साप्ताहिक संवाददाता
आफैंले नजन्माएका सन्तानमाथि स्नेह लुटाउने रीता आखिर कसरी आइपुगिन् यो बाटोमा ? करिब १२ वर्षअघिको कुरा हो, उनी चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्दै थिइन् ।
वि.सं.२०७२ को विनाशकारी भूकम्पले धेरैलाई घरबारविहीन र बेसहारा बनायो । सिन्धुपाल्चोक र गोरखामा बढी बालबालिका टुहुरा र बेसहारा भए । तिनै बेसहारा बालबालिकाको सहारा भएकी छिन्— रीता कार्की । एउटी वयस्क युवतीको इच्छा–आकांक्षा फराकिला हुँदै जान्छन्, विवाह, घरजम, सन्तान प्राप्ति आदि, तर उमेरले ३४ वर्ष पुगेकी कार्की भने कर्मआमा भएकी छिन् । संन्यास धारणपछि गुरुमाता साध्वी देवकृपा भएकी कार्की भन्छिन्, ‘विवाह गर्नुपर्छ, घरजम गर्नुपर्छ, सन्तान जन्माउनुपर्छ भन्ने सोच कहिल्यै आएन र कुनै पश्चाताप पनि छैन, किनभने मैले जन्माएको भए एक–दुईवटा सन्तान जन्माउँथें होला तर भगवान्को कृपाले अहिले ५० जना सन्तानले मेरो काख भरिएको छ । म यो स्नेहको वर्णन गर्न सक्दिनँ ।’
आफैंले नजन्माएका सन्तानमाथि स्नेह लुटाउने रीता आखिर कसरी आइपुगिन् यो बाटोमा ? करिब १२ वर्षअघिको कुरा हो, उनी चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्दै थिइन् । त्यही बेला एक महिनाको शिक्षक प्रशि क्षण तालिम चल्यो । उनले यो तालिम लिएर बाँकी रहेको समय आफ्नो शरीरको मोटोपन घटाउने उद्देश्यले पतञ्जली योग पीठमा योग गर्न थालिन् । उनले १ सय १० घण्टा योग तालिमसमेत लिइन् । शिक्षक प्रशिक्षण तालिम सकिएपछि उनी पशुपति शिविरमा योग सिकाउन थालिन् । योग गरेपछि कतिपय रोगका बिरामीहरू ठीक भयो भन्दै आउन थाले । यसरी आफूले गरेको सेवाले धेरैलाई राम्रो हुँदै गएपछि आफूमा थप सेवा गर्ने हौसला मिल्दै गएको कार्की बताउँछिन् । त्यसपछि उनी योग सिकाउने उद्देश्यले देशका थुप्रै जिल्ला पुगिन् ।
समयक्रमसँगै गुरुहरूको आदेशअनुसार उनी दर्शनशास्त्रको अध्ययनका लागि पतञ्जली योगपीठ कन्या गुरुकुल हरिद्वार पुगिन् । उनी हरिद्वारमा रहँदै २०७२ साल वैशाखमा टुंडिखेलमा योग शिविरको आयोजना गरिएको थियो, तर शिविर सुरु भएको दुई दिनमै महाभूकम्प गयो, जतिबेला स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि बालकृष्ण आचार्य नेपालमै थिए । उनीहरूले सिन्धुपाल्चोक तथा गोरखाको कारुणिक अवस्था अवलोकन गरे । त्यहीं आचार्यले भूकम्पमा आमाबुबा गुमाएर बेसहारा भएका बालबालिकाको पालपोषण गर्छु भन्ने उद्घोष गरे । त्यसपछि गुरुले त्यस्ता बालबालिकाको पालनपोषण एवं हेरचाह गर्ने जिम्मेवारी लिन रीतासँग अनुरोध गरे । गुरुको त्यही आदेश सिरोपर गरी अहिले आमाको भूमिका निर्वाह गरिरहेको कार्की बताउँछिन् ।
भनिन्छ, जन्म दिनेभन्दा कर्म दिने ठूलो हुन्छ । कर्म दिएर मात्र हुँदैन, ती आमामा ममता पनि हुनु आवश्यक छ । गुरुहरूकै प्रेरणाले आफूमा ममताको विजारोपण भएको कार्की बताउँछिन् । विगत ४ वर्षदेखि ५० बालबालिकाको सहारा बनेकी रीतालाई सुरु–सुरुमा भने निकै गाह्रो भयो । ती बालबालिका विभिन्न समुदायका भएकाले पनि निकै गाह्रो भएको रीता सम्झन्छिन् । ‘सुरुसुरुमा कतिपय बालबालिका आफ्ना आमाबाबु सम्झेर कुनामा बसेर रुन्थे । कार्की भन्छिन्, ‘विभिन्न समुदायबाट आएका बालबालिका छन्, तीमध्ये गोरखाबाट आएका कतिपय बालबालिका त सुरुमा नेपाली नै बुझ्दैनथे, त्यसैले धेरै गाह्रो भयो तर अहिले ती बालबालिका नेपाली बोल्न सक्ने भएका छन्, उनीहरू वेदका मन्त्र, गीता वाचनका साथै यज्ञ गर्न सक्ने भैसकेका छन् ।’ आफ्ना सन्तान हुर्कंदै जाँदा कुनचाहिँ आमा खुसी नहोलिन् ? यतिबेला रीता पनि निकै खुसी देखिन्छिन् । यिनीहरूको प्रगति नै कर्म दिने आमाको सबैभन्दा खुसीको क्षण हँुदो रहेछ । रीता भन्छिन्, ‘तर कहिलेकाहीँ बच्चाहरू बिरामी हुँदा निकै चिन्ता लाग्छ, बच्चाहरू बाहिर जाँदा केही हुने पो हो कि, अहिले डेंगुको महामारी छ बच्चाहरूमा डेंगु पो लाग्ने हो कि, अब ठूला भए झगडा पो गर्ने हुन् कि भन्ने पीर भैरहन्छ ।’ रीताको ममताले जितेर यतिबेला उनका कर्म सन्तानले विगतमा उनीहरूको जीवनमा परेको दुर्घटना क्रमश: बिर्संदै गएका छन् ।