गागलदेखि गोठाटार

- किशोर नेपाल

आश्विन १६, २०७६

 

कागेश्वरी–मनोहरा : काठमाडौं सहरको उत्तरी भेगका बासिन्दाले कहिल्यै सोचेका थिएनन्, शिवपुरी रेन्जमा रहेको कागेश्वरी तीर्थस्थल र मनमती (मनोहरा) नदीको फैलिएको फाँट नगरपालिकामा परिवर्तित होला भन्ने, तर कसैले नसोचेको कुरा भयो । नेपालका अन्य भागमा प्रजातन्त्र जहिले आए पनि यो क्षेत्रमा आयो २०६० पछि । यताका मानिस देशका घटनाक्रमसँग ‘अपडेट’ हुन थाले । रोजगारीको खोजी र शिक्षा आर्जनका लागि विदेश जानेहरूको लर्को बढ्न लाग्यो । गाउँमा जनसंख्याको चाप त बढेकै थियो ।

मानिसहरू शिक्षित हुँदै थिए । यो भेगका मानिसहरू सरकारी जागिरमा मात्र होइन, अरू प्राविधिक क्षेत्रमा पनि सक्रिय भए । अरूले गरेको कुरा ध्यानपूर्वक सुन्ने तर आफ्नो कुरा कसै गरे पनि नखोल्ने गजबको अन्तर्मुखी चरित्रका मानिस भकाभक बोल्न थाले । परिवर्तन ‘काँठ’ पस्यो ।

गागलफेदी, सानीटारी, आलापोट, भद्रवास, डाछी, थली, मूलपानी, गोठाटारलगायतका काठमाडौं छेउछाउका बस्तीहरू कुनै बेला काँठ भनेर चिनिन्थे । सहरको छेउमा रहेर पनि सहर बन्न नसकेको, पहाडसँग जोडिएर पनि पहाड बन्न नसकेका यहाँका बस्तीहरूलाई ‘काँठ’ भनिन्थ्यो । सुन्दा कस्तो–कस्तो लागे पनि काँठ शब्द आफैंमा खराब होइन । आजका प्रसिद्ध कथा तथा उपन्यासकार नारायण ढकाल, राजव, इतिहासकार मोहन खनाल र अरु धेरै विशिष्ट नागरिकहरू काँठकै उपज हुन । काठमाडौं सभ्यताका अभिन्न अंग हुन् यहाँका काँठका गाउँ र बस्ती । एकताका यस्तो पनि थियो, काँठबिना सहरको जीवन सम्भव थिएन । धेरै पछिसम्म यो भेगका किसानहरू सहरका टोल–टोलमा दूध पुर्‍याउने व्यवसाय गर्थे । तरकारीको आपूर्ति पनि हुन्थ्यो सहरतिर । अहिले पनि डोकोमा साग हालेर सहर छेउछाउ बेच्न ल्याउने चलन छँदैछ ।

२०७२ वैशाखको विनाशकारी भुइँचालोपछि यो भेगको अर्थतन्त्रमा व्यापक परिवर्तन आयो । जग्गाको भाउ एकाएक बढ्यो । पहिले ‘रोपनी’ पाइने भाउमा ‘आना’ बिक्न थाल्यो । यसले यस भेगको भूगोललाई डाँवाडोल बनायो । मानिसहरू अन्नपात र वस्तुभाउको चक्करमा लाग्न छाडेर प्लटिङमा लागे । एक–डेढ वर्षअघि ‘भ्याचा डोल’ (थुमो फाँट) का एक किसानले साढे ३ करोडमा जग्गा बेचे । उनको इच्छा थियो, ‘तीनतले घर बनाएर बीचको तलामा बक्साजस्तो पलङ ल्याएर डन्न सुत्ने ।’ यहाँका मानिस यस्तै–यस्तै इच्छा पालेर बसेका छन भने यसलाई अन्यथा नलिए हुन्छ । मानिस प्राय: यस्तै इच्छाहरू पालेर बसेका हुन्छन ।

समय यसरी बदलिएको छ कि यो नयाँ सहरमा गाईवस्तु पाल्नेहरूको गणना पिछडिएका मानिसमा हुन्छ । कुनै घरमा पाँच भाइ छन भने आँगनमा पाँचवटा मोटर साइकिल एक लाइनमा उभिएको देखिन्छ । यो भेगमा परम्परागत समाज भत्किएको छ । बाबु–आमा र छोरा–छोरी एकै ठाउँमा बस्ने र एउटै भान्सामा भात खाने चलन मासिएको छ । नयाँ सहरमा पार्टी प्यालेस र क्याटरिङको प्रथा बढ्दै गएको छ । बिहेका लागि केटा–केटीको कुरा छिन्नेदेखि बिहे गरेर दुलही अन्माउने काम समेत पार्टी प्यालेसमै हुन्छ । न्वारन, अन्नप्राशन, व्रतबन्ध र बिहे, जन्मोत्सव र बेला–बेलामा गरिने ‘हर्क बढाइँ’ पार्टी पनि पार्टी प्यालेसमै हुन्छ ।

यहाँका बस्तीहरू कम्तीमा दुई लेनका सडकले जोडिएका छन । गाडी र टिपरको आवागमन निरन्तर हुने गरेको छ । बाटोको संरचना छ । त्यसमा हिंड्ने बाटो छैन । परिवर्तनको राम्रो पक्ष भनेको जंगल जोगिएको छ । घरघरमा ग्याँसका चुल्हा भएकाले दाउराका लागि जंगलमा जाने चलन हराएको छ । बिहेमा दुलहीलाई ग्याँस चुल्हो, वासिङ मेसिन र ओभन दाइजोमा दिने चलन चलेको छ । बस्तीका भीर–पाखामा पहिरो नियन्त्रणका लागि ‘रिटेनिङ’ वाल लगाउने चासो बढेको छ । यसमा एक–दुई करोड खर्च गर्न नगरपालिकाले कन्जुसी गरेको छैन । यो परिवर्तनको नकारात्मक पक्ष भनेको प्रदूषण बढेको छ । फार्मका रूपमा विकसित भएका गोठहरूबाट साना कलिला बाच्छा–बाच्छी हराउन थालेका छन ।

निश्चय पनि कागेश्वरी–मनहरा नगरपालिकाको सिमाना अन्टसन्ट काटिएको छ । नगरपालिका सुन्दरीजलदेखि तानिएर साँखुनजिक इन्द्रायणीसम्म तानिएको छ । जनताका लागि अलिकति अपायक पर्ने खालका बस्तीहरू छन् । अब अहिले यसमा कसैले केही गर्न सक्ने अवस्था छैन । यो नगरपालिकाको मुख्य बसपार्क नगरको उत्तरी क्षेत्रमा अवस्थित गागलफेदीको सातघट्टेमा छ । नगरमा भकाभक क्रसर उद्योग तथा राइस मिल खुल्दैछन् । मूलपानीको क्रिकेट स्टेडियम कागेश्वरी–मनोहरा नगरपालिकाको शान हो । नगरपालिकाले अहिलेदेखि नै विचार पुर्‍याएर स्टेडियमसँग नगरपालिकालाई जोड्न सक्यो भने यो ‘शान’ निकै बढ्नेछ । अन्तत: स्टेडियमको हेरचाहका लागि नगरपालिकाभन्दा राम्रो संस्था कुन हुन सक्छ र ?

नगरपालिकामा चारवटा प्रसिद्ध माध्यमिक विद्यालय छन्– सिद्धि गणेश, आदर्श उच्च, कान्ति भैरव र गान्धी आदर्श । कागेश्वरी महादेवस्थान र मनोहरा नदी सम्पदा क्षेत्रमा पर्छन् । अहिले कागेश्वरी महादेवस्थान स्थानीय पर्यटनमा पनि जम्न थालेको छ । मोटरबाटोको पहुँच एवं बदलिँदो जीवनशैलीले गर्दा मानिसहरू बिदाको दिनमा ‘आउटिङ’ जान रुचाउँछन् । सुन्दरीजल त नेपालकै रमणीय पर्यटन क्षेत्रका रुपमा चिनिएकै छ । नगरपालिकाको ‘डाउनटाउन’चाहिँ गोठाटारलाई नै मान्नुपर्ने हुन्छ । पछिल्लो समयमा गोठाटारका युवायुवतीले कला, साहित्य, संगीत तथा हास्यव्यङ्गका क्षेत्रमा अघि बढ्ने प्रयत्न गरेका छन् । नगरपालिकाले आन्तरिक पर्यटन बढाउने हो भने यहाँका सबै प्रसिद्ध बस्तीमा भएका प्रतिभाहरू पत्ता लगाएर अगाडि बढन प्रोत्साहित गर्नुपर्छ ।

प्रकाशित :आश्विन १६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्