क्या ! ह्यान्डसम  वाउ ! ब्युटिफुल 

- जनक तिमिल्सिना, सिर्जना दुवाल श्रेष्ठ

आश्विन १४, २०७६

पहिरन मानिसको व्यक्तित्व निर्माणको महत्वपूर्ण साधन हो । वर्ण, उचाइ, मोटाइजस्ता पक्षलाई ध्यान दिएर पहिरन छनौट गरिन्छ । उत्तम पहिरनको छनौट पनि आफैंमा एउटा कला हो । जसले आफू सुहाउने पहिरन छनौट गर्न सक्छ, उही स्मार्ट र टिपटप देखिन्छ । वास्तवमा आफ्नो शारीरिक बनावटसँग पहिरनको उत्कृष्ट म्याचिङ नै पहिरन कला हो–सुन्दर र आकर्षक देखिने कला । लाखौं पहिरनप्रेमी टिपटप युवाहरूबीच साप्ताहिकको यो खोजी एउटा सानो प्रयास मात्र हो । समाजमा यस्ता धेरै स्मार्ट तथा ब्युटिफुल युवायुवती छन्, जो आफूलाई सदैव टिपटिप राख्छन्, जसलाई देख्दै बोली फुट्छ– वाह क्या ह्यान्डसम, क्या ब्युटिफुल । वाहीवाही पाउने पहिरनशैली पछ्याउने अभिनेता, खेलाडी, व्यवसायी, सेलिब्रेटी तथा मोडल युवाहरूका केही प्रतिनिधि पात्र : 

साम्राज्ञी राज्यलक्ष्मी शाह 

युवा पुस्ताकी चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह युवापुस्ताकी फेसन आइकन हुन् । शाह सुन्दरताका कारण जति चर्चामा छिन्, त्यति नै चर्चा उनको पहिरन तथा स्टाइलको हुन्छ । वीरगन्जमा जन्मिएकी २३ वर्षीया साम्राज्ञीको आकर्षक शारीरिक लुकलाई उनले लगाउने पहिरनले अझ उम्दा देखाउँछ । उनी चिटिक्क परेको शरीरलाई आकर्षक देखाउने पहिरन लगाउँछन् । उनी मन परेको जे छ त्यही किन्छिन् । ‘मैले किनमेल गर्ने प्राय: दरबारमार्ग र लबिम मलमा हो,’ शाह भन्छिन्, ‘मिनी, ककटेल तथा वान पिस मलाई मनपर्ने पहिरन हुन् ।’ त्यसबाहेक डेनिमको स्कर्ट, सिम्पल सर्ट तथा स्पोर्टस सुजमा उनी कम्फर्ट फिल गर्छिन् । साम्राज्ञीलाई सेतो तथा कालो रंग बढी मन पर्छ ।

 

रेश्मा भण्डारी 

कलंकी तीन थानाकी रेश्मा भण्डारी राष्ट्रिय भलिबल टिमकी अलराउन्डर हुन् । २५ वर्षीया रेश्मा ५ फिट ८ इन्च अग्ली छिन् । पछिल्ला १२–१३ वर्षदेखि निरन्तर भलिबल खेल्दै आएकी रेश्मा आफ्नो खेलबाट जसरी आम नेपालीको मन जितिरहेकी छिन्, युवापुस्तामाझ उनको फेसनको पनि उत्तिकै चर्चा हुन्छ । पर्सनालिटीलाई केन्द्रमा राखेर पहिरन छनौट गर्ने रेश्मा शरीरमा फिट हुने पहिरन रुचाउँछिन् । रेश्मा भन्छिन्, ‘आफूलाई जे सुहाउँछ, त्यही लगाउने हो ।’ भण्डारी ब्रान्ड नै भने रोज्दिनन् । ‘मन परेपछि किनिहाल्छु,’ उनी भन्छिन्, फेसन आइकन मानेर म कसैलाई फलो पनि गर्दिनँ ।’ पहिरनले लुक्स र पर्सनालिटीलाई प्रभावित गर्ने धारणा व्यक्त गर्ने रेश्मा लुक्स चेन्ज गर्न पहिरन महत्वपूर्ण हुने बताउँछिन् । साडी उनलाई सबैभन्दा मन पर्ने पहिरन हो । 

सन्ध्या केसी

सदा सुकिलो देखिनु अभिनेत्री तथा मोडल सन्ध्या केसीको खास विशेषता हो । स्टाइल र पहिरनको विशेष ख्याल गर्ने सन्ध्या फेसनमा पनि उतिकै कन्सस छिन् । उनी जारा, एचएन्डएम आदि ब्रान्डका पहिरन प्रयोग गर्छिन् । ‘म समयअनुसार सपिङ गैरहेकी हुन्छु र आफ्नो खानपिन तथा व्यायाममा पनि विशेष ध्यान दिन्छु,’ सन्ध्या आफ्नो टिपटप पहिरन सुत्र सुनाउँछिन् । पर्सनालिटी, आकर्षक लुक्स तथा कन्फिडेन्ट देखिन पहिरनको ख्याल गर्नुपर्ने उनको मत छ । 

मनिता देवकोटा

विदेशमा हुर्किएकाले पनि होला पूर्व मिस नेपाल युनिभर्स मनिता देवकोटाको पहिरन शैलीमा विशेष आकर्षण झल्कन्छ । २४ वर्षीया मनिता ५ फिट ७ इन्च अग्ली छिन् । चिटिक्क परेर हिड्ने राम्रो फेसन सेन्स भएकी युवा सेलिब्रेटीमा मनिताको नाम अग्रपंक्तिमा आउँछ । ‘आफूलाई के सुहाउँछ भन्ने उहाँलाई राम्रोसँग ज्ञान छ, आफूलाई फिट हुने सिम्पल पहिरन लगाउनुहुन्छ,’ फेसन डिजाइनर तेन्जिङ छेतेन भुटिया भन्छन् । मनिताको कन्फिडेन्ट एवं पर्सनालिटीका कारण पनि उनले लगाएका पहिरन आकर्षक देखिने भुटियाको मत छ । मनिता स्वंयम भने आफूलाई सिम्पल कम्फर्ट पहिरनमा मन पर्ने बताउँछिन् । उनको बाहिरी आवरण नबिझाउने र आँखालाई एकदमै रमाइलो लाग्ने खालको हुन्छ । स्किनको एकदमै केयर गर्ने भएकाले पनि मनितामा सबै किसिमका पहिरन खुल्छन् । उनी प्राय: कासा ब्रान्डका पहिरन प्रयोग गर्छिन् । 

शिवानी न्यौपाने 

‘आफ्नो राम्रो हेरचाह गर्नुलाई अरूको आदर मान्ने’ विशेषताले नै अम्बे ग्रुपकी डाइरेक्टर शिवानी न्यौपानेलाई फेसन आइकन बनाएको हो । उनी फेसन कन्सस युवा उद्यमी हुन् । अमेरिकाको कोलम्बिया युनिभर्सिटीबाट जर्नालिज्ममा मास्र्टस शिवानी आफूलाई टिपटप राख्न प्रशस्त सपिङ मात्रै गर्दिनन्, एक्सरसाइजमा पनि विशेष जोड दिन्छिन् । त्यसबाहेक पहिरनका लागि उनी डिजाइनरहरू कहाँ पनि पुगिरहन्छिन् । ‘ब्रान्डमा कन्सिसयस त छैन्, तर क्वालिटीमा विशेष ध्यान दिन्छु,’ न्यौपानेले भनिन् । शिवानीको पहिरनको शैलीमा निखार झल्कन्छ । पहिरनमा विशेष सचेतता अपनाएकैले उनको व्यक्तित्व आकर्षण देखिन्छ । 

श्री पाण्डे

कान्तिपुर टेलिभिजनकी समाचारवाचिका श्री पाण्डे स्मार्ट देखिन्छिन् । २५ वर्षीया श्री ५ फिट ३ इन्च अग्ली छिन् । पाल्पाकी उनी आफूलाई टिपटप राख्न अफिस टाइममा फर्मल पहिरन लगाउँछिन् भने बाहिरतिर क्याजुअल पोशाकमा हिँड्छिन् । पहिरन सेन्स उत्कृष्ट हुनुको कारण के हो ? पाण्डे भन्छिन्, ‘जे लगाउँदा कन्फर्टेबल हुन्छ, त्यही लगाउँछु ।’ उनी ठाउँ हेरेर आफ्नो ड्रेसअप तय गर्छिन् । पाण्डेले प्रयोग गर्ने पहिरनमा यही नै ब्रान्ड भन्ने छैन । यद्यपि स्पोर्ट्स र जिमका लागि एडिडास नै प्रयोग गर्छिन् । एपी ब्रान्डकी ब्रान्ड एम्बास्डर भएकाले उनी जुत्ता तथा ब्याग भने त्यही ब्रान्डको क्यारी गर्छिन् । 

सागरिका श्रेष्ठ 

भिजे, आरजे तथा एमसी सागरिका श्रेष्ठ फेसनमा एकदमै कन्सस छिन् । काठमाडौं, बालाजुकी २४ वर्षीया सागरिकाको उचाइ ५ फिट ४ इन्च छ । फेसन, मेकअप तथा ट्रेन्डिङलाई एकदमै ख्याल गर्ने श्रेष्ठ इनोभएट तथा बेहुली बुटिकका पहिरन बढी प्रयोग गर्छिन् । पहिरनसँग बाहिरी अपिरियन्स प्रभावशाली देखाउन उनी स्किन तथा हाइजिनमा पनि विशेष ध्यान दिन्छिन् । ‘म एकदमै धेरै लुगा किन्छु, सपिङमा एकदमै अट्रयाक्सन छ,’ सागरिका भन्छिन् ‘कलर र जुत्तामा पनि विशेष ध्यान दिन्छु ।’ उनलाई पहिरनमा वान पिस तथा गाउन खुबै मन पर्छ । 

प्रदीप खड्का 

युवा स्टार प्रदीप खड्का सधैं टिपटप देखिन्छन् । कुनै निश्चित ब्रान्डलाई फलो नगर्ने भए पनि उनी शरीरलाई म्याचिङ गर्ने पहिरन छनौट गर्छन् । ‘म आफैं नोभेम्बर ब्रान्डको ब्रान्ड एम्बेसडर भएकाले पनि होला, यसका पहिरन राम्रा लाग्छन्,’ खड्का भन्छन् । टिपटप देखिन आफूप्रति केयरलेस गर्न नहुने उनको मत छ । ‘कसरी अरूभन्दा फरक देखिने भन्ने सोच हरेकमा हुन्छ,’ प्रदीप भन्छन् । प्रदीपसँग सधैं टिपटप देखिने कुनै खास फर्मुला भने छैन । ‘टिपटप जो कसैलाई देखिन मनपर्ने कुरा हो, यसले मानिसको व्यक्तित्व झल्काउने काम गर्छ । जसको पनि सबैभन्दा पहिले बाहिरी सुन्दरता झल्कन्छ । त्यसपछि मात्र भित्री सुन्दरता हेरिन्छ,’ उनी थप्छन् । ललितपुरको कुसुन्ती जन्मिएका प्रदीप लर्ड बुद्ध कलेजबाट मार्केटिङमा स्नातकोत्तर गरेका छन् । लियोनार्दो डी कार्पियोलाई आइडियल मान्ने ३० वर्षीय प्रदीप अभिनेतासँगै मोडल तथा चलचित्र निर्माता पनि हुन् ।

 

विमल घर्तीमगर 

विमल घर्तीमगर राष्ट्रिय फुटबल टिमका स्ट्राइकर हुन् । मैदानमा जति उनको स्ट्राइकिङको चर्चा हुने गरेको छ मैदानबाहिर पनि त्यति नै उनको स्टाइलको चर्चा हुन्छ । नवलपरासीका २१ वर्षीय यी युवा स्टार फेसनमा सधैं अगाडि छन् । ५ फिट ९ इन्च अग्ला विमलको आकर्षक शारीरिक लुक्ससँगै टिपटप बनेर हिड्ने उनको स्टाइलिस छविले वाहीवाही पाउने गरेको छ । विमलको शरीर पनि फिट छ । उनी आकर्षक पहिरनमा सधै अरुको नजर तान्न सफल देखिन्छन् । फेसन डिजाइनर रमिला नेमकूल अन्य खेलाडीको तुलनामा विमल बढी फेशन कन्सस देखिने बताउँछिन् । ‘विमल अरु खेलाडीको भन्दा बढी फेसनेबल र स्मार्ट देखिन्छन्,’ रमिला भन्छिन्, ‘राम्रो ड्रेसअप गरेर हिँडेको पाइन्छ ।’ डिजाइनर नेमकूलका अनुसार विमल आउटवेयरभन्दा स्पोर्टवयरमा बढी ह्यान्डसम तथा इन्र्जेटिक देखिन्छन् । 

 

निकोलस पाण्डे

कालिका समूहका कार्यकारी निर्देशक निकोलस पाण्डे पनि फेसन कन्सस युवा उद्यमी हुन् । आकर्षक लुक्स तथा फिट शारीरिक बनावटका पाण्डे चिटिक्क परेर हिँड्छन् । आफूलाई फेसन कन्सस युवाका रूपमा चिनाउने निकोलस पहिरनले मानिसलाई कन्फिडेन्ट दिने बताउँछन् । ‘राम्रो र आकर्षक पहिरनले कन्फिडेन्ट वृद्धि गर्छ,’ पाण्डे भन्छन्, ‘बिजनेस मिटिङहरूमा पनि पहिरनको विशेष महत्व हुन्छ ।’ उनका अनुसार नयाँ मानिसहरूलाई अनुहार, जीउडालपछि इम्प्रेस गर्ने महत्वपूर्ण कुरा नै पहिरन हो । पहिलो इम्प्रेसनमा पहिरनको महत्वपूर्ण भूमिका हुने पाण्डेको धारणा छ । उनी आफूलाई टिपटप राख्न कपाल काटिरहने, एक्साइज गर्ने, धेरैजसो फर्मल सुट लगाउने तथा पहिरन फेरिरहने काम गर्छन् । ब्रान्डले भने उनलाई खासै म्याटर गर्दैन्, तर पाएसम्म राम्रो ब्रान्ड नै छनौट गर्छन् । 

सन्दीप लामिछाने 

पछिल्ला पाँच वर्षमा युवा क्रिकेट सेन्सेसनका रुपमा सन्दीप लामिछानेको उदय गज्जबको छ । चितवनका १९ वर्षीय लामिछाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एरिनामा ‘नाम र दाम’ दुवै कमाउन सफल छन् । अन्तर्राष्ट्रिय एक्पोजरका कारण पनि हुन सक्छ सन्दीपको पहिरनमा पनि निखार आएको छ । सन् २०१६ देखि राष्ट्रिय टिमबाट खेल्दै आएका लामिछानेले अस्ट्रेलियन विगबास, आईपीएलजस्ता विश्वका ठूला क्रिकेट लिग समेत खेलिसकेका छन् । फेसन डिजाइनर एलिसा श्रेष्ठ सन्दीपले फेसन ट्रेण्डलाई फलो नगरेपनि चिटिक्क र स्मार्ट देखिने बताउँछिन् । ‘उनमा पहिरनलाई क्यारी गर्न सक्ने क्षमता छ,’ श्रेष्ठ भन्छिन्, ‘फेसनसम्बन्धी आइडिया लिएर पहिरन फलो गर्न सके उनी अझ स्मार्ट र टिपटप देखिन सक्छन् ।’ 

किरण आचार्य

भू–लक्ष्मी समूहका प्रमुख कार्यकारी अधिकृत किरण आचार्य हमेशा ह्यान्डसम र स्मार्ट देखिन्छन् । आफूलाई स्मार्ट एवं टिपटप देखाउन उनी सरसफाइ एवं आफूलाई सुहाउँदो पहिरन छनौटमा विशेष ध्यान दिन्छन् । चितवनका ३० वर्षीय युवा उद्यमी किरण ५ फिट ८ इन्च अग्ला छन् । ‘टिपटप रहन जिम अनि स्वीमिङ पनि जान्छु,’ आचार्य भन्छन्, ‘एक्साइज नगरी लगाएको लुगा फिट पनि देखिँदैन ।’ सपिङका सौखिन किरण देश–विदेशको सपिङमा निस्किरहेकै हुन्छन् । ब्रान्ड कन्सियस नभए पनि ग्याजेटमा भने उनको विशेष रुचि छ । आचार्यलाई सबैभन्दा मनपर्ने पहिरन भने सुट हो । 

डा. सन्देश नेपाल

सन्देश नेपाल पेशाले चिकित्सक हुन् । सर्जरीमा एमएस गरिरहेका पोखराका यी २८ वर्षीय तन्नेरी फुटबलर डेभिड बेकह्यामलाई फलो गर्छन् । ‘मैले सानैदेखि बेकह्यामको ड्रेसअप पछ्याउँदै गए,’ डा. नेपाल भन्छन्, ‘त्यसैले म पहिरनमा कन्सस भएँ ।’ स्टाइलका लागि कुनै विशेष समय नछुटाउने भए पनि उनी सदा टिपटप भएर निस्कन्छन् । ‘नर्मल सेडुयलमै स्टाइल मेन्टेन गरिरहेको हुन्छु,’ सन्देश भन्छन् । पहिरनले मानिसको पर्सनालिटी तथा कन्फिडेन्ट वृद्धि गर्छ,’ उनी बताउँछन् । आफ्नो ब्यक्तित्व निर्माणका लागि पनि टिपटप हुनुपर्ने उनको धारणा छ । डा. सन्देशले हालैमात्र ‘अँगालैभरि’ गीतको म्युजिक भिडियोमा मोडलिङसमेत गरेका छन् ।

पुष्प खड्का 

अभिनेता तथा मोडल पुष्प खड्का पहिरनको विशेष ख्याल गर्छन् । प्रायजसो केटीएम ब्रान्डका पहिरन प्रयोग गर्ने पुष्प टिपटप देखिन ठाउँअनुसार पोसाक छनौट गर्छन् । चुहा, कैलाली घर भएका ३० वर्षीय खड्का ५ फिट ८ इन्च अग्ला छन् । ‘जीउमा सुहाउने लुगा लगाएको छ भने मान्छे टिपटिप देखिन्छ,’ 

खड्का भन्छन्, ‘ड्रेसअप सही तरिकाले गर्न सक्यो सबैलाई राम्रो देखिन्छ ।’ अहिलेको समयमा अपरियन्स, अट्याक्सन, एट्यान्सन महत्वपूर्ण हुने उनको मत छ । ‘आफूलाई अप्रिसियट गरियोस् भन्ने चाहना सबैमा हुन्छ,’ पुष्प थप्छन्, ‘अपरिन्यस भनेको फष्ट लुक हो, त्यसमा पहिरनको पनि महत्वपूर्ण प्रभाव हुन्छ ।’ खड्काका फेसन आइकन भने बलिउड अभिनेता शाहिद कपुर हुन् । 

 

प्रकाशित :आश्विन १४, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्