साप्ताहिक संवाददाता
नेपाली चलचित्र भटाभट असफल हुने एउटा भित्री कारणका बारेमा अभिनत्री रेखा थापाले मुख खोलेकी छिन् । चलचित्र निर्माण तथा निर्देशनको अनुभव समेत बटुलेकी थापाले नेपाली चलचित्र प्रदर्शन हुने सिनेमा हलहरूको भौतिक अवस्थाका कारण समेत दर्शकहरू भड्किएको तीतो यथार्थ बताएकी हुन् ।
थापाको आरोप छ— नेपालका अधिकांश सिनेमा हलमा कलाकारको अनुहार नै स्पष्ट देखिंदैन, बस्ने कुर्सी राम्रा हुँदैनन्, सरसफाइ त अझ परको कुरा । सिनेमा हल नै राम्रा नभएपछि पैसा तिरेर सिनेमा हलमा दर्शक कसरी आउँछन् ? रेखाको प्रश्न छ । देशका प्रत्येक गाउँ–सहरमा स्तरीय सिनेमा हल खुल्ने हो भने नेपाली चलचित्रको व्यवसाय ह्वात्तै बढ्ने रेखाको तर्क छ ।
‘नेपाली चलचित्रले राम्रो व्यवसाय नगर्ने एउटा प्रमुख कारण सिनेमा हलको ठिटलाग्दो भौतिक अवस्था पनि हो, रेखाको भनाइ थियो— ‘राम्रोसँग आवाज नबुझिने तथा कलाकारको अनुहार नै नदेखिने सिनेमा हलमा नाक थुनेर बस्नु पर्ने अवस्थाको अन्त्य हुनैपर्छ ।’ देशका विभिन्न सहरमा भएका पुरना सिनेमा हलको स्तर उन्नतिमा ध्यान नदिएका कारण नेपालमा मल्टिप्लेक्स कल्चर विकसित भएको विषयलाई भने रेखाले सकारात्मक मानेकी छिन् ।