साप्ताहिक संवाददाता
हास्यकलाकार सन्दीप क्षेत्री कहिले कार्यक्रमका लागि त कहिले घुमफिरका क्रममा धेरै ठाउँमा पुगिरहेका हुन्छन् । खानपिनका सौखिन सन्दीपले अहिलेसम्म नेपालका अधिकांश जिल्लामा पाइला टेकिसकेका छन् । उनलाई नेपालगन्जको रावडी तथा विरयानी सबैभन्दा मन परेको परिकार हो । क्षेत्री नेपालगन्ज पुगेका बेला सकभर यी दुई परिकार कहिल्यै मिस गर्दैनन् । त्यसबाहेक उनलाई पोखराको जेठो बूढो चामलको भात मन पर्छ । त्यस्तै, उनलाई वीरगन्जको पुरी–तरकारी, जिलेबी तथा चाट असाध्यै मनपर्छ । ‘जिलेबी, पुरी, तरकारी खाँदा तरकारी थपी–थपी दिन्छन् । मलाई वीरगन्जका यी खानेकुरा विशेष लाग्छन्,’ उनले भने । पेय पदार्थमा सन्दीपलाई धम्पुसको झ्वाइँखुट्टे तथा पोखराको डढेको दूधको चिया विशेष स्वादिलो लाग्छ ।
यात्रा गर्न मन पराउनेहरूका लागि प्राकृतिक सुन्दरता, एड्भेन्चरसँगै खानपिन विशेष पक्ष हुन्छ । अभिनेत्री आँचल शर्मा पनि धेरै ठाउँ पुगिसकेकी छिन् । पोखराको पामेको माछाका परिकार उनलाई निकै मन पर्छ । पोखरा पुगेका बेला उनी पामेको माछाको स्वाद चाखेरै फर्किन्छिन् । त्यस्तै उनलाई काठमाडौंको म:म तथा पिज्जा पनि स्पेसल लाग्छ । आँचलको खानपिनमा प्राय: जता गए पनि नछुट्ने कुरा भनेको दाल, भात तथा तरकारी हो ।
अभिनेता आकाश श्रेष्ठ खानेकुरामा निकै सचेत छन्, तर पनि उनलाई पोखराको थकाली खाना सार्है मन पर्छ । श्रेष्ठलाई पोखराको थकाली खाना अन्य ठाउँको थकाली खानाको तुलनामा बढी स्वादिलो लाग्छ । कामको सिलसिला तथा घुमफिरका लागि पोखरा पुगेका बेला आफूले थकाली खाना नै खाने आकाश बताउँछन् । त्यस्तै उनलाई भक्तपुरको जुजु धौ पनि निकै मनपर्छ ।
गायक हिमाल सागर पनि खानपिनमा रुचि राख्छन् । कार्यक्रमको सिलसिलामा प्राय: बाहिर हुने हिमालको स्थान विशेष परिकार छन् । धनगढी गएका बेला उनी हाँसको छोइला खान्छन् । हिमाल भन्छन्– धनगढीको विशेष परिकार नै यहीँ भएकाले होला त्यहाँ पुग्ने जो कोहीले भरसक हाँसको छोइला छुटाउँदैनन् । त्यस्तै अन्डा करी पनि त्यहाँको स्पेसल भेराइटी हो ।
हिमाल कैलालीको टीकापुर पुग्दा घोगीको मासु खान रुचाउँछन् । घोगीको मासुमा प्रोटिन तथा भिटामिन बढी हुने भएका कारण आफूलाई यसको मासु मनपर्ने उनी बताउँछन् । हिमाललाई धरानको कालो बंगुर तथा खसीको सेकुवा निकै मनपर्छ । अझ कालो बंगुरको कान र पुच्छर फ्राई निकै स्वादिलो हुने हिमाल बताउँछन् ।
हिमाललाई झापाको भक्का मन पर्छ । भन्छन्– भक्का जाडो मौसमको स्पेसल परिकार हो । भक्का चिल्लो रहित र हाइजेनिक हुनुका साथै असाध्यै स्वादिष्ट हुन्छ । पेय पदार्थमा उनलाई झापाकै उखुको जुस मीठो लाग्छ भने इलामको छुर्पी तथा ललिपप विशेष लाग्छ । डढेको कुराउनीबाट बनाइने इलामको ललिपप आफूलाई निकै मनपर्ने उनी बताउँछन् । त्यस्तै पाचँथर र धनगढीको माछा, नेपालगन्जको बट्टाईको पोलेको मासु पनि हिमाललाई विशेष लाग्छन् । हिमाल भन्छन्– बट्टाई चरा निकै सानो भए पनि महँगो पर्ने तर यसको मासुमा बढी प्रोटिन हुने तथा त्यसले जाडो मौसममा शरीर तताउने भएकाले नेपालगन्जमा म लगायत धेरैको च्वाइस बट्टाईको मासु हुन्छ ।
राइडर जिस्वाँ तुलाधर ट्ेरकिङका लागि कहिले कता त कहिले कता पुगिरहेकी हुन्छिन् । उनलाई पुनहिलको मकै र फापरको गुरुङ रोटी मनपर्छ । त्यस्तै घोरेपानीको प्यान केक, दाल, भात, तरकारी, फ्राई राइस तथा त्यहाँ घरमै पीठोबाट तयार पारिएको लोकल चाउचाउ स्पेसल लाग्ने तुलाधर बताउँछिन् । जिस्वाँ भन्छिन्– एबीसी बेस क्याम्पमा पाइने लसुनको सुप, मार्दीको लो क्याम्पको मकै, हाई क्याम्पको कोरियन चाउचाउ विशेष परिकार हुन् । सिन्धुपाल्चोकको मेलम्चीको आलुको तरकारी तथा पोलेको आलु पनि मीठो हुन्छ । जोमसोम पुगेका बेला भने उनी चौंरीको दूधको चिया पिउँदा आनन्द आउने कुरा बताउँछिन् । यो चिया घिउ र नुन हालेर तयार पारिने हुँदा अरु चियाभन्दा विशेष हुन्छ ।
लोकदोहोरी गायिका राधिका हमाल पाल्पाको चुकौनी भने पछि हुरुक्कै हुन्छिन् । यो उनलाई सबैभन्दा मनपर्ने परिकार हो । त्यस्तै सुदूरपश्चिमको डोटी जिल्लामा पाइने बाँडा पनि उनलाई निकै मनपर्छ । मासको पीठोबाट ध्युमा पकाइने यो परिकार ज्यादै मीठो हुने हमालले बताइन् । जुम्लाको मार्सी धानको चामलबाट बनेको खाना उनलाई विशेष लाग्छ । त्यहाँको स्याउको सुकुटी, कालो सिमीको दाल तथा टिम्बुरको अचार पनि विशेष हुन्छन् । रोल्पाको सिस्नो, ढिँडो तथा लोकल गोलभेँडाको अचार उनलाई स्पेसल लाग्छ ।
लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई स्याङ्जा पुग्दा बंगुरको मासुबाट बनेका परिकार खान मन लाग्छ भने पोखराको थकाली खाना तथा अर्घाखाँचीको कालिजको मासु अनि खसीको भुटन मीठो लाग्ने उनी बताउँछन् । त्यसैगरी कुलेन्द्रलाई पाल्पाको चुकौनी तथा बुटवलको खसीको सेकुवा पनि सार्है स्वादिष्ट लाग्छ ।
संगीतकार अर्जुन पोखरेल खानेकुराका पारखी नै हुन् । कहीँ–कतै घुम्न निस्कँदा उनी स्थानीय स्वाद के पाइन्छ भनेर सोधखोज गर्छन् । पोखरेल चितवन जाँदा प्राय: मलेखुको माछाको स्वाद लिन छुटाउँदैनन् । ‘मलेखु माछाका लागि आफैंमा ब्रान्ड बनिसकेको स्थान हो । त्यसकारण यहाँको जस्तो स्वाद अन्य स्थानमा पाइँदैन । चितवन पुगेपछि नछुट्ने भनेको त्यहाँको तास नै हो’, अर्जुन सम्झन्छन्, ‘चितवनको नारायणी नदी किनारको एक रिसोर्टमा हप्ताको एकपटक बँदेलको परिकार उपलब्ध हुन्छ । चितवनमा हाम्रो एउटा समूह छ । म चितवन पुगेपछि त्यो समूहसँग बँदेलको परिकारको स्वाद लिन म उक्त रिसोर्ट पुगेकै हुन्छु । त्यहाँ नारायणी नदीको रमणीय दृश्य हेर्दै खानेकुरा खाँदाको आनन्द अन्त कतै पाइँदैन ।’
सुटिङ होस् वा कार्यक्रम, निर्देशक तथा कलाकार दीपक आचार्यको व्यस्तता उस्तै हुन्छ । जति व्यस्त भए पनि उनी आफू पुगेको स्थानको विशेष परिकार खान छुटाउँदैनन् । ‘मलाई झापाको भक्का, इलामको ललिपप, सप्तरी, मौलीको खसीको परिकार अनि सिन्धुलीको जुनार विशेष मन पर्छन् । झापाको भक्काको स्वाद अन्त कहीँ पाइँदैन । अझ लोकल टमाटरको चटनीको त कुरै नगरौं’, दीपक सम्झन्छन्, ‘मलाई तोरीको गुन्द्रुक र मोही पनि असाध्यै मनपर्छ । मैले घरमै तोरीको गुन्द्रुक राखेको छु । बाहिर जाँदा कहिँ कतै तोरीको गुन्द्रुकको परिकार पाइन्छ भन्ने थाहा पाएँ भने कहिल्यै छुटाउदिनँ ।’
सांगीतिक कार्यक्रमका लागि काठमाडौं बाहिर जाँदा गायिका मिना निरौला मासुको परिकार छुटाउँदिनन् । केही समय अघि गायक राजेशपायल राईसहितको समूहसँग बुटवल पुग्दा उनले त्यहाँ पहिलोपटक कालिजको स्वाद चाखिन् । ‘पोखराको थकाली खानाको स्वाद कहिल्यै बिर्सन्नँ । पोखरामा महिलाहरूले खोलेको मन्त्र रेस्टुराँमा पहिलोपटक थकाली खाना खाएपछि त्यसयतया पोखरा जाँदा त्यो रेस्टुराँको खाना छुटेको छैन । मीना भन्छिन्, ‘मलाई चितवनको तास पनि निकै मनपर्छ । काठमाडौं, अनामनगरस्थित भेटघाट रेस्टुरेन्टको तास पनि स्वादिलो हुन्छ ।’