साप्ताहिक संवाददाता
गत शुक्रबार प्रदर्शनमा आएको रामबाबु गुरुङको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले यो वर्षकै सर्वोत्कृष्ट व्यवसाय गर्दा आज शुक्रबारदेखि प्रदर्शनमा आउने अशोक शर्माको चलचित्र ‘रातो टीका निधारमा’ प्रत्यक्ष रूपमा प्रभावित भएको छ । दर्शकको रोजाइमा रहेको क्यूएफएक्सले गत शुक्रवार कबड्डीलाई सर्वाधिक ६४ वटा शो दिएको थियो । गत बुधवारसम्म पनि उक्त चलचित्रले क्यूएफएक्समा ४४ वटा शो पाइरहेको छ ।
यो अवस्थामा हिजो बिहिबार तथा आज शुक्रबारसमेत यही चलचित्रले सर्वाधिक सिनेमा हल पाइरहने निश्चित छ । यस्तो अवस्थामा निर्माता–निर्देशक अशोक शर्माको महत्वाकांक्षी चलचित्र ‘रातो टीका निधारमा’ ले क्यूएफएक्समा कति शो पाउने हो भन्ने जिज्ञासा सबैमा छ । यदि कबड्डीको अकुन्पेसी आगामी सातासम्म यस्तै रह्यो भने रातो टीका निधारमालाई गाह्रो पर्ने निश्चित छ ।
त्यसो त निर्देशक शर्मालाई अर्को शुक्रवार बलिउडको ठूलो बजेटको चलचित्र ‘वार’ को डर पनि उत्तिकै छ । यस्तै अवस्था सिर्जना हुन्छ भन्ने अनुमान गरेरै निर्माता–अभिनेता दीपकराज गिरीले दसैंपछि (असोज २४) मात्र ‘छ माया छपक्कै’ लाई प्रदर्शन गर्ने चुनौतीपूर्ण निर्णय लिएका हुन् । अघिल्लो वर्ष शर्माको जय भोले तथा गिरीको छक्का पञ्जा–३ बीच दसैंअघि नै चर्को प्रतिस्पर्धा भएको थियो, जसमा छक्कापञ्जाले जय भोलेलाई पछाडि छाडेको थियो ।