साप्ताहिक संवाददाता
एलिसा राई, मोडल
खोटाङ
मेरो जन्मस्थान खोटाङ हो । त्यसैले पनि म खोटाङ पुगिरहेकी हुन्छु । त्यहाँको हावापानी, संस्कृति, डाँडाकाँडा आदिले मलाई मोहनी लगाउँछन् ।
पोखरा
सुन्दर नगरी पोखरा घुम्न मन नलाग्ने कसलाई पो होला र ? पोखरा मेरो पनि एउटा मुख्य घुमघाम गन्तव्य हो । काठमाडौंबाट नजिक, मनोरम प्राकृतिक सुन्दरता, सफाइ आदि कुराले मलाई पोखरा गैरहन मनलाग्छ । अल्छि लागेका बेला म साथीहरूसँग धेरै पटक पोखरा पुगिसकेकी छु ।
मनाङ–मुस्ताङ
हिमालपारिका जिल्ला मनाङ तथा मुस्ताङ मलाई एकदमै मन पर्छन् । त्यहाँ बेग्लै सुुन्दरता छ । मनाङ र मुस्ताङको भौगोलिक बनावट अरू ठाउँभन्दा फरक छ । त्यहाँको अर्गानिक खाना स्पेसल हुन्छ । हिमालका दृश्यहरू आँखै अघि देखिन्छन् । म अहिलेसम्म करिब २–३ पटक
गैसकेकी छु ।
जिरी, दोलखा
दोलखाको जिरीलाई नेपालको स्विट्जरल्यान्ड पनि भनिन्छ । त्यहाँको प्राकृतिक सुन्दरता वास्तवमै स्वीजरल्यान्डको जस्तै छ ।
सौराहा, चितवन
चितवन, सौराहा मेरो घुमघामको गन्तव्यमध्ये एक हो, जहाँ म धेरै पटक पुगिसकेकी छु । सौराहाको जंगल सफारी तथा त्यहाँको खेतमा फल्ने धानले मलाई सधैं लोभ्याउँछन् । सौराहाका होटलहरू पनि असाध्यै राम्रा छन् । यिनै कुराले मलाई सौराहा गैरहन मनलाग्छ ।