संगीतकार शिखर सन्तोष यसपटकको दसैं अस्ट्रेलियामा मनाउँदै छन् । सांगीतिक कार्यक्रममा सहभागिता जनाउन केही समयदेखि अस्ट्रेलियामै भएका संगीतकार सन्तोषले दसैंको बिदामा साथीभाइ तथा आफन्तहरूसँग भेटघाट गर्ने योजना बनाएका छन् । दसैंको बिदालाई खानपिन– मदिरापानभन्दा पनि आपसी भेटघाट र सुख–दु:ख साटेर रमाइलो बनाउन सकिने सन्तोषको बुझाइ छ । त्यसो त दसैंको बिदाकै क्रममा उनी केही नयाँ धुन पनि सिर्जना गर्दैछन् । ‘फुर्सदमा गरिएको कामको परिणाम निकै राम्रो हुने मेरो अनुभव छ, सन्तोष भन्छन्— ‘दसैंका बिदालाई म सिर्जनात्मक काममा पनि खर्च गर्दैछु ।’
गायिका अनिता चलाउने दसैंको लामो बिदामा आफ्नै घर बर्दिया पुग्छिन् । ‘यस पटक पनि म घर जान्छु,’ गायिका चलाउने भन्छिन्— ‘घर पुगेपछि परिवारका सदस्यहरूसँग घुम्न कतै जाने योजना बनेको छ ।’ त्यसो त टीकाको अघिल्ला दिनहरूमा उनी बर्दियामै आयोजना हुने सांगीतिक कार्यक्रममा समेत सहभागी हुँदै छिन् ।
निर्देशक जनक खड्का भन्छन्— ‘सम्पूर्ण आफन्तसँग भेटघाट पाइने यो पर्व बिदा सदुपयोग गर्ने त्यस्तो ठूलो कुनै योजना छैन । निर्देशक खड्काले यसै पटकको विजयादशमीदेखि एउटा नयाँ उपन्यास लेखन प्रारम्भ गर्ने योजना बनाएका छन् । त्यसपछि उनले एस्ट्रोलोजीसम्बन्धी जानकारी लिन ८८ वर्षीय हजुरबुवासँग केही समय बिताउनेछन् ।
संगीतकार सन्तोष श्रेष्ठ आफ्नै गाउँको दसैं रमाइलो हुने धारणा व्यक्त गर्छन् । ‘दसैंको लामो बिदामा काठमाडौंबाट गाउँ फर्किएर ग्रामीण परिवेशमा रमाउन साह्रै मज्जा लाग्छ, संगीतकार श्रेष्ठ भन्छन्— ‘वर्षभरि भेटघाट हुन नपाएका आफन्तसँग भेटघाट गर्ने अवसर पनि यही नै हो ।’ संगीतकार श्रेष्ठले त्यसपछि बाँकी रहेको समयका लागि केही राम्रा पुस्तक किनेका छन्, तीनै पुस्तक पढेर दसैं बिदा सदुपयोग गर्ने योजना बनाएका छन् ।
चलचित्र वितरक गोपाल काजी कायस्थ दसैंको लामो बिदा कुनै पनि कुराको तनाव नलिई रमाइलोसँग सदुपयोग गर्नुपर्ने कुरामा जोड दिन्छन् । ‘तनाव लिनलाई वर्षभरि छँदैछ नि, कायस्थ भन्छन्— ‘दसैंमा माता भगवतीको आशीर्वाद लिँदै आफन्त तथा साथीभाइहरूसँग रमाइलो गर्ने हो, तर त्यस्तो रमाइलोका क्रममा जुवा र मदिराबाट भने टाढै बस्नुपर्छ ।’
‘काम त हामी वर्षभरि नै गरिरहेका हुन्छौं,’ । यस्तै बेला गाउँ जाने, आफन्त एवं साथीभाइहरू भेट्ने, उनीहरूका कुरा सुन्ने, आफ्ना कुरा सुनाउने काम गर्नुपर्छ । ‘दसैंका अघिल्ला दिनहरूमा सांगीतिक कार्यक्रममै व्यस्त छु,’ गायक दीपक लिम्बू भन्छन्— ‘त्यसपछि गाउँ जाने, दुई–चार दिन बस्ने अनि साथीभाइ तथा आफन्तहरूसँग रमाइलो भेटघाट गर्दै दसैं मनाउने योजना बनाएको छु ।’
चलचित्रकर्मी मोहन निरौलाको दसैं मनाउने आफ्नै शैली छ । ‘दसैंमा पहिलेदेखि नै कालीको जप गर्दै आएको छु, यसपटक पनि त्यसलाई निरन्तरता दिन्छु, मन्दिर जान्छु, निरौला भन्छन्— ‘त्यसबाट बचेको समय लेख्न काम गर्छु । यसपटकको दसैं बिदामा एउटा चलचित्रको स्क्रिप्ट पूरा गर्नुपर्नेछ ।’ त्यसबाहेक निरौलाले दसैंमा साथीहरूसँगको भेटघाटलाई नियमितता दिने योजना पनि बनाएका छन् । ‘रमाइलोचाहिँ खासै गर्दिनँ, शाकाहारी भएकाले अलि फरक प्रकृतिको हुन्छ मेरो दसैं,’ निरौला भन्छन्— ‘त्यसैले सिर्जनात्मक काम गरेरै दसैंको बिदा सदुपयोग गर्छु ।’
अभिनेता तथा निर्देशक निर्मल शर्माको दसैं निकै रोचक हुन्छ । ‘हामी दसैंमा मारकाट गर्दैनौं, जुवातासको चलन पनि छैन । दसैंको सप्तमीको दिनसम्म हरेक दिन दुर्गामाताको मन्दिर जान्छु । साँझ छोराहरूसँग घरको छतमा गएर चंगा उडाउँछु । बाल्यकालको जस्तो नयाँ लुगाको खासै रहर छैन । घरमा कसैले खसी नखाने भएकाले दसैंमा हाम्रो घरमा कुखुराको मासु र माछामात्र पाक्छ । अष्टमीको दिन बुवाको एकछाकी पर्छ, नवमीको दिन श्राद्ध,’ शर्मा भन्छन्— ‘त्यसैले टीकाको दिनदेखि मात्र हामीलाई दसैं लाग्छ । हाम्रो परिवार निकै ठूलो भएकाले दसैंको टीकाटालामै धेरै समय बित्छ । ३७ वटा घरमा टीका लगाउन जानुपर्छ ।’ शर्माले दसैंको बिदामा गर्ने कार्यको बेलीविस्तार लगाउँदै भने— ‘१ सय ६० जान त हाम्रो घरमै आउँछन्, ममीका ७ दिदी–बहिनी अनि दिदी–भिनाजु, भान्जा–भान्जी, बुवाका ५ दाजुभाइ अनि उनीहरूका सन्तान, ससुराली परिवार सबैतिर भ्याउनै पर्छ त्यसक्रममा दक्षिणा पनि राम्रै जान्छ तर ससुरालीतिरबाट टन्नै उठ््छ पनि ।’
निर्देशक वसन्त निरौला भने दसैं रमाइलोसँग मनाउनुपर्छ भन्ने पक्षमा छन् । ‘बल्ल–बल्ल वर्षमा एक पटक लामो बिदा हुन्छ, यतिबेला पनि घुमघाम नगरे, आफन्तहरूसँग भेटघाट गर्दै रमाइलो नगरे कहिले गर्ने ? निरौला प्रश्न गर्दै भन्छन्— ‘खाने, पिउने, तास खेल्ने...दसैं भनेकै रमाइलोका लागि त हो नि ।’
गायक भरत सिटौलाले भने दसैंका लागि केही विशेष योजना बनाएका छन् । सिटौला भन्छन्— ‘यसपटकको दसैं बिदामा केही हेर्नै पर्ने सिनेमा हेर्नुपर्नेछ । पुस्तक किनेर थन्क्याउने काम मात्रै भएको छ । त्यसैले केही पुस्तक पढेर सिध्याउँछु । त्यसबाहेक मेरा केही कम्पोज अधुरा छन्, तिनीहरूलाई पनि पुरा गर्नु पर्नेछ । केही घुम्नैपर्ने ठाउँ पुग्ने रहर छ, हेर्दै जाउँm के–के गर्न भ्याइन्छ ?’
अभिनेता नीराजन प्रधानको विचारमा अधिकांश मानिस वर्षभरि कामको व्यस्तताका कारण परिवार तथा आफन्तहरूसँग राम्रोसँग भेटघाट गर्न अथवा कुराकानी गर्न भ्याउँदैनन् । त्यसैले यही दसैं बिदाको अवसर पारेर प्राय: धेरै जसो परिवार एवं आफन्तहरूसँगै रमाउन चाहने प्रधानले अनुभव गरेका छन् । ‘म पनि यो दसैंमा परिवारका सदस्यहरूलाई खुसी बनाउने प्रयास गर्नेछुु,’ प्रधान भन्छन् ।
साहित्यकार डी.आर.भन्छन्— ‘यसपटकको दसैंको बिदामा घुम्न जाने विचार थियो, तर मनले मानेन । आमाको केही महिनाअघि निधन भएकाले यसपटकको दसैंको बिदा पुस्तक पढेरै बिताउने योजना बनाएको छु ।’
संगीतकर्मी प्रकाश लेप्चा भने दसैंको बिदामा अनाथ एवं वृद्धाश्रम पुगेर उनीहरूको सेवामा केही गर्ने योजनामा छन् । ‘भेटघाट र रमाइलो गर्ने कुरा त छँदैछ,’ लेप्चा भन्छन् ।
संगीतकर्मी अराज केशव भन्छन्— ‘दसैं बिदा केवल परिवार, आफन्त एवं गाउँघरका साथीहरू तथा कुलदेवताका लागि छुट्याएको छु ।’ केशव दसैं बिदालाई रमाइलो गरेर सदुपयोग गर्ने पक्षमा छन् । ‘रमाइलो आफैंले नै क्रिएट गर्नुपर्छ, त्यसपछि त्यसै रमाइलो हुन्छ,’ उनको भनाइ छ ।
रेडियो जक्की बबिना पौडेलको तर्क अलि बेग्लै छ । पौडेल भन्छिन्— ‘दसैंमा त थकाइ मार्ने हो ।’ वर्षभरि काम गरेर थाकेको शरीरलाई आराम दिने मौका नै दसैं भएको उनको भनाइ छ । ‘त्यस क्रममा तास खेल्ने अनि खसीको मासु खाने, बबिनाको योजना छ ।
अभिनेता जितु नेपाल फूलपातीको दिनसम्म विदेशमै हुनेछन् । जितु भन्छन्— ‘मलाई फूलपातीपछि मात्र दसैं लाग्नेछ । त्यसपछि भने परिवारका सदस्यहरूसँगै रमाइलो गर्ने हो । जितुका अनुसार दसैंको बिदामा घुमघाम गर्न जाँदा पनि रमाइलो हुन्छ । प्राय: वर्षभरि नै घुमघाम गरिरहने भएकाले यसपटक लेखक अमर न्यौपानेको ‘गुलावी उमेर’ पढेर दशैं बिदाको सदुपयोग गर्ने नेपालले बताए ।
कलाकार तथा सञ्चारकर्मी गुरुङ सोल्टी (नवीन गुरुङ) ठट्यौली शैलीमा भन्छन्— ‘टन्न खाने, मोज गर्ने भनौं भने गर्लफ्रेन्डले भुँडे नहुनु भनेर थ्रेट दिएकी छिन् । त्यसैले दसैंको लामो बिदामा आएर घुम्ने, घुमाउने । यसो गर्दा बिदाको पनि सदुपयोग, सरकारको भ्रमण वर्ष २०२० पनि हिट...आफू पनि फिट, गर्लफ्रेन्डले पनि भन्नेछिन्— डन्ट गो अवे, कम नियर एन्ट सिट...।’
अभिनेता तथा मोडल प्रशान्त ताम्राकारको विचारमा दसैंमा परिवार एवं साथीहरूसँगै समय बिताउनुपर्छ, किनभने वर्षभरिको कामको व्यस्तताका बीच उनीहरूलाई समय दिन पाइएको हुँदैन । ‘त्यस क्रममा मन्दिरमा पूजा, घुमघाम, भेटघाट अनि तास खेलेर पनि रमाइलो गर्ने योजना त छँदैछ, ताम्राकार भन्छन्— ‘रोकिएका काम पूरा गरेर, घर सफा गरेर अनि रिल्याक्स गरेर पनि दसैंको बिदा सदुपयोग गर्न सकिन्छ ।’
अभिनेता दिनेशजंग खड्काका अनुसार दसैंलाई आफन्तहरूसँग भेटघाट गरेर तथा नयाँ ठाउँको भ्रमण गरेर सदुपयोग गर्नुपर्छ । ‘रमाइलोका लागि तासनै खेल्नुपर्छ, मदिरा नै पिउनुपर्छ भन्ने छैन,’ खड्का भन्छन्— ‘मलाई त तासमा रुचि नै छैन, त्यसैले म दसैं बिदामा वर्षभरी भेट हुन नसकेका साथीभाइ एवं आफन्तहरूसँग भेटघाट गर्छु, कुराकानी गर्छु, नपुगेको ठाउँ पुग्ने प्रयास गर्छु ।’
रेडियोकर्मी कल्याण गौतम (डियर कल्याण) ले बुवाको निधन भएकाले अघिल्लो वर्षको दसैं मनाउन पाएका थिएनन् । भरखरै उनले बुवाको वार्षिकी सकेका छन् । ‘त्यसैले यसपटकको दसैंमा परिवारका सदस्यहरू दाङमा जम्मा भएर दसैं मनाउने अनि ८८ वर्षकी आमाको हातको टीका लगाउने कार्यक्रम छ, कल्याण भन्छन्— ‘दसैंलाई घुमघाम अनि भेटघाटले नै रमाइलो बनाउँछ तर, खानपिनमा भने ध्यान दिनुपर्छ ।’ कल्याण यो मौकामा सञ्जीव उप्रेतीको हंशलगायत केही नयाँ पुस्तक पनि पढ्ने विचारमा छिन् ।
अभिनेता विकास चापागाईं लामो समयपछि गृहनगर विराटनगर पुग्दैछन् । धेरै समयपछि आफ्नो जन्मस्थल पुग्दाको रोमाञ्चकता बेग्लै हुने उनको तर्क छ । पुराना साथीभाइ एवं परिवारका सदस्यहरूसँगको भेटघाटले नै दसैंलाई रमाइलो बनाउने चापागाईंले बताए ।
संगीतकर्मी रवि मल्ल आफ्नै गाउँ तनहुँको नाब्रुङ पुग्दैछन् । साथीभाइ तथा आफन्तहरूसँग भेटघाट गरेर दसैं मनाउने मल्लको योजना छ । ‘केही पुस्तक पनि खरिद गरेको छु,’ मल्ल भन्छन्— ‘फुर्सदमा तीनै पुस्तक अध्ययन गर्नेछु ।’
गायक उदेश श्रेष्ठ दसैंको नवमीको दिनसम्मै कन्सर्टमा व्यस्त छन् । त्यसैले उनलाई टीकाको दिनदेखि मात्र दसैं लाग्नेछ । ‘आफन्तहरूकहाँ टीका ग्रहण गर्दैमा दसैं बित्छ जस्तो छ,’ श्रेष्ठ भन्छन्— ‘बाँकी केही दिन साथीभाइ एवं परिवारबीच खाइपिइ गरेर तास खेल्दै बिताउनेछु ।’
मोडल तथा कलाकार दृश्य सुवेदी पनि दसैंको लामो बिदालाई भेटघाटमै सदुपयोग गर्दैछन् । दसैंकै अवसरमा उनले अभिनय गरेको एउटा वेब सिरिज प्रदर्शनमा आउँदैछ भने अर्को एउटा वेब सिरिजका बारेमा पनि यही बिदाकै मौकामा छलफल गर्ने उनको योजना छ ।
चलचित्रकर्मी रोहित अधिकारीको विचारमा दसैंमा घुमघामलाई प्राथमिकता दिनुपर्छ । उनी प्राय: दसैंमा कुनै–कुनै नयाँ स्थानमा पुगिरहेका हुन्छन् । मोडल जोर्डन राजभण्डारी परिवारसँग रमाइलो गर्दै तथा घुमघाम गरेर दसैं बिदाको सदुपयोग गर्दैछन् । राजभण्डारी भन्छन्— ‘परिवारका सदस्यहरू भेला भएर बार्बेक्यु गर्ने, तास खेल्ने अनि नयाँ–नयाँ ठाउँ घुम्न जाने ।’