साप्ताहिक संवाददाता
आइतबार विश्व स्वास्थ्य संगठनको आह्वानमा संसारभर मुटु दिवस मनाइँदैछ । विश्व स्वास्थ्य संगठनले मुटु दिवस मनाउने अवधारणालाई पहिलो पटक सन् १९९७ मा आफ्नो वार्षिक प्रतिवेदनमा समावेश गरेको थियो । सोहीअनुसार सन् १९९९ मा विश्व स्वास्थ्य संगठनले आफ्नो वार्षिक छलफलमा सेप्टेम्बर महिनाको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रूपमा मनाउने निर्णय गर्यो । पहिलो मुटु दिवस २४ सेप्टेम्बर २००० मा मनाइएको थियो ।
यो वर्षको मुटु दिवस २९ सेप्टेम्बर अर्थात् असोज १२ गते परेको छ । यो वर्षका लागि विश्व स्वास्थ्य ‘आफ्नो मुटुलाई माया गरौं’ नारा तय गरेको छ ।
किन हुन्छ मुटुरोग ?
खासगरी व्यस्त जीवनशैली, अस्वस्थ एवं अनियमित खानपान, शारीरिक कसरतको अभाव जस्ता कारणले मुटुसम्बन्धी समस्या देखा पर्छ । अहिलेको व्यस्त जीवनशैलीका कारण पनि मुटुरोगको जोखिम बढ्दै
गएको छ ।
के भन्छन् विशेषज्ञ ?
मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार
धुम्रपान तथा खैनी सेवन गर्ने व्यक्तिलाई मुटुरोगको जोखिम बढी हुन्छ ।
अल्कोहल तथा मदिरा सेवन पनि मुटुरोगको प्रमुख कारण हो । एकै दिनमा धेरै मदिरा सेवन गर्दा मुटुको रक्तनलीमा रगतको चक्का निर्माण भै ह्दयघातको जोखिम वृद्धि हुन सक्छ ।
४० वर्षको उमेर कटेपछि मुटुरोगको जोखिम अझ बढ्छ । त्यसैले ४० वर्ष पुगेपछि नियमित रूपमा मधुमेह तथा कोलेस्ट्रोलसँग सम्बन्धित रगत जाँच गराउनुपर्छ । यसका साथै हरेक दुई महिनामा एकपटक नियमित रुपमा रक्तचाप जाँच गराइरहनुपर्छ ।
मधुमेह तथा कोलेस्ट्रोल बढेको छ भने नियन्त्रणमा राख्नुपर्छ ।
मधुमेह, रक्तचाप तथा कोलेस्ट्रोलको समस्या भए नियमित औषधी सेवनका साथै खानपान तथा व्यायाममा विशेष ध्यान दिनुपर्छ ।
स्वस्थ आहार सेवन गर्नुपर्छ । खानामा नुन, चिनी तथा चिल्लोको मात्रा कम गर्नुपर्छ । अस्वस्थकर आहार (जंक फुड, फास्ट फुड तथा तयारी खानेकुरामा नुनिला, नदेखिने चिल्लो, कृतिम गुलियो प्रयोग गरिएको हुन्छ । त्यसैले यस्ता खानेकुरा अस्वस्थकर मानिन्छन् ।) बाट टाढै रहनुपर्छ ।
फलफूल तथा सागसब्जीको प्रयोग बढी भन्दा बढी गर्नुपर्छ । सागसब्जीमा सुपाच्य फाइबर हुने भएकाले यसको बढीभन्दा बढी प्रयोगले मुटुरोगको जोखिम कम गर्छ ।
माछामा भएको राम्रो कोलेस्ट्रोलले मुटुलाई फाइदा पुर्याउँछ । त्यसैले साताको दुईपटक सम्म शुद्ध र ताजा माछा सेवन मुटुरोगीका लागि उपयुक्त मानिन्छ । यस्तो माछा सकेसम्म नतारेको र कम तेलमा पकाइएको हुनुपर्छ ।
ड्राई फ्रुट्स ( काजु, ओखर, बदाम, छोहारा, खुर्पानी, किसमिस) को नियमित प्रयोग मुटुका लागि फाइदाजनक मानिन्छ । यसमा भएको राम्रो कोलेस्ट्रोलले मुटुमा आउने रोकावटको सम्भावना घटाउँछ । ड्राईफ्रुट्समा फाइबरको मात्रा उच्च हुन्छ जुन मुटुका लागि फाइदाजनक मानिन्छ ।
खानामा भातको तुलनामा दाल तथा गेडागुडीको मात्रा बढी हुनुुपर्छ । भातको तुलनामा गहँु एवं जौका परिकार मुटुका लागि फाइदाजनक मानिन्छन् ।
शारीरिक गतिविधिमा ध्यान
मुटुरोगबाट जोगिन अथवा मुटुरोग भैसकेको अवस्थामा शरीरलाई सकेसम्म व्यस्त राख्नुपर्छ । प्रशस्त पसिना बग्ने गरी शारीरिक गतिविधिमा संलग्न हुनुपर्छ । स्वस्थ मानिसले प्रतिदिन ३० देखि ६० मिनेटसम्म तीव्र गतिमा हिँड्नु वा हल्का दौडनुपर्छ भने मुटुरोगको जोखिम भएकाले दैनिक कम्तीमा १ घण्टासम्म पसिना बग्ने गरी हिँड्नुपर्छ ।
नियमित रूपमा शारीरिक व्यायाम गर्नुपर्छ । साइकिलिङ, दौड, स्वीमिङ, वाकिङ आदि गर्नुका साथै ट्रेडमिलसमेत प्रयोग गर्न सकिन्छ । यसरी व्यायाम गर्दा आफ्नो शरीर तथा परिस्थिति सुहाउँदो
विधि अपनाउनुपर्छ ।
मुटुरोगीका लागि शरीरको बढी तौल घातक मानिन्छ । त्यसैले शरीरको तौललाई नियन्त्रणमा राख्नुपर्छ । तत्कालको अवस्थामा शरीरको तौल १० प्रतिशतसम्म कम गरे मुटुरोगको जोखिम कम गर्न सकिन्छ । कम तौल भएका मानिसलाई पनि मुटुरोगको सम्भावना त्यत्तिकै हुन्छ । कम तौल भएका मानिसले मुटुरोगको जोखिमबाट बच्न समय–समयमा चिकित्सकसँग परामर्श गरिरहनुपर्छ ।