साप्ताहिक संवाददाता
झन्डै २२ वर्ष अघि निर्माण भएको चलचित्र ‘अल्लारे’को गीत ‘रातो टीका निधारमा’ले दर्शकमाझ जति राम्रो छाप छोडेको थियो, त्यही गीतको शीर्षकमा निर्माण भएको चलचित्र ‘रातो टीका निधारमा’ले खासै राम्रो छाप छोडेन । चलचित्रको कथा आकाश (अंकित) र दृष्टि (साम्राज्ञी) वरपर नै घुम्छ । एक शैक्षिक परामर्श केन्द्रका एजेन्ट आकाश डिपेन्डेट भिसामा विदेश जानेहरूका लागि नक्कली विवाहको प्रबन्ध मिलाइदिन्छन् । यता दृष्टि विदेशमै अध्ययन गर्ने सोचका साथ अमेरिका उड्ने ध्याउन्नमा हुन्छिन् । यही बेला ग्रिन कार्ड होल्डर एक युवासँग विवाह गरेर उनी अमेरिका उड्छिन् । दृष्टिलाई भित्रभित्रै मनपराइरहेका आकाश दृष्टि अमेरिका उडेपछि विरक्तिन्छन् ।
अमेरिकामा पतिसँग बसिरहेकी दृष्टि पतिसँगकै सल्लाहमा स्वदेश फर्किएर गाउँमा केही काम गर्ने योजना बनाउँछिन्, तर अचानक पतिको निधन भएपछि उनी स्वदेश फर्कन्छिन् । दृष्टिले श्रीमान्को इच्छा पूरा गर्न गाउँमै उद्यम गर्नुपर्छ भन्ने उद्देश्यका साथ गाउँमा जागरण अभियान चलाउँछिन् । जसरी भए पनि विदेश जाने योजना बनाइरहेका आकाशलाई भने दृष्टिले जागरण अभियान चलाएको मन पर्दैन । त्यसैले उनीहरूबीच द्वन्द्व सुरु हुन्छ ।
निर्देशक शर्माले बलियो विषयवस्तु समाए पनि कमजोर पटकथा तथा प्रस्तुतिका कारण यो चलचित्र तन्दुरुस्त बन्न सकेको छैन । प्रमुख कलाकारद्वय अंकित एवं साम्राज्ञीको अभिनय पनि जमेको छैन । चलचित्रमा दर्शकलाई सस्पेन्स वा उत्साहित बनाउने न ट्वीस्ट नै छ न त क्लाइमेक्स नै । अंकितको अभिनय नियाल्दा अभिनयमा स्थापित हुन उनले अझै लामै संघर्ष गर्नुपर्ने देखिन्छ ।
चलचित्रको कथाले वर्तमान समाजमा चलिरहेको युवाजमात बिदेसिने चलनलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । यो चलचित्रमा युवाहरूलाई बिदेसिन बाध्य बनाउने कन्सल्टेन्सीको गतिविधि, डिपेन्डेन्ट भिषाको चलखेल आदि विषयलाई ज्वलन्त रूपमा प्रस्तुत गरिएको छ ।
चलचित्रले सामाजिक विषय उठान गरे पनि केही विषयमा भने चुकेको पाइन्छ । अहिले पनि ग्रामीण महिलाहरू खेतमा खनजोत गर्दा, गोठमा गाइवस्तुको काम गर्दा प्राय: नमिलेको मैलो पहिरन लगाउँछन् तर चलचित्रमा दृष्टिले चिटिक्क परेको पहिरनमा हलो जोतेको देखाइएको छ भने आकाश पनि राम्रै लुगामा गोबर सोहोर्छन् । जुन कुरा दर्शकलाई पच्न सक्दैन ।
दसैंको छेकोमा प्रदर्शित यो चलचित्रलाई दर्शकले राम्रो साथ देलान् भन्ने आम चलचित्रकर्मीको अपेक्षा थियो ।