साप्ताहिक संवाददाता
अभिनेत्री आयुष्मा कार्कीका लागि चलचित्र नयाँ क्षेत्र हो । म्युजिक भिडियोमा अभिनय गरेपश्चात् उनी चलचित्र ‘प्रेम संसार’मार्फत रजतपटमा ‘डेब्यु’ गर्दैछिन् । चलचित्र ‘प्रेम संसार’ आगामी मंसिर १३ गते प्रदर्शनमा आउँदैछ ।
चलचित्रको पहिलो अनुभव कस्तो रह्यो ?
एकदमै राम्रो । धेरै कुरा सिक्न पाइयो । म म्युजिक भिडियो पृष्ठभूमिबाट आएकाले चलचित्र भिडियोको तुलनामा फरक रहेछ भन्ने अनुभूति भयो ।
‘प्रेम संसार’बाटै किन डेब्यु ?
स्क्रिप्ट मन पर्यो । यो चलचित्रमा अन्तरजातीय प्रेमकथा प्रस्तुत गरिएको छ । मेरो क्यारेक्टर निकै शक्तिशाली छ ।
यो चलचित्रसँग कसरी जोडिनुभयो ?
चलचित्रको सुटिङ अघि कलाकार छनौटका लागि अडिसन भएको थियो । त्यही अडिसनमा पास भएर म यो चलचित्रसँग जोडिएँ ।
चलचित्रमा चुनौती कति छ ?
धेरै नै छ । मेरो त यो पहिलो चलचित्र हो । पहिलो चलचित्रमा चुनौतीभन्दा पनि डर धेरै हुँदो रहेछ । अहिले चलचित्रको काम सकिए पनि दर्शकबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने कुराले डर बढाएको छ ।
चलचित्रमा कस्तो चरित्रमा काम गर्न रुचाउँनुहुन्छ ?
मलाई साधारण किसिमको गाउँले चरित्र मन पर्छ । म गाउँमै जन्मी–हुर्की बढेकाले गाउँले परिवेश नै मन पर्छ ।
ग्ल्यामरस चरित्र मन पर्दैन ?
मन पर्छ, तर ग्ल्यामर भन्दैमा अंग प्रदर्शन गर्ने खालको होइन । ग्ल्यामरको अर्थ अंग प्रदर्शन होइन । कथाले माग्दैमा नांगिनै पर्छ भन्ने पनि छैन ।
तपाईंलाई कस्ता चलचित्र मन पर्छन् ?
मलाई त प्रेमकथात्मक चलचित्र नै मन पर्छन् ।
चलचित्रमा नआएको भए ?
बैंकिङ क्षेत्रमा हुन्थें । म अहिले बानेश्वर क्याम्पसमा व्यवस्थापन विषयमा अध्ययनरत छु । त्यसकारण पनि बैंकमै जागिर खान्थें ।