साप्ताहिक संवाददाता
दसैंमा पिङ खेल्न पाइने । चंगा उडाउने, नयाँ लुगा लगाउने, मीठो खाने, मामाघर जाने लगायतका कारणले बाल्यकालको दसैंको रौनक युवा तथा वृद्ध अवस्थामा भन्दा फरक हुन्छ । विद्यालय बिदा हुने ठूलाबडाको हातबाट टीका थाप्ने, आशीर्वाद ग्रहण गर्ने, दक्षिणा बटुल्ने आदि कारणले समेत विगतमा यसको छुट्टै रौनक हुन्थ्यो । कलाकार माओत्से गुरुङ बाल्यकालको दसैं रमाइलो हुने अनुभव सुनाउँछन् ।
गायक विनोद वानियाँ बाल्यकालको दसैं अनुभव सुनाउँदै भन्छन्— ‘दसैं सबैलाई मनपर्ने चाड हो । अझ बालबालिकाहरूका लागि त स्पेसल नै हुने भयो । सानो छँदाको दसैं भन्नेबित्तिकै नयाँ कपडा, मीठो खाना, पिङ, टीका आदिको सम्झना आउँछ । गाउँ डुलेर आफन्त र ठूलाबडाको हातबाट टीका लगाउनु तथा आशीर्वाद थाप्नुको मज्जै बेग्लै हुन्थ्यो । त्यसमाथि दक्षिणा पाइँदाको खुसी त वर्णन नै गर्न सकिँदैन ।’
लोकदोहोरी गायिका तुलसी क्षेत्री भने टीका लगाएको, आमाको हात समाएर मामाघर गएको, पिङ खेलेको स्मरणका कारण बाल्यकालको दसैं रमाइलो लाग्ने कुरा बताउँछिन् । पप ब्यान्ड डीमर्चाका मेन भोकलिस्ट भाष्करध्वज श्रेष्ठ भन्छन्, ‘मेरो बाल्यकाल निकै रमाइलो थियो । त्यसमा पनि दसैं जस्तो ठूलो चाडको बेला स्कुल छुट्टी हुने, चंगा उडाउन पाइने, साथीभाइसँग मन्दिर जाने, च्याङ्ग्रा काट्ने जस्ता क्रियाकलापले मन साह्रै रमाउँथ्यो । दसैंको रमाइलो पक्ष भनेको दक्षिण पाउने र त्यो दक्षिणाबाट मिठाई किनेर खाने पनि थियो । त्यो समयमा दसैंको रौनक नै छुट्टै हुन्थ्यो ।’
लोकदोहोरी कलाकार तथा रेकडिस्ट तारानाथ आचार्यको बाल्यकालको दसैं अनुभव छ ‘जान्ने समयदेखि नै दसैंमा स्कुल बिदा हुनासाथ हामी बाबियो संकलन गर्न गाउँ पस्थ्यौं । लठ्ठा बाट्ने काम भने सिनियर दाइ तथा बा लाई अनुरोध गरेर पिङ हाल्न लगाउँथ्यौ । दसैंको दिन बा–आमाको हातको टीका लगाएर मामाघर जान्थ्यौं ।’
गुरुङ चलचित्रका कलाकार राजेश गुरुङले बाल्यकाल मनाएको दसैं अनुभव सुनाउँदै भने, ‘बाल्यकालको दसैं मैले गाउँमै मनाए । दसैं आउने बेलामा घर सिँगाने कमेरो तथा गेरु खोज्न जानुपथ्र्याे । बिहान कमेरो खन्न निस्किए पनि दिनभरिमा २–३ किलो पनि पाउन मुस्किल हुन्थ्यो । भोकको पनि वास्ता नगरी साथीहरूबीच कसले धेरै कमेरो निकाल्ने भन्ने होडबाजी चल्थ्यो । गेरु पाइएन भने रातो माटोले घर लिप्थ्यौं ।
रातो माटो निकाल्ने ठाउँमा सुरुङ भएकाले सुरुङ भत्किएर कतिपय त घाइतेसम्म हुन्थे । एक–दुई जनाको त ज्यान पनि गएको थियो । घर सिँगार्ने काम सकिएपछि नुन–तेल किन्न हामी वालिङ जान्थ्यौं । त्यहाँ नुन–तेल र एक जोर नयाँ कपडा किनेपछि म भकुन्डेसम्म साइकल कुदाउँथे । दुई–तीन घण्टासम्म भोकले लखतरान परेको ज्यानमा ३ रुपैयाँको माछा खाएर ढिक्का नुन अनि तेल बोकी घरतिर आइन्थ्यो । घर गएर आफुले दिउँसो किनेको कपडा हेर्दै अनि सुँघ्दै बसिन्थ्यो । सायद त्यतिबेलाको कपडाको बास्ना अलि छुट्टै हुन्थ्यो कि ?’
लोकदोहोरी गायक तारापति सुवेदी भन्छन्, ‘बाल्यकालमा दसैंको छुट्टै महत्व हुन्थ्यो । मामाघर जाने रहर अति हुन्थ्यो, पिङ खेल्ने साथीभाइ मिलेर घुम्ने, रमाइलो गर्ने, नयाँ लुगा लगाउने कुरा आफ्नो ठाउँमा छँदैछ, बाबा–आमासँग च्याङ्ग्रा काट्ने होइन ? मासु खाने होइन ? भनेर किचकिच गरिन्थ्यो । घरमा रङ रोगन गर्न दिदी–आमा कमेरो माटो लिन टाढा–टाढा जानुहुन्थ्यो, हामीचाहिँ पछि लाग्थ्यो । कति हो कति रमाइलो लाग्थ्यो तर अहिलेको दसैंमा केही महसुस हुँदैन ।’
गायक रामभक्त जोजिजु बाल्यकालको दसैं अनुभव सुनाउँदै भन्छन्, ‘बाल्यकालको दसैंको रौनक भन्नु नै टीका थापेर पैसा जम्मा गर्नु, राम्रो कपडा लगाउनु, मासु खान पाउनु, झन्डा बुर्जा खेलाएर पैसा बटुल्नु अनि साथीभाइहरूसँग मिलेर तास खेल्नु थियो ।’
पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष दीपक समीपले आफ्नो बाल्यकालको दसैंको बेलीविस्तार यसरी लगाए— हामी बेसीको घर (सोतीपसल, लमजुङ) नझर्दैको कुरा हो, गाउँको घरसँगै (देउराली, सूर्यपाल, लमजुङ) पश्चिमपट्टि रहेको बारीमा माङले खाबो गाडेर बाबियो र पाट मिसाएर बनाइएको डोरीको पिङ हालिन्थ्यो । तताहरूसँगै पिङ खेलेको धुमिल–धुमिल सम्झना छ । त्यतिबेला सुरु–सुरुमा पिङ खेल्दा म डराएँ पनि होला तर त्यसको चाहिँ सम्झना छैन । जति सम्झन खोजे पनि मरि गए त्यो स्मृति फिटिक्कै दिमागमा आउँदैन । बरु सम्झना आउँछ त डोरीमा चकटी, थर्की राखेर पिङ खेलेको । पछाडिबाट तताहरूले हल्लाइदिएको । पिङको डोरी खाबो कटेर अलि पर जादा खुट्टा तनक्क तन्काएको, खाबो वर तिर आउँदा खुट्टा खुम्च्याएको ।