्यटकीय सवारी साधनहरूले सार्वजनिक रूपमा गीत–संगीत प्रयोग गरेबापत रोयल्टी बुझाउँदै आएका छन् । ४० वटा क्षेत्रले गीत–संगीतको रोयल्टी दिने भए पनि सबैभन्दा धेरै रोयल्टी यातायातबाटै संकलन हुन्छ । आर्थिक वर्ष ०७४/७५ मा यातायातबाट ६८ लाख ८९ हजार ९ सय रुपैयाँ रोयल्टी संकलन भएको थियो, जसमध्ये २७ लाख ६९ हजार ९ सय २० खर्च भएर उक्त आर्थिक वर्षको ४१ लाख १९ हजार ९ सय ८० रुपैयाँ रोयल्टी बाँकी छ जुन डाटा नखुलेको भनेर वितरण गरिएको छैन । यस्तै आर्थिक वर्ष ०७५/७६ मा १ करोड ४५ लाख ३१ हजार ९ सय रुपैयाँ रोयल्टी संकलन भएको थियो । उक्त रकमबाट ७९ लाख ८२ हजार ८ सय ७ रुपैयाँ खर्च भएर ६५ लाख ४९ हजार ९३ रुपैयाँ बाँकी छ । चालू आर्थिक वर्ष ०७६/७७ को हालसम्म यातायातबाट ३० लाख १९ हजार ३ सय रुपैयाँ रोयल्टी संकलन भएको छ भने ७ लाख ३७ हजार ७ सय ४६ रुपैयाँ खर्च भैसकेको छ । यसरी आर्थिक वर्ष ०७५/७६ को रोयल्टीकै आधारमा हेर्ने हो भने औसत दैनिक ३९ हजार ८ सय १३ रुपैयाँ रोयल्टी संकलन भैरहेको छ ।
सहयोगबाट सफ्टवेयर, कम्प्युटर, बिल प्रिन्ट मेसिन
संगीत रोयल्टी संकलन समाज नेपालले अहिले यातायात कार्यालयका बुथहरूमा सफ्टवेयर, कम्प्युटर, बिल प्रिन्ट सिस्टम आदि उपकरण राखेको छ । यी सामानहरू विभिन्न दाताले दिएको सहयोगमार्फत खरिद गरिएको समाजका उपाध्यक्ष रेग्मी बताउँछन् । यस्ता उपकरणको खरिद प्रक्रियामा आफ्नो निकै सक्रियता रहेको रेग्मीको दाबी छ, तर वैज्ञानिक पूर्वाधार खडा गर्न सक्ने क्षमतावान् कार्यसमितिका सदस्यहरूलाई सधैं अनादर गरिएको रेग्मी आरोप लगाउँछन् ।
रोयल्टीबाटै कार्यालय खर्चदेखि कर्मचारीको पारिश्रमिकसम्म
संगीत रोयल्टी संकलन समाज, संगीत तथा चलचित्र उत्पादक समाज होस् वा प्रस्तोता समाजको कार्यालय खर्च, कर्मचारी पारिश्रमिकदेखि सबै खर्च रोयल्टीमार्फत नै हुने गरेको छ ।
नर्वे सरकारको अनुदानमा कटौती
संगीत रोयल्टी संकलन समाज, प्रस्तोता समाज नेपाल एवं संगीत तथा चलचित्र उत्पादक समाजलाई नर्वेजियन सरकारले बर्सेनि अनुदान प्रदान गर्दै आएको थियो । कार्यालय सन्चालनका लागि भनेर नर्वेजियन सरकारले विगत सात वर्षयता यी तीनवटै सस्थालाई अनुदान दिँदै आएको थियो, तर यो वर्षदेखि उक्त अनुदान पूर्ण रूपमा बन्द गरिएको संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष महेश खड्का बताउँछन् । खड्का भन्छन्, ‘नर्वे सरकारले हामीलाई ७ वर्ष सहयोग गर्यो, अब तिमीहरू आफ्नै खुट्टामा उभिनुपर्छ भनेर यो वर्षदेखि अनुदान दिन बन्द गरेको हो ।’ नर्वे सरकारले वार्षिक ४० लाखबाट सुरु गरेको उक्त अनुदान बर्सेनि कटौती गर्दै आएको थियो ।
यी क्षेत्रबाट उठाइन्छ रोयल्टी
१. रेडियो २. टेलिभिजन ३. इन्टरनेट ४. लाइभ कन्सर्ट ५. होटल/रिसोर्ट ६. प्रदर्शनी ७. यातायात (क) सार्वजनिक सवारी साधनहरू (ख) पर्यटकीय सवारी साधनहरू ८. केवल नेटवर्क ९. दोहोरी, डान्स, गजल सोही प्रकृतिका अन्य रेस्टुराँ १०. डिजिटल मिडिया/रिङ ब्याक टोन ११. वायुसेवा १२. विमानस्थल १३. मल्टिप्लेक्स, मल, आर्केड, सपिङ कम्प्लेक्स, पार्क, सोरुम आदि १४. फन पार्क १५. बलिङ १६. बैंक तथा अन्य कार्यालय १७. चलचित्रमा डिजिटल वा अन्य माध्यम (सिडी, भिसिडी, डिभिडी, मेमोरी कार्ड) बाट बिक्री, डाउनलोड, भाडामा दिने, स्ट्रिमिङ गर्ने १७. क्लबहरूको परिसरमा कर्मचारी सदस्य तथा अन्यको मनोरन्जनका लागि १९. डिपार्टमेन्टल स्टोर शोरुम आदि २०. डान्स स्कुल, कलेज, म्युजिक क्लास २१. डिस्को, व्यवसायिक डान्स हलहरू २२. महोत्सव २३. डाक्टरको क्लिनिक २४. हेल्थ क्लब, जिम हल, एरोबिक्स, सौना वाथ, स्पा, सौन्दर्य क्लिनिक २५. वर्कशप, फ्याक्ट्री २६. हस्पिटल, नर्सिङ होम, मेडिकल रिसर्च सेन्टर २७. ज्युकबक्स २८. कारावोकी (इन्टरनेट) २९. कारावोकी तथा नाइटक्लब ३०. चलचित्र हल ३१. कल सेन्टर, बिपिओ, कार्यालय आदिमा कल होल्डमा संगीत प्रयोग हुँदा ३२. रेस्टुराँ, पब, बार, लञ्च, कफी सप डाइनिङ, लाउन्च, क्याफे, अफिस क्यान्टिन आदि ३३. पार्टी हल, पार्टी प्यालेस, ब्यान्क्वेट ३४. खुद्रा विक्रेता, पसल, भिडियो गेम पार्लर, ब्युटी पार्लर, हेयर ड्रेसर, सलुन, स्टल ३५. खेलकुद, सर्कस, जादु, एक्रोबेट प्रस्तुति ३६. सार्वजनिक हलहरू ३७. शैक्षिक संस्थाहरू ३८. फुटसल तथा रंगशाला ३९. रियालिटी शो वा यस्तै प्रकृतिका गीत–संगीतका कार्यक्रम ४०. विविध ।
२ करोडभन्दा माथि रोयल्टी बाँड्न बाँकी
रोयल्टी वितरण गर्ने जिम्मेवारी बोकेका संगीत रोयल्टी संकलन समाज नेपाल, प्रस्तोता समाज नेपाल एवं संगीत तथा चलचित्र उत्पादक समाज नेपालले अहिलेसम्म विभिन्न क्षेत्रबाट संकलित रोयल्टी वितरण गरेका छैनन् । यी संस्थाले डाटा नखुलेका कारण रोयल्टी वितरण गर्न नसकेको बताइरहेका छन् । अहिले समग्र रोयल्टी संकलन गर्ने जिम्मा संगीत रोयल्टी संकलन समाजले पाएको छ । यसको खातामा हाल करिब २ करोड रुपैयाँभन्दा बढी संकलित रोयल्टी छ । जुन वितरण हुन बाँकी रहेको संगीत रोयल्टी संकलन समाज नेपालको लेखा शाखाले जनाएको छ ।