साप्ताहिक संवाददाता
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेता अंकित शर्मा, रविन्द्र झा तथा चलचित्र निर्देशक अशोक शर्मा लगायत ‘रातो टिका निधारमा’ टिमले गोंगबुस्थित त्रिनेत्र फाउन्डेसनका बालकालिकाहरुलाई दशैको छेको पारेर नयाँ कपडा प्रदान गरेको छ । उक्त अवसरमा खाना समेत खुवाइएको छ ।
कलाकारहरुसँग खाना खान पाउँदा नयाँ पहिरनमा सजिएका बालकालिकाहरु फुरुङ्ग देखिए । चलचित्रको उक्त टिमले त्यहाँ दशैँको टिका र जमरा लगाएर खुसिको माहोल छरेको थियो ।
वेमेन्स रूम्स रिलोटेडको सहकार्यमा असोज १० गते प्रदर्शन हुने चलचित्र ‘रातो टिका निधारमा’ ले फाउन्डेसनलाई सहयोग गरेको थियो ।
सामाजिक कार्यमा सहभागी हुन पाउँदा साम्राज्ञी निकै खुसी देखिइन् । पहिलो पटक आफ्नै हातले अशक्त बालबालिकाहरुका लागी सानो सहयोग गर्न पाउँदा खुसी लाग्यो, साम्राज्ञीले भनिन्, ‘आगामी दिनमा नियमित सामाजिक कार्यक्रममा सहभागीता जनाउने प्रेरणा मिलेको छ ।’
‘दशैँ भन्ने बितिकै नयाँ कपडा र मिठो खाना सम्झिन्छौँ । मेरो बाल्यकालमा नयाँ कपडा लगाउन दशैँ कुर्नु पथ्र्यो, निर्देशक अशोक शर्माले भने, ‘अहिले आएर दशैँको मुखमा सानो सहयोग गर्न पाउँदा आफुलाई भाग्यमानि ठानेको छु ।’
‘रातो टिका निधारमा’ बाट डेब्यु गरेका अभिनेता अंकित शर्माले यस्तो खालको सहयोगले मनमा सन्तुष्टि मिल्ने बताए । अभिनेता रविन्द्र झाले पनि यो किसिमको सहयोग निरन्तर गर्ने जनाए । भने, ‘अहिले मात्रै होइन, आगामी दिनमा पनि गर्नेछु, अरुले पनि यस्ता किसिमका काममा जोड दिनुपर्छ ।’
किरण शर्मा र कृति शर्माले निर्माण गरेको ‘रातो टिका निधारमा’ ले वैदेशिक रोजगारको कथा उठाएको छ । रोजगारका कारण दशैँमा घर फर्किन नसकेका नेपालीको कथा भन्न खोजेको चलचित्रमा रातो टिका कति महत्वपुर्ण छ भन्ने कुरा दर्शाउने निर्देशक अशोक शर्माले बताए ।