साप्ताहिक संवाददाता
व्यानर: एए ग्रुप अफ कम्पनीज्
झन्डै २२ वर्ष अघि निर्माण भएको चलचित्र ‘अल्लारे’को गीत ‘रातो टिका निधारमा’ नेपाली पाश्र्व संगीतमा सदाबहार नै मानिन्छ । अशोक शर्माद्वारा निर्देशित उक्त गीतमा राजेश हमाल तथा करिश्मा मानन्धर फिचर्ड थिए । अहिले तिनै अशोकले यही लोकप्रिय गीतको शीर्षक सापट लिँदै निर्देशन गरेको चलचित्र ‘रातो टिका निधारमा’ यसै साता प्रदर्शनमा आएको छ, जसमा उनका छोरा अंकित शर्मा तथा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन् ।
कथा
यो चलचित्रले वैदेशिक रोजगारीको कथा प्रस्तुत गरेको छ । झापाको ग्रामीण परिवेशमा छायांकन गरिएको चलचित्रमा मानिसहरू कसरी विदेशिन्छन् भन्ने कुरा देखाइएको छ । पुरुषसँगै महिलालाई पनि विदेश पठाउन थालिएको विषय उठान गरेको छ ।
कलाकारको अभिनय
यही चलचित्रमार्फत निर्देशक अशोकका छोरा अंकित अभिनयमा ‘डेब्यू’ गर्दैछन् । चलचित्रमा अंकितलाई विदेश पठाउने एजेन्टको चरित्रमा प्रस्तुत गरिएको छ । प्राय: सहरी युवतीको भूमिकामा देखिँदै आएकी साम्राज्ञी यो चलचित्रमा भने गाउँले चरित्रमा प्रस्तुत हुँदैछिन् ।
गीत–संगीत
चलचित्र युनिटले प्रमोसनका लागि केही महिना अघि ‘मेरो माया के हो’ गीत सार्वजनिक गरेको थियो । यो गीत सार्वजनिक हुनासाथ दर्शकले अंकितको नृत्य शैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए । उनले चलचित्रको छायांकनको शुरुवात नै ‘रातो टिका निधारमा’ गीतबाट गरेकाले त्यो गीतमा भन्दा ‘मेरो माया के हो’मा दर्शकले देखाएको प्रतिक्रिया देखेर आफू अचम्मित भएको बताएका थिए ।
निर्देशकको भनाईं
निर्देशक अशोक चलचित्रले नेपाली समाजमा दशक अघिदेखि देखिँदै आएको वैदेशिक रोजगारीको समस्या उठान गरेको बताउँछन् । विशेषत: रोजगारीका लागि गाउँका पुरुष विदेशिदा महिलाहरूले गाउँमा कसैको निधन भए मृतकको लास उठाउनेदेखि लिएर सद्गदको काम पनि कसरी महिलाले नै गर्छन् भन्ने विषय पनि चलचित्रमा समेटिएको छ । निर्देशक शर्मा एउटा ज्वलन्त विषयमा निकै गम्भीरतापूर्वक चलचित्र तयार पारेको दाबीसमेत गर्छन् ।
निर्देशक: अशोक शर्मा
निर्माता: किरण शर्मा तथा कृति शर्मा
कलाकार: अंकित शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, खुस्बु खड्का, बुद्धि तामाङ, राजाराम पौडेल, रविन्द्र झा, बसुन्धरा भुषाल, शिवहरि पौडेल, लक्ष्मी गिरी, अरुणा कार्की तथा जयनन्द लामा ।