ओन्ली डिफेन्स

  • शैलपुत्री

- नेमिष गौतम

आश्विन १९, २०७६

मैतीदेवीकी सन्जु महर्जनको दिनचर्या केही वर्षयता फेरिएको छ । कराँतेकी ब्ल्याक बेल्ट डान सन्जुको ध्यान आममानिसमा आत्मरक्षा अर्थात् सेल्फ डिफेन्सप्रति सकारात्मक धारणा कसरी जगाउन सकिन्छ भन्नेमा छ । त्यसैले उनी आफ्नो समूहमार्फत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई सेल्फ डिफेन्स सिकाउनमै व्यस्त छिन् । नेपाल सेल्फ डिफेन्स संघको ब्रान्ड चिफ तथा मुख्य प्रशिक्षक सन्जु सिनामंगलमा संघको शाखा मार्फत दैनिकजसो ‘सेल्फ डिफेन्स’ प्रशिक्षण दिइरहेकी हुन्छिन् । 

१२ वर्षको उमेरमा कराँते यात्रा प्रारम्भ गरेकी सन्जुले २०५७ सालमा राष्ट्रिय संघमार्फत कराँतेको प्रशिक्षण लाइसेन्स लिइन् । यो अवधिमा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी झन्डै ३४ वटा प्रतियोगिताको अनुभव बटुलिन् भने ती प्रतियोगितामा उनी कहिल्यै पदकविहिन भइनन् । प्रशिक्षकको लाइसेन्स पाएपछि उनले सिनामंगलमा नेपाल सेल्फ डिफेन्स संघको शाखा खोलेर आत्मरक्षासम्बन्धी प्रशिक्षण दिन थालिन् । 

उनको प्रशिक्षण केन्द्रमा सुकुम्बासी बस्तीका बालबालिकाहरूले समेत प्रशिक्षण लिइरहेका थिए । तीमध्ये एक बालिकाको जीवनमा घटेको एउटा घटनाले उनलाई आत्मरक्षासम्बन्धी प्रशिक्षणलाई देशव्यापी बनाउन प्रेरणा दियो । ‘त्यो समूहमा रहेकी एक बालिकालाई हामीसँग प्रशिक्षण लिएको दुई दिनपछि घरमा एक जना आफन्तले यौनहिंसाको प्रयास गरेछ । त्यो समयमा बालिकाले हामीले दुई दिनमा सिकाएको आत्मरक्षासम्बन्धी सूत्र अपनाएर आफूलाई सुरक्षित गरिन्’, सन्जुले उत्साहित हुँदै भनिन्, ‘उनको परिवारले तपाईंहरूले सिकाएको कलाकै कारण छोरी जोगिइन् भनेपछि मेरो मनमा आत्मरक्षासम्बन्धी शिक्षालाई किन देशव्यापी नबनाउने भन्ने कुरा क्लिक भयो ।’ 

आम मानिसले आफूमाथि कहींकतैबाट भौतिक आक्रमण हुन लागेको अवस्थामा आफू सुरक्षित हुन गरेको प्रतिकारलाई ‘सेल्फ डिफेन्स’ सम्झन्छन्, तर सन्जुको अनुभवमा आत्मरक्षा अलिक फरक विषय हो । ‘भौतिक आक्रमणको प्रतिकार मात्र आत्मरक्षा होइन । हेर्ने नजर, बोल्ने शैली, भैपरी आउने अवस्थामा हात र खुट्टाको चलायमान शैलीको प्रतिकार पनि आत्मरक्षा हो’, सन्जु अथ्र्याउँछिन्, ‘जस्तो कार्यालय वा कुनै ठाउँमा तपाईंलाई आँखा घुमाएर, अनुहारको हाउभाउले नराम्रो व्यवहार देखाउन खोजिरहेको छ भने त्यो अवस्थामा आफ्नो सुरक्षा कसरी गर्ने भन्ने तरिका नै आत्मरक्षा हो । हामी प्रशिक्षार्थीलाई त्यो विधि सिकाउँछौं । बोलेर भन्दा बेवास्ता गरेर पनि आत्मरक्षा गर्न सकिन्छ भन्ने ज्ञान दिन्छौं ।’ सन्जुका अनुसार यस्तो कक्षा लिनेमा पुरुषको तुलनामा महिला बढी छन् । 

सन्जुका अनुसार आत्मरक्षाको प्रशिक्षण शैली आफ्नै किसिमको हुन्छ । उनको केन्द्रमा आउने प्रशिक्षार्थीलाई पहिलो चरणमा वार्म अप गराइन्छ । ‘वार्म अपमा सहभागीहरूलाई गीत–संगीतको वातावरणमा रमाउन लगाउँछौं । उनीहरू आ–आफ्नै शैलीमा नाच्छन् । उनीहरूले नाचेको दृश्यलाई हामी सूक्ष्म रूपले अध्ययन गर्छौ’, सन्जु खुल्छिन्, ‘प्रशिक्षार्थीको नृत्य, उसको शारीरिक हाउभाउ, हातखुट्टाको चालमान स्थिति एवं दिशा नियाल्छौं । अनि कसलाई कस्तो किसिमको प्रशिक्षण दिन आवश्यक छ भन्ने मूल्यांकन गर्छौ र त्यसैअनुसार प्रशिक्षण दिन्छौं ।’

उनीहरूले न्यूनतम तीन दिनदेखि अधिकतम एक सातासम्मको प्रशिक्षण प्रदान गर्छन् । राम्रैसँग प्रशिक्षण लिन चाहनेहरूका लागि तीन महिनाको पनि प्याकेज पनि छ । ‘प्रशिक्षणका लागि खेलाडी नै हुनुपर्छ भन्ने छैन । हामीकहाँ डाक्टर, नर्स, पाइलट तथा व्यापारीहरू पनि प्रशिक्षण लिन आइरहेका छन् । कन्चनपुरकी निर्मला पन्तमाथि भएको बलात्कारपछिको हत्या प्रकरणपछि आत्मरक्षाको तालिम लिन आउनेहरूको संख्या उल्लेख्य रहेको सन्जु बताउँछिन् । ‘हाम्रो चाहना हिंसा न्यूनीकरण होस् भन्ने नै हो ।’ सन्जु थप्छिन् ।

सन्जुको समूहले सिनामंगलमा संस्था स्थापना गरेयता २० हजारभन्दा बढीले यो तालिम लिइसकेका छन् भने यिनै जनशक्तिमार्फत २६ वटा जिल्लामा शाखा विस्तार गरिसकिएको छ । उनीहरूले मेची–काली अभियान सञ्चालन गरेर सातै प्रदेशका १९ जिल्लामा कार्यक्रम सम्पन्न गरेका छन् । 

प्रकाशित :आश्विन १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्