दलित उत्पीडनमा महाभोज

- साप्ताहिक संवाददाता

आश्विन १०, २०७६

मृत्यु आफैंमा पीडादायक क्षण हो । कसैको शंकास्पद मृत्यु भए त्यसले परिवार एवं छिमेकीलाई दिने पीडा र त्रास अझ डरलाग्दो हुन्छ । न्यायको पर्खाइमा बस्ने परिवार तथा मृतकले न्याय पाउनुपर्छ भन्ने आवाज उठाउनेहरूलाई मानसिक त्रास पनि उत्तिकै हुन्छ । समाजमा घटिरहने यस्ता घटनामा विशेषत: राजनैतिक नेतृत्वको आँखा परे त्यसको फाइदा उनीहरूले कतिसम्म लिन सक्छन् ?

यो त अनुसन्धानकै विषय होला तर काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा भदौ १४ गतेदेखि मञ्चन भैरहेको नाटक ‘महाभोज’ हेर्ने हो भने सामान्य खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका परिवारहरू कसरी पीडित भैरहेका छन् भन्ने कुरा प्रस्टसँग देखिन्छ, बुझिन्छ ।

नाटकको कथा सितापुर गाउँको दलित बस्तीका एक युवा विश्वेश्वर अर्थात् विशुको लास सितापुरस्थित एक पुलको मुनि भेटिएपछि सुरु हुन्छ । विशुको सद्गत गरेपछि नाटकका अन्य दृश्य बिस्तारै स्टेजमा देखिँदै जान्छन् । प्रतिनिधिसभाको उप–निर्वाचनको छेकोमा विशुको लास भेटिएपछि चुनाव लड्न चाहने उम्मेदवारहरू विशुकै लासमाथि राजनीति गर्न थाल्छन् । 

घटनाका विषयमा अध्ययन गर्न इन्स्पेक्टर रीता चाम्लिङ अर्थात् सिर्जना सुब्बा सितापुरमा खटिन्छिन् । गर्भवती रीताले सूक्ष्म किसिमको अध्ययन गर्दै घटनाको कारण र दोषी पत्ता लगाउँछिन् । नाटकको समापनमा नाटकका कलाकारहरू विशुको लासमाथि बसेर महाभोज खाँदै खुशियाली मनाउँछन् ।

 

नाटकले पत्रकारिता क्षेत्रप्रति पनि व्यंग्य गरेको छ । अपराधका घटनामा पत्रकारहरू कसरी परिचालन हुन्छन् र समाचारलाई कसरी प्रस्तुत गर्छन् भन्ने कुरा नाटकमा देखाइएको छ । मशाल नामक पत्रिकामा कार्यरत पत्रकार तथा सम्पादक मन्त्री तथा नेताको प्रलोभनमा कसरी पर्छन् भन्ने विषय चोटिलो रूपमा प्रस्तुत गरिएको छ । कलाकारको अभिनय, स्टेज सजावट, प्रकाश व्यवस्था, पाश्र्व संगीत अब्बल हुँदा–हुँदै पनि कलाकारले बोल्ने कतिपय संवाद भने केही अश्लील लाग्छ ।

झन्डै ७० को दशकमा भारतीय साहित्यकार मन्नु भण्डारीले लेखेको यो नाटकलाई नेपालीमा विप्लव प्रतीकले अनुवाद गरेका हुन् । अनुप बरालद्वारा निर्देशित यो असोज १२ गतेसम्म चल्ने बताइएको छ ।

प्रकाशित :आश्विन १०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×