साप्ताहिक संवाददाता
धेरैजसो महिलाले आफू दुलही हुँदा लगाएको ड्रेस दोहोर्याएर कमै लगाउँछन् । यो कुरा अधिकांश देश तथा धर्म–सम्प्रदायअनुसार हुने सबैजसो विवाहमा देखिँदै आएको छ । यही कुराको अपवादका रूपमा देखा परेकै कारण ५४ वर्षीया ड्वान विन्डफिल्ड अहिले आकर्षण र चर्चामा छिन् ।
५७ वर्षीय स्टिभसँग विवाह–बन्धनमा बाँधिने क्रममा ड्वानले साढे ४१ हजार रुपैयाँ हालेर दुलहीले लगाउने ड्रेस खरिद गरेकी थिइन् । विवाह सम्पन्न भएपछि उक्त ड्रेस अरूले प्रयोग नगरेको देखेकी ड्वानले भने त्यसलाई पटक–पटक प्रयोग गर्ने सोच बनाइन् । अहिले उनी प्रत्येक सप्ताहन्तमा दुलही बनेका बेलाको ड्रेस लगाएर सहर घुम्ने, घरायसी किनमेल गर्ने आदि काम गर्छिन् ।
दुलहीको ड्रेसमा एक्लै बजार निस्किएपछि उनी मोबाइल फोटोग्राफीको मुख्य विषयसमेत बन्ने गरेकी छिन् । उनको अबको योजना विवाह गरेको पहिलो वर्षको सप्ताहन्तमा लगाएको यो ड्रेस लिलाम गरेर आएको पैसा कुनै कल्याणकारी काममा खर्च गर्नेछ ।