वधशालामा विधिवत् रूपमा काटिएको मासु हाइजेनिक पनि हुन्छ । त्यसैले मन्दिरमा सात्विक बलि दिनुहोस् अनि घर वा निजी स्थानमा राजसी बलि दिनुहोस्, यसबाट स्वस्थकर मासु पनि खान पाइन्छ ।
चाहे आर्मीको ब्यारेकमा होस् चाहे देशका ठूल्ठूला शक्तिपीठहरूमा, विजयादशमीका अवसरमा ठूलो संख्यामा पशुबलि दिइन्छ । बलि प्रथाका अनुयायी प्राय: हिन्दू धर्मका शाक्त सम्प्रदायका मानिस हुन्छन्, जसले देवीको उपासनाको अन्तिम रूप नै बलि हो भन्ने विश्वास राख्छन् तथापि प्रकृति वा पृथ्वीलाई देवता मान्ने समूहका सदस्यहरूले पनि बलिको परम्परालाई अङ्गिकार गर्दै आएको पाइन्छ । दसैंमा हिन्दूहरूले बलि त दिन्छन् तर हिन्दू धर्मका मूल ग्रन्थ भागवत् गीता तथा अन्य थुप्रै पुराणमा बलिलाई निषिद्ध नै गरिएको छ ।
कालिका पुराणमा खसी–बोकाको रगत देवीलाई अर्पण गर्ने बलि र हात्तीको रगत अर्पण गर्नेलाई महाबलि भनिएको छ । त्यस्तै ऋग्वेदका विभिन्न खण्डमा अश्वमेध यसका रूपमा घोडाको बलिको व्याख्या गरिएको पाइन्छ भने ज्योतिस्तोमामा विभिन्न तीन पशुको बलि एकसाथ दिइन्छ । अग्निसोमिया भन्नाले बलि दिने अघिल्लो दिन सोमरस भगवानलाई चढाउने र अर्को दिन बलि दिने भन्ने बुझिन्छ । सवनिया बलिमा दिनभरि नै अग्निमा बलि चढाइन्छ ।
बलि मूलत: तीन किसिमका हुन्छन् । सात्विक : जसमा अक्षता, फूल, केसरी, फलफूल (नरिवल, घिरांैला वा फर्सी) आदि काटेर चढाइन्छ । राजसी : जसमा सत्विक विधिमा पशु रगत पनि मिसाएर चढाइन्छ । तामसी : यसमा सात्विक र राजसी विधिका साथ रक्सीसमेत चढाइन्छ । रामायणमा राम चक्रवर्ती राजा भएपछि अश्वमेध यज्ञ गरेका थिए भने युधिष्ठिरले पनि कुरुक्षेत्रको युद्ध जितेपछि चक्रवर्ती राजा हुन अश्वमेध यज्ञ गरेका थिए । अनुबन्ध्य बलिमा बरुण देवतालाई गोरुको बलि दिइन्थ्यो । यजुर्वेदमा पनि पशुबलिका विधि विधान तथा मन्त्रहरूको व्याख्या गरिएको पाइन्छ, जसमा सेतो बाख्रा वायुलाई, बाछो सरस्वतीलाई, गोरु इन्द्रलाई, नपुङ्सक बनाइएको गोरु बरुणलाई अर्पण गरिएका कथाहरू छन् ।
वास्तवमै पशुबलि एउटा ठूलो अनुष्ठान भएकाले यसका लागि मेहनत र खर्च पनि ठूलै चाहिन्छ र त सम्पूर्ण विधि विधान पुर्याएर बलि दिने परिवार राजकीय वा ठूलै खान्दानको हुनुपथ्र्याे । पशुबलिको परम्पराले विशेषत: पशु हिंसाभन्दा पनि शक्तिको पूजा–आराधनालाई मात्र महत्वमा राखेको पाइन्छ । हिन्दू धर्ममा बलिको प्रक्रियामा खास गरी झट्का वा मार हान्ने विधि प्रयोग हुन्छ, जसमा एकै पटक खुकुरी वा तरवारले घाँटी छिनाउनुपर्छ । मुस्लिम समुदायमा घाँटी रेटेर बलि दिइन्छ जसलाई हलाल वा जबिया भनिन्छ ।
भागवत् गीतामा भगवान श्रीकृष्णले पशु हिंसा नगर्न भनेका छन् तर पनि बलि दिएको खण्डमा आफूले स्वीकारचाहिँ गर्ने किनभने बलि चढाइएको पशुको आत्मामा पनि आफू हुने कुराको सङ्केत गरेका छन् । शाक्त अनुयायीहरूले काली, भवानी वा दुर्गाको पूजामा कुखुराको भाले, हाँस, बोका, राँगोका साथै अन्य पशुपन्छी पनि बलि दिन्छन् । दक्षिण भारतका तामिलहरूमा मुरुगुन देवताका लागि पशुबलि दिने परम्परा छ । नेपालको बारा जिल्लामा हुने गढिमाइको मेला वृहद् संख्यामा हुने पशुबलि विश्वकै उदाहरण हो, जुन केही वर्षयता विश्वव्यापी विरोधका कारण रोकिएको छ ।
माथिका उदाहरण बलिको परम्परा समाजमा परम्परागत रूपमा चल्दै आएको छ भन्ने दृष्टान्त दिन प्रस्तुत गरिएको हो । संस्कार र परम्परा जसरी चलायो त्यसरी नै चल्दै जाने कुरा हुन् । हामी सोच्न सक्ने प्राणी हौं त्यही भएर ठीक–बेठीक उचित अनुचित राम्रोसँग नियालेर परम्परालाई निरन्तरता दिनुपर्छ । राम्रोलाई आत्मसात गर्ने र भावी पुस्तालाई सिकाउँदै जाने तथा नराम्रोलाई परिष्कृत् गर्दै लाने काम हामीले सबैले गर्नुपर्छ । हो, बलिको सन्दर्भ यदाकदा धार्मिक ग्रन्थहरूले जोडे पनि मानिसले भक्ति गर्न बलि दिनपर्छ भनिएको छैन । पवित्र धर्मस्थलमा रगतको दृश्य निश्चय नै राम्रो होइन । मानिसको खाद्य आवश्यकतालाई धर्मसँग छुट्याउनै नमिल्ने गरी जोड्नु हुँदैन ।
मन्दिर सार्वजनिक स्थल हो । त्यसमा सार्वजनिक सरोकारको काम हुनुपर्छ । तपाईं आफ्नो व्यक्तिगत मनोकांक्षा पूरा गर्न आफ्ना निजी बोका वा कुखुरा लगेर त्यस्ता ठाउँमा काट्न पाउनु हुन्न । आफ्नो घरमा तपाईंले व्यक्तिगत रूपमा निर्माण गरेको मन्दिर छ भने ठीकै छ, त्यहाँ बलि दिनुस् तर सार्वजनिक स्थानमा रहेको मन्दिरमा रगतको खोलो बगाएर मासु नखाने, रगत देख्न नसक्ने, हिंसा नरुचाउने मानिसले मन्दिर परिसर जानै नहुने स्थितिको सिर्जना नगरिदिनुहोस् ।
अहिंसाका हिमायती बौद्धमार्गीहरू पनि त्यो मन्दिरमा पुग्छन् । बालबच्चाहरूका साथै विश्वभर छरिएर रहेका शान्तिप्रेमीहरू पनि दर्शन गर्न वा भगवान्प्रति आस्था व्यक्त गर्न मन्दिर पुग्छन् । के अब तिनीहरू सबैले एउटा पशु हत्याको साक्षी बन्नुपर्ने ? सार्वजनिक स्थानमा हत्याको यस्तो तमासा देखाउनु उपयुक्त पनि होइन । स्वस्थकर मासु खाने हो भने पनि वैज्ञानिक पशु वधशालामा लगेर पशु बलि दिन सकिन्छ । मन्दिर एवं खुला सार्वजनिक स्थानमा पशु बलि दिने क्रममा कति किरा तथा नीला झिङ्गाहरू आउँछन्, सबैले देख्दै आएको कुरा हो । अनियन्त्रित रूपमा चढाइएका रगत, फालिएका मासुका विकार एवं आन्ध्रा–भुँडी पखालेर विसर्जन गरिएका विकारले वातावरणलाई कति प्रदूषित तुल्याउँछन्, हेक्का राख्नुभएको छ ? वधशालामा विधिवत् रूपमा काटिएको मासु हाइजेनिक पनि हुन्छ । त्यसैले मन्दिरमा सात्विक बलि दिनुहोस् अनि घर वा निजी स्थानमा राजसी बलि दिनुहोस्, यसबाट धार्मिक एवं सामाजिक सहिष्णुतालाई पनि खलल पार्दैन र चाडबाडमा स्वस्थकर मासु पनि खान पाइन्छ ।