साप्ताहिक संवाददाता
चलचित्र निर्माण गर्न भन्दा प्रदर्शन गर्न गाह्रो भएपछि करोडौं लगानी गर्ने निर्माताहरू यो क्षेत्रप्रति नै विकर्षित हुने सम्भावना बढेको छ जसको पछिल्लो उदाहरण हुन्– दीपकराज गिरी । अघिल्लो साता काठमाडौंमा आयोजित एक समारोहमा गिरीले चलचित्र क्षेत्रको विकृतिको तीतो यथार्थता मात्र व्यक्त गरेनन्, यस्तै अवस्था जारी रहे स्वास्थ्य क्षेत्रका डा.गोविन्द केसी झैं आफू चलचित्र क्षेत्रको डा.केसी बन्न सक्ने धारणा सम्म व्यक्त गरे ।
‘चलचित्र क्षेत्रमा पनि एउटा क्रान्तिको आवश्यकता छ, गिरीको भनाइ थियो— ‘नि:स्वार्थ रूपमा लड्ने डाक्टर केसी जस्तो योद्धा चाहियो र जन्मिन पनि सक्छ ।’ उनले थपे— ‘आवश्यकता पर्यो भने म अनशनसमेत बस्न सक्छु ।’ गिरीको आपत्ति सरकारले नै गरिरहेको नेपाली चलचित्र तथा विदेशी चलचित्रबीचको भेदभावप्रति छ ।
‘नेपाली चलचित्रको सेन्सर गर्नु पर्यो भने दर्जनौं प्रकारका कागजपत्र खोजिन्छ, गिरीको गुनासो छ— ‘तर विदेशी चलचित्र एक रातमै सेन्सर हुन्छ ।’ गिरीले हिन्दी तथा नेपाली चलचित्रलाई समान हैसियत दिइन्छ भने आफू नेपालमा छु कि भारतको यूपी वा एमपीमा छु भन्ने कुरा सोच्न बाध्य हुनुपर्ने दाबीसमेत गरे । गिरीले सोही समारोहमा चलचित्र प्रदर्शनमा राजनीति हावी हुन थालेकाले यसका विरुद्ध चलचित्रकर्मीहरू एकजुट हुनु पर्ने कुरामा समेत जोड दिए ।