साप्ताहिक संवाददाता
आश्विन १६, २०७६
अन्तर्राष्ट्रिय मार्सल आर्ट्स महासंघ, स्विट्जरल्यान्डद्वारा नेपालका अशोककुमार श्रेष्ठलाई ‘सिनियर मास्टर अफ द इयर–२०१९’ तथा ‘एक्सेलेन्ट एजुकेसनल वर्क अफ मार्शल आर्ट्स–२०१९’ को गोल्ड अवार्डद्वारा पुरस्कृत गरिएको छ । श्रेष्ठलाई मार्शल आर्ट्समा विशिष्ट योगदान पुर्याएका प्रशिक्षक तथा खेलाडीहरूलाई सम्मान गरिने कार्यक्रम ‘स्विस हल अफ अनर–२०१९’ मा पुरस्कृत गरिएको हो ।
श्रेष्ठ नेपाल क्योकुसिन–सेइसिन काईकान कराँते संघका अध्यक्ष हुन् । श्रेष्ठलाई मार्शल आर्ट्सको क्षेत्रमा २५ वर्षभन्दा बढी सेवा गरेको अनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराँते सेमिनारहरूमा सहभागी भै प्रशिक्षक तथा रेफ्रिको भूमिका निर्वाह गरेका कारण सम्मानित गरिएको बताइन्छ । उक्त कार्यक्रममा अमेरिका, युरोप, एसिया आदिका ३६ वटा राष्ट्रका प्रतिनिधि सहभागी थिए ।