साप्ताहिक संवाददाता
म महँगो भन्दा पनि आफूलाई सुहाउने र आफ्नो बजेट अनुकूलको सामान किन्न रुचाउँछु ।
घनश्याम गौतम, कलाकार
मैले त दसैं–तिहारमा केही किन्ने गरेको छैन । आवश्यक परेका बेला किन्ने हो ।
रवीन्द्र सिंह बानियाँ, चलचित्रकर्मी
खै, याद भएन हौ †
सत्यराज आचार्य, गायक
आरएक्स १ सय ५० सिसिको मोटरसाइकल टेकुको शोमा गएर किनियो । पैसा पनि कत्ति महँगो...बाफ रे बाफ...तै पनि मरेर के नै लानु छ र भन्दै चित्त दुखाउँदै र खुसी पनि हुँदै किनियो नि...उफ्फ उफ्फ...वाह वाह..।
सचिन रौनियार, गायक
टिम्बरल्यान्डको फिदरको ज्याकेट किनेको थिएँ, ठमेलमा ।
कृष्णदेव रुपाखेती, टेलिभिजनकर्मी
ठ्याक्कै दसैंकै लागि भनेर सपिङ नगरेको धेरै भएछ । दुई वर्ष अघि काठमाडौंमा किनेको चाँदीको बाला नै अहिलेसम्मको महँगो दसैं सपिङ होला ।
निकेश खड्का, निर्देशक
त्यस्तो महँगो र लायकको सामान त किन्ने मौका पाइएको छैन आजसम्म । सामान्य सामानहरूमै दसैं टर्यो ।
नवल नेपाल, निर्देशक
अहिलेसम्म मैले दसैंमा किनेको महँगो सामान भनेको अघिल्लो दसैंमा किनेको मोबाइल हो । अष्ट्ेरलियाको सिड्नीमा आईफोन किनेको थिएँ, त्यस्तै १ लाख ६० हजार रुपैयाँ जति परेको थियो ।
आशिष सचिन, गायक
मैले दसैंमा किनेको महँगो सामान भनेको मैले चढ्ने कार हो । सन् २०१३ मा मैले हुन्डाइको टक्सन किनेको थिएँ, चपली हाइट चलचित्रबाट कमाएको पैसाले ।
अर्जुन कुमार, चलचित्रकर्मी
मैले केही वर्षअघिको दसैंमा काठमाडौंको न्युरोडमा ९ हजार रुपैयाँको एउटा घडी किनेको थिएँ ।
राम अविरल, गीतकार
जावलाखेलको एडिडासको शोरुमबाट १५ हजार रुपैयाँमा स्पोर्ट्स जुत्ता किनेको थिएँ ।
उमेश खड्का, कलाकार
यसै पटक कमेडी च्याम्पियनको सेट डेकोरेसन गर्ने सामान किनियो, तीमध्ये डेकोरेसन लाइट्स धेरै महँगो पर्यो ।
विशाल भण्डारी, निर्देशक
दसैंको मौका पारेर मैले पल्सर बाइक किनेको थिएँ, टेकुमा ।
अमित पोखरेल, अभिनेता
यही दसैंंमा किने एउटा नयाँ जीप ।
जयकिसन बस्नेत, अभिनेता
करिब १२ वर्षअघि मैले दसैंमा ५ हजार रुपैयाँको कुर्था किनेकी थिएँ । कालो रंगमा केही ह्याण्ड वर्क गरिएको त्यो कुर्था किनौं कि नकिनौं भन्ने दोधारमै किनें, पछि ठिकै लाग्यो ।
नीरु खड्का, कलाकार
जमानामा मोबाइल सेट किनेको थिएँ । अहिले सम्झिँदा दसैमा किनेको महँगो सामान त्यही नै हो कि, नत्र सामान किन्न दसैं नै किन कुर्नु ?
भरत सिटौला, गायक
मैले दसैंमा किनेको महँगो सामान जुत्ता हो । त्यो बेन्ट्लीको जुत्ता थियो । त्यो जुत्ता मैले बेन्ट्लीको शो रुम दरबारमार्गमा किनेको थिएँ ।
सरोज प्याकुरेल, संगीतकार
दसैंकै लागि भनेर त अहिलेसम्म केही किनेको छैन । दसैंभन्दा पनि आवश्यकता परेका बेला किन्ने गरेको छु ।
भीम लिम्बू, गायक
आजभन्दा तीन वर्षअघि कार्यक्रमका सिलसिलामा कोरिया गएका बेला सिवोल सिटिमा किनेको जिन्सको ज्याकेटलाई ८ हजार ५ सय रुपैयाँ (करिब ८५ हजार वोन) परेको थियो । अचम्म, नेपाल आएर त्यो ज्याकेट लगाएर ऐनामा हेरेको त घर रंगाउँदा धेरैपटक लगाएर खुइलिएको अनि रंग पोतिए जस्तो पो लाग्यो भन्या ।
नरहरी प्रेमी, संगीतकर्मी
पहिले–पहिले दसैंमा खर्च हुने भनेकै खसीमा हुन्थ्यो, १२–१३ हजार खर्च हुन्थ्यो । अहिले दसैंमा ठूलो खर्च भएको भनेको आईफोन एक्सम्याक्स लिँदा हो ।
श्याम भट्टराई, निर्देशक
दसैंमा सधैं केही न केही सामान किन्नैपर्छ भन्ने मान्यता छ मेरो । महँगो सामानको कुरा गर्दा याद भएकोमा करिब एक दशकअघिको दसैंमा बाइक किनेको थिएँ । त्यो मेरो पहिलो सवारी साधन थियो ।
रुपक डोटेल, गायक
प्राय: दसैंमा केही न केही किन्नैपर्छ । ठ्याक्कै कुन सामान चाहिँ महंगो मूल्यमा किनियो भन्ने कुराचाहिँ याद आइरहेको छैन ।
गम्भीर विष्ट, कोरियोग्राफर
किनेको भन्दा पनि पोहोर सालको दसैंमा धादिङबाट एक जना सुत्केरीको उद्धार गर्दा १ लाख ३० हजार रुपैयाँ लागेको थियो ।
दीपक सिलवाल, समाजसेवी
अघिल्लो वर्षको दसैंमा गाडी नै किनियो । यो नै अहिलेसम्मको सबैभन्दा महँगो दसैं सपिङ हो ।
अरुण रेग्मी, चलचित्रकर्मी
पोहोर सालको दसैंमा किनेको च्याङ्ग्राको मासु । महाराजगन्ज, चक्रपथमा किनेकी थिएँ, निकै महँगो परेको थियो ।
अंशु थापा, कलाकार
यसपटक दसैं सपिङ गर्ने पैसा नै आएको छैन, त्यसैले अहिलेसम्म केही किनेको छैन । अघिल्ला वर्षहरूको दसैंमा त के–के किनियो–किनियो, सम्झना छैन ।
अनन्दप्रसाद मैनाली, चलचित्रकर्मी
जब म आफ्नो जन्मस्थान बाग्लुङमा थिएँ, मेरा लागि महँगो अनि खुसीको क्षण पनि त्यही थियो, जब मैले दसैंकै बेला पहिलो बाइक लिएको थिएँ । त्यति बेला भरखर २ सय २० सीसीको पल्सर बजारमा आएको थियो । मूल्य पनि त्यत्ति नै ।
निर्मल सेन्चुरी, अभिनेता
त्यस्तो महँगो केही किनेकी छैन ।
उषा खड्गी, मिस नेपाल–२०००
दसैंको बेला मुम्बईमा लेहेंगा किनेकी थिएँ, निकै महँगो परेको थियो ।
सृष्टि खड्का, अभिनेत्री
अहिलेसम्म दसैंका लागि नै भनेर त्यस्तो महँगो सपिङ गरेको मलाई याद छैन । महँगो भन्दा पनि बाल्यकालमा जे किने पनि त्यो एकदम बहुमूल्य चाहिँ लाग्थ्यो ।
माण्डवी त्रिपाठी, गायिका
सोफा नै भन्नु पर्ला । डिल्लीबजारमा किनेको थिएँ ।
रवि सिंह, मोडल
गत वर्षको दसैंमा अष्ट्रेलियामा ६५ हजार रुपैयाँमा किनेको घडी थियो मेरो महँगो सपिङ ।
सविन श्रेष्ठ, अभिनेता
कक्षा ९ मा पढ्दा बुवाले दसैंअघि किनिदिनु भएको पुस्तक तथा कपिहरू मेरो लागि सधैं अमूल्य उपहार छ ।
रेश्मा के बोम्जन, गायिका