साप्ताहिक संवाददाता
गाँजासंग नेपालीहरूको हजारौं वर्षदेखि धार्मिक एवं आयुर्वेदिक सम्बन्ध रहे पनि अहिले गाँजालाई लागूपदार्थको सूचीमा राखेर आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ । गाँजालाई धेरै देशले लागूपदार्थको सूचीमा राखेर प्रतिबन्धित लगाएका छन् भने केही देशमा नेपालको जस्तै आंशिक खुला पनि छ । यस क्रममा कारोबार गरेको पत्ता लागे पक्राउ गर्ने र केही ठाउँमा सेवन गर्न छुट समेत दिइएको पाइन्छ ।
लागूपदार्थ निर्मूल गर्ने अभियानमा अमेरिका जतिसुकै सक्रिय भए पनि अमेरिकाका केही सहरमा गाँजा सेवन गर्न छुट पनि छ । हालै जर्मनीको एक संस्थाले गरेको अनुसन्धानमा अमेरिकाका विभिन्न सहर गाँजा खपत गर्नेमा विश्वमै अग्रणी देखिएका छन् । जर्मनीको एबिसिडी कम्पनीले गरेको उक्त सर्वेक्षणअनुसार अमेरिकाको न्युयोर्क सर्वाधिक गाँजा खपत गर्ने सहर हो । सन् २०१८ को तथ्यांकअनुसार न्युयोर्कमा ७७ हजार ४ सय ४० किलोग्राम गाँजा खपत भएको थियो ।
सोही सर्वेक्षणअनुसार न्युयोर्कमा अहिले गाँजा प्रतिग्राम १ हजार २ सय १५ रुपैयाँमा बिक्री हुने गरेको छ । गाँजा खपत गर्नेमा पाकिस्तानको कराँची सहर दोस्रो स्थानमा छ । कराँचीमा प्रतिबन्धित लागूपदार्थको सूचीमा रहेको गाँजा ६ सय रुपैयाँ प्रतिग्रामको दरमा ४१ हजार ९ सय ५० किलो खपत भएको थियो । बढी गाँजा खपत हुने तेस्रो सहर भारतको नयाँ दिल्ली हो । दिल्लीमा वार्षिक ३८ हजार २ सय ६० किलोग्राम गाँजा खपत हुन्छ । त्यहाँ बिक्री हुने गाँजाको मूल्य प्रतिग्राम करिब ५ सय रुपैयाँ पर्छ ।
लसएन्जलसमा गाँजा सेवनमाथि प्रतिबन्ध लगाइएको छैन । त्यहाँ सन् २०१८ मा ३६ हजार किलोग्राम गाँजा प्रतिग्राम ९ सय २० रुपैयाँमा खपत भएको थियो । गाँजाका दृष्टिले बढी खपत हुने र सबैभन्दा महँगो सहर इजिप्टको राजधानी कायरो हो । गाँजा सेवन गैरकानुनी मानिने कायरोमा गत वर्ष ३२ हजार ५ सय ९० किलोग्राम गाँजा १८ सय २५ रुपैयाँ प्रतिग्रामका हिसाबले बिक्री भएको थियो ।
गाँजाका लागि सबैभन्दा बढी मूल्य जापानको टोकियोमा तिर्नुपर्छ । गाँजा कारोबारमाथि प्रतिबन्ध लगाइएको टोकियोमा गत वर्ष गाँजा प्रतिग्राम ३ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको थियो । यस्तै गाँजालाई प्रतिबन्धको सूचीमा राखेको दक्षिण कोरियाको सियोल सहरमा प्रतिग्राम गाँजाको मूल्य ३ हजार ६ सय ६५ रुपैयाँ छ । जापानकै क्योटो सहर गाँजाका लागि बढी मूल्य तिर्ने तेस्रो सहर हो जहाँ प्रतिग्राम गाँजाको ३ हजार ३ सय ५० रुपैयाँ पर्छ । हङकङमा पनि गाँजामाथि प्रतिबन्ध लगाइएको छ । हङकङमा गाँजाको कारोबार प्रतिग्राम ३ हजार १ सय ५ रुपैयाँमा हुने गरेको छ । गाँजाको मूल्यका दृष्टिले पाँचौं महँगो सहर थाइल्यान्डको बैंकक हो । आंशिक रूपमा प्रतिबन्धित गाँजा त्यहाँ प्रतिग्राम २ हजार ८ सय ५ रुपैयाँमा उपलब्ध हुन्छ ।
यो सूचीमा नेपालको कुनै कुरा उल्लेख छैन । सबैभन्दा सस्तो गाँजा इक्वेडरको क्विटो सहरमा पाइन्छ । त्यहाँ प्रतिग्राम गाँजाको मूल्य १ सय ५२ रुपैयाँ छ भने कोलाम्बियाको बोगोटामा २ सय ४८, पराग्वेको ओसुनसियोनमा २ सय ५०, इन्डोनेसियाको जाकर्तामा ४ सय २८ तथा पानामाको पानामा सिटीमा ४ सय ३५ रुपैयाँमा १ ग्राम गाँजा उपलब्ध हुन्छ ।