दयाहाङ राईको जन्म भोजपुर जिल्लाको खावामा २०३७ साल वैशाख १ गते भएको हो । उनको बाल्यकाल गाउँमै बितेको थियो । २०६० सालदेखि अभिनय क्षेत्रमा आएका राईले हालसम्म ३५ वटा चलचित्रमा अभिनय गरिसकेका छन् भने उनका नाटकको संख्या २५ जति छ । पोखरामा कलाकार राईसँग साप्ताहिककर्मी राजाराम पौडेलको जम्काभेट :
तपाईंको व्यस्तता बढिरहेको, घटेको वा एभरेज के छ ?
घटेको छैन, रेगुलरै छ, पहिले जे थियो त्यसरी नै चलिरहेको छ । सिनेमाचाहिँ अलिकति कम गर्न खोजेको हो, तर पनि त्यस्तै भैरहेको छ, अब फेरि ‘लप्पन छप्पन–२’ को सुटिङमा जानुपर्नेछ, बीचमा केही ग्याप गरेको थिएँ, केही महिना फेरि लगातार सुटिङ गर्छु, अनि फेरी केही समय
ग्याप गर्छु ।
दयाहाङ राईले चलचित्र सेलेक्सन गर्दैन, अफर आयो भने स्वीकार गरिहाल्छ भन्नेहरू पनि छन् नि ?
होइन, सरासर गलत हो, बुझाइमा गलत हो, मैले आफूकहाँ आएका १० प्रतिशत अफर मात्र स्वीकार गरेको छु, ९० प्रतिशतमा मैले काम गरेको छैन । आफूकहाँ आएका सबै स्क्रिप्ट पढेको छु । अक्सर म नयाँ मानिससँग काम गर्न रुचाउँछु, केही मेरा रेगुलर फिल्म मेकर साथी हुनुहुन्छ, उहाँहरूको काम गरिरहेको हुन्छु, बाँकी जो नयाँ कथा बोकेर, नयाँ उर्जा बोकेर आउनुहुन्छ उहाँहरूसँग काम गर्छु । छानेन नै भन्नुचाहिँ गलत हो, कुनै–कुनै बेला सम्बन्धका कारण तथा अन्य केही कारणले पनि काम गरिन्छ ।
अभिनयको भोक मेटियो ?
मेटिएको छैन, सम्भवत: कहिल्यै मेटिँदैन ।
अब कस्तो चलचित्रमा काम गर्न मन छ ?
सोसाइटिका विभिन्न आयाम बोकेका चरित्रमा काम गर्न मन लाग्छ, एउटा त स्टोरी नै हो, हामीले स्टोरी भन्न सकिरहेका छैनौं, राम्रा कथा खोज्ने क्रम जारी नै छ, तर चरित्रहरू निर्माण गरिरहेका छौं, चरित्रहरू खोजिरहेका छौं, सोसाइटिमा देखिएका विभिन्न आयामका, विभिन्न सोच भएका, विभिन्न सिद्धान्त बोकेका चरित्र माथि काम गर्ने प्रयास गरिरहेको छु ।
गर्न नपाएको क्यारेक्टर कुनै छ ?
त्यस्तो लोभ पनि पालेको छैन ।
अब दर्शकले तपाईंका नाटकहरू हेर्न पाउनुहुन्छ कि पाउनुहुन्न नि ?
पाउनुहुन्छ, मेरो पछिल्लो नाटक प्रदर्शन भएको एक वर्षभन्दा बढी भएको छैन । नाटकको माध्यमबाट दर्शकमाझ पुग्ने काम कम होला, तर मण्डला थिएटरको व्यवस्थापनको जिम्मा लिइरहेको छु, त्यसैलाई अघि बढाइरहेको छु, सिनेमा र नाटक दुवै मेरा कर्म हुन, म दुवैलाई छोड्न सक्दिनँ ।
अहिले नाट्य क्षेत्र कसरी अघि बढिरहेको छ ?
नाटक र सिनेमा दुवै अर्थमुखी भएर गएका छन्, हुन त दुवैमा काम गरेर बाँच्नु पनि पर्छ, तर बाँच्नका लागि भन्दा पनि साँच्चिकै चाहेको काम गर्न म नाटक तथा सिनेमामा लागेको हुँ ।
हालको नाट्य गतिविधिप्रति सन्तुष्ट हुनुहुन्छ ?
धेरै युवाहरू नाटकप्रति आकर्षित छन्, परिवारबाट पनि थुनछेक छैन, इच्छा भए नाटक सिक्नुपर्छ, नाटक पढ्नुपर्छ, अभिनय सिक्नुपर्छ, अभिनय पढ्नुपर्छ, छलफल गर्नुपर्छ भन्ने संस्कार बढेको छ । यद्यपि युवाहरूलाई हतारो पनि छ । हुन त अहिले हाम्रो सोसाइटी नै एकदम हतारमा दौडिरहेको छ । कन्फ्युजनहरू त छन्, तर म केमा ढुक्क छु भने दर्शकको हिसाबले होस् वा रंगकर्मीको हिसाबले होस् युवा साथीहरू यसतर्फ आकर्षित हुनुहुन्छ । यसकारण म खुसी छु ।
आफ्नो काममा कत्तिको सन्तुष्ट हुनुहन्छ ?
यो मैले आफैले रोजेको काम, मैले अहिलेसम्म काम गर्न पाइरहेको छु, तपाईंहरूलाई भेट्न–कुरा गर्न पाइरहेको छु, यहाँ भन्दा सन्तुष्टि त केही पनि हुँदैन । मानिसका नितान्त व्यक्तिगत सपनाहरू होलान, केही लोभहरू होलान, ती कुराले असन्तुष्टि देलान, कहिलेकाहीं झन्झट लाग्दो हो, यद्यपि इमान्दरीका साथ भन्नुपर्दा असन्तुष्ट म कहींबाट पनि छैन, पुर्ण रुपमा सन्तुष्ट छु ।
अबको लक्ष्य ?
अहिलेसम्म म आफूलाई र अभिनयलाई बुझ्न तिरै लागिरहेको छु, मैले मेरो बाटो यहाँसम्म भनेर त्यत्रो ठूलो सपना पनि पालेको छैन, तर हो चाहिँ के भने म आफूलाई यति भाग्यमानी मान्छु कि मैले काम गरेको सिनेमाले ठूलो–ठूलो जस पाएका छन् । जसको हिस्सेदार म पनि छु । नेपाली सिनेमाले अन्तर्राष्ट्रिय क्षेत्रमा अस्तित्व देखाउन सकोस् । संसारभर नेपालमा पनि सिनेमा बन्छ, नेपाली सिनेमा यस्तो हुन्छ भन्ने छलफल चलोस् र मैले पनि त्यसमा निरन्तरता दिन पाऊँ ।
यो क्षेत्रमा लागेर यस्तो पनि भोग्नुपर्यो भनेर दु:खी भएको क्षण ?
फिटिक्कै छैन, म आफ्नो काममा इन्ज्वाय गरिरहेको छु । यस्तो समस्या भोग्नुपर्यो भन्नेचाहिँ छैन ।
सुटिङ बाहेकको खाली समय कसरी बिताउनुहुन्छ ?
कोही–कोही बेला परिवारसँग, साथीभाइहरूसँग रमाउने, फिल्म हेर्ने, पुस्तक पढ्ने, थिएटरको काम गर्ने यस्तै छ ।
दर्शकले थाहा नपाएको दयाको विशेष कुरा ?
मैले आफ्नो जीवनको धेरै लामो समय गाउँमा बिताए, १८ वर्षको उमेरसम्म गाउँमै बित्यो, कलेज पनि मैले गाडी नभएको ठाउँमा पढे, गाडी देख्न मैले १७ वर्षको उमेर कुर्नुपर्यो ।
गाउँ कत्तिको जानुहुन्छ ?
हरेक वर्ष जान्छु, मलाई गाउँ पुग्दा बडो आनन्द लाग्छ ।
गाउँको अवस्था अहिले पनि त्यस्तै छ ?
मेरो गाउँ भोजपुरको खावामा गाडी पुगेको छ, सदरमुकाममा गाडी पुगेको त ६–७ वर्ष भयो होला, मेरो गाउँसम्म चाहिँ हालै बाटो पुगेको हो, यद्यपि त्यहाँ रुटको गाडी छैन, रिजर्भ गरेर लग्यो भने घरछेउसम्म गाडी पुग्छ ।
रहर केही छ आफ्नो गाउँमा गर्ने ?
मनमा थुप्रै कुरा छन्, सायद फुर्सदमा बसेर सोच्न नपाएर पनि होला, मैले जानेको कुरा सेयर गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । मैले गरेका–भोगेका कुरा सबै भन्न मन छ ।