साप्ताहिक संवाददाता
चलचित्र ‘छ माया छपक्कै’ यहि असोज २४ गतेबाट रिलिजको तयारीमा छ । केहि दिन अघि मात्रै चलचित्रको ट्रेलर सार्वजनिक गरेको चलचित्र यूनिट यतिबेला पोस्टप्रोडक्सनको काममा व्यस्त छ । चलचित्रको सम्पादन कार्य चलिरहदा विश्वका झण्डै ११ वटा देशमा यो चलचित्र इन्टरनेशनल राईट बिक्री भैसकेको छ ।
दिपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्रको इन्टरनेशनल राइट्स निशान बजगाईले खरिद गरेका छन् । चलचित्रको इन्टरनेशनल राइट्स खरिद गर्दै गर्दा आफूले जून जून देशमा चलचित्रको बजार बिस्तार गर्छु भनेर देखेको सपनाको आफू निक्कै नजिक पुगेको निशानले बताएका छन् । यो चलचित्रको यूरोप, अष्ट्रेलिया, हङकङ, कोरिया, गल्फका विभिन्न देशमा इन्टरनेशनल राइट्स बिक्री भैसकेको निशानले बताए ।
यता, चलचित्रका निर्माता रोहित अधिकारी आफूले चलचित्रलाई राम्रो बनाउन निक्कै मेहनत गरिरहेको बताउँछन् । उनी भन्छन् ‘सुन्नेलाई अचम्म लाग्ला, चलचित्र रिलिजको संघारमा आईपुग्दा पनि चलचित्र भित्रका सम्पूर्ण कन्टेन्ड बलियो बनाउन छायांकन पनि गरिरहेका छौँ ।’ चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टलगायतका कलाकारले अभिनय गरेका छन् । रोहित अधिकारीले लगानी गरेको यो चलचित्रको नाफा पछी ५० प्रतिशत शेयर लिने गरी दीपकराज गिरी र दीपाश्री निरौंलाको टिमले सहकार्य गरेका छन् ।
चलचित्रको ट्रेलरले राम्रो प्रतिकृया बटुलिरहेको छ । ट्रेलर भन्दा पहिला सार्वजनिक गरेको चलचित्रको ‘जुनको जुनेली’ बोलको गीतले राम्रो हाइप लिइरहेको छ ।